च्याम्पियन्स लिग फुटबल

जोसेको टिम टोटनह्याम पराजित, बार्यन म्युनिखले पार्‍यो निराश

जोसे मोरिन्होले टोटनह्यामको प्रशिक्षकका रुपमा पाँचौँ खेलमा दोस्रो हार बेहोरेका छन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा समूह बीमा रहेको इंग्लिस क्लब टोटनह्याम जर्मन क्लब बार्यन म्युनिखसँग ३–१ ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले पहिलो हाफमा एक गोल खाएर दुई गोल गरेको हो । दोस्रो हाफमा उसले थप एक गोल गरेको हो । १४ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गोल गर्दै बार्यन म्युनिखलाई सुरुवाति अग्रता दिलाए ।

जोसे मोरिन्होले टोटनह्यामबाट पहिलो पटक खेलाएका रायन सेसिग्नोनले २० औँ मिनेटमा बराबरी गोल फर्काए । तर ४५ औँ मिनेटमा थोमस मुलरले बार्यनका लागि गोल गर्दै पुनः अग्रता दिलाए । ६४ औँ मिनेटमा फिलिप कोन्टिन्होले गोल गरेपछि बार्यन म्युनिख ३–१ ले विजयी भयो ।

दुवै टिमले यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरेकाले हारले पनि टोटनह्यामको यात्रा रोकिएन । तर समूह विजेता बार्यन म्युनिखसँग अंक दूरी घटाउने मौका भने गुमायो ।

बार्यनको १८ तथा टोटनह्यामको १० अंक भयो । बार्यनले यो सिजनको पहिलो भेटमा टोटनह्यामलाई ७–२ ले पराजित गरेको थियो ।

समूह बी अन्तर्गत बुधबार राति नै भएको अर्को खेलमा ओलम्पिकासले रेड स्टार बेलग्राडेलाई १–० ले पराजित गरेको छ ।

मंसिर २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्