नागरिकता विधेयक भारतका दुवै सदनबाट पास, गुवाहाटीमा अनिश्चिकालीन कर्फ्यु

झापा – भारतीय संसदका दुईवटै सदनले नागरिकता संशोधन विधेयक पास गरेका छन्। बुधबार राति माथिल्लो सदन राज्यसभाले पनि उक्त विधेयकलाई विधेयकलाई स्वीकृति दिएको छ।

कांग्रेस लगायत विपक्षी दलहरुको विरोधका बाबजुद उक्त विधेयक दुईवटै सदनबाट पास भएको हो।

उक्त विधेयक कानुनको रुपमा आएपछि छिमेकी मुलुकहरु पाकिस्तान, अफ्गानिस्तान तथा बंगलादेशका गैर मुस्लिम आप्रवासीहरुलाई भारतको नागरिकता पाउने बाटो खुल्नेछ।

मंगलबार भारतको तल्लो सदन लोकसभाबाट पारित भएको उक्त विधेयक बुधबार राज्यसभामा पेश भएको थियो।

माथिल्लो सदन राज्य सभामा विधेयक पेश गर्दै भारतीय गृहमन्त्री अमित शाहले छिमेकी मुलुकहरु बंगलादेश, पाकिस्तान तथा अफगानिस्तानका अल्पसंख्यक तथा असुरक्षित हिन्दु, क्रिस्चियन, शीख, बौद्ध, जैन तथा फारसी धर्म मान्नेहरुलाई भारतमा बसोबासको आधारमा नागरिकता प्रदान गर्ने सकिने बताए।

उनले उक्त विधेयकले अल्पसंख्यकहरुलाई कुनै हानी नपुग्ने पनि बताए।

बुधबार दिनभरको छलफलपछि उक्त विधेयक राज्यसभाबाट पनि बहुमतका आधारमा पारित भएको हो।

नागरिकता संशोधन विधेयकको विरोधमा उत्रेका पूर्वोत्तर भारतका कैयौं सर्वसाधारणमाथि बुधबार सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए।

आसामको गुवाहाटीमा अनिश्चितकालिन कर्फ्यु लगाइएको छ भने धेरै स्थानमा इन्टरनेट सेवा बन्द गरिएको छ।

भारतका आसाम, त्रिपुरा लगायत राज्यहरुमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ भने दंगा भड्किएको खण्ड परिचालन गर्नका लागि सेनालाई तयारी अवस्थामा राखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

बुधबार आसामको गुवाहाटीमा विधेयकको विरोधमा उत्रँदै स्थानीयबासीले सडक जाम गरेका थिए।

विरोधमा उत्रेकाहरुले उक्त विधेयक भारतको संविधानको मर्म विपरित भएको बताउँदै आएका छन्।

त्रिपुरामा पनि सेना परिचालन गरिएको सञ्चार माध्यमहरुले जनाएका छन्।

मंसिर २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्