कालापानीका सन्दर्भमा सत्य स्वीकार्न मन्त्री बास्कोटाको भारत सरकारलाई चेतावनी

काठमाडौँ-  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले कालापानीका सन्दर्भमा सत्य स्वीकार्दै अघि बढे भारत सरकारलाई नै फाइदा हुने चेतावनी दिएका छन्।

उनले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा भने, ‘सत्यहरुलाई स्वीकार गर्दै अगाडि बढेमा भारतलाई नै फाइदा हुन्छ।’ उनले यस विषयमा भारतले अवश्य सोच्छ भन्ने हामीले विश्वास गरेका छौँ भने।

मन्त्री बास्कोटाले कालापानी सम्बन्धमा भारतमा नेपाल सरकारले दूत पठाउनेबारे विषय आफूले मिडियाबाटै थाहा पाएको बताए। ‘मिडियामा चर्चा भयो र त्यहीँ सेलायो,’ उनले भने, ‘सरकारले दूत पठाउन सक्छ तर हामीले जानकारी पनि गराउन खोजेको हो। यो विषय आजको विषय होइन। पुरानो विषय भएकोले लामो प्रक्रियामा समाधान गर्न तथ्य सत्यका आधारमा कन्भिन्स गर्ने हो।’

उनले कालापानीका विषयमा विभिन्न विधि अपनाउनुपर्ने उल्लेख गर्दै नेपालले पहिलोपटक ‘डिप्लोम्याटिक नोट’ पठाएको उल्लेख गरे। उनले भने, ‘प्रश्न लिम्पियाधुराको हो। कालापानी र लिपुलेकको होइन। यो जुन नक्सा सार्वजनिक भएको छ, त्यो आज भएको होइन। तर इतिहासमा पहिलोपटक सरकारले डिप्लोम्याटिक नोट पठाएको हो। यसलाई पहिलो स्टेप मान्नुपर्छ।’

सरकार झलनाथ खनाल वा माधव नेपाल भनेर नकुद्ने उल्लेख गर्दै उनले भोलिका दिनमा त्यो हुनसक्ने बताए।

मन्त्री बास्कोटाले राष्ट्रिय सभाको निर्वाचन २०७६ माघ ९ गते बिहिवार गर्ने जानकारी दिएका छन्।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले यो जानकारी दिएका हुन्।

 

 

 

मंसिर २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्