‘सागमा मेडल जित्ने सबैलाई सरकारले सम्बोधन गर्छ’

काठमाडौँ- सरकारले १३ औँ सागमा पदक जित्ने सबै नेपाली खेलाडीलाई पुरस्कारबाट सम्बोधन गर्ने सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन्।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने- यदी कमजोरी भएको छ भनेपनि छलफल गरेर सबै पदक विजेता खेलाडीलाई सरकारले पुरस्कारबाट संबोधन गर्ने छ। यसमा सरकारले नगर्ने भन्ने कुरै आउँदैन।

सागमा पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारी निवास बालुवाटारमा बोलाएर सरप्राइज प्याकेज घोषणा गर्दा टिम स्पर्धामा रजत र कास्य पदक विजेतालाई कुनै पुरस्कार घोषणा गरिएको थिएन। व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा भएको थियो।

यसैगरि टिम स्पर्धामा स्वर्ण जित्नेलाई जनहीँ ५ लाख रुपैयाँ दिने बताइएको थियो। तर टिमको रजत र कास्य विजेतालाई दिने पुरस्कारका विषयमा प्रधानमन्त्री ओलीले केही बोलेका थिएनन्। त्यसयता सरकारले पदक विजेता खेलाडीलाई भेदभाव गरेको भन्दै आलोचना भइरहेको छ।

मंसिर २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्