जम्यो नेइमार–एमबाप्पे जोडी, एकअर्काको गोलका लागि मिलाए पास

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जितसहित च्याम्पियन्स लिग फुटबलको समूह चरण टुंग्याएको छ ।
समूह चरणको आफ्नो अन्तिम खेलमा समूह ए मा रहेको पिएसजीले बुधबार राति गालाटासारेमाथि ५–० को शानदार जित दर्ता गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको पिएसजीले दोस्रो हाफमा थप तीन गोल गरेको हो । ३२ औँ मिनेटमा माउरो आइकार्डीले गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाए । ३५ औँ मिनेटमा पाब्लो साराबिएले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
नेइमारले यो सिजन च्याम्पियन्स लिगमा पहिलो गोल गरेका छन् । उनले दोस्रो हाफको पहिलो मिनेटमै गोल गरेका हुन् । नेइमारले केलियन एमबाप्पेको पासमा गोल गरेका हुन् ।
त्यसपछि ६३ औँ मिनेटमा नेइमारको पासमा एमबाप्पेले गोल गरे । ८४ औँ मिनेटमा पाएको पेनाल्टीमा एडिन्सन काभानीले गोल गरेपछि पिएसजी ५–० ले विजयी भयो ।
समूह विजेताका रुपमा यसअघि नै अन्तिम १६ मा स्थान बनाउने पक्का भएको पिएसजीको १६ अंक भयो । यो समूहबाट उपविजेताका रुपमा ११ अंकसहित रियल मड्रिड अन्तिम १६ मा गएको छ ।