स्थलतग अनुगमनपछि चाबहिल साँखु सडकमा नयाँ भाखाः नयाँ वर्षअघि पिच

साँखु – चाबहिल-साँखु सडकको निर्माण चैत मसान्तसमम्म सक्ने नयाँ भाखा तोकिएको छ। बिहीबार चाबहिल – साँखु सडकको स्थलगत अनुगमनपछि साँखुमा आयोजित कार्यक्रममा सबै पक्षले आउँदो नयाँ वर्षसम्म पिच गरिसक्ने बताएका हुन्।

दुई वर्षभित्र काम सक्ने गरी २०७२ साल असोजमा पाँच खण्डमा ठेक्का सम्झौता भएको सडकको निर्माण आउँदो वैशाखसम्म सक्ने प्रतिबद्धता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उपत्यका विकास प्राधिकरण, निर्माण व्यवसायी, त्यस क्षेत्रका निर्वाचित जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले जनाएका हुन्।

पूर्वप्रधानमन्त्री एवं काठमाडौँ २ का सांसद माधवकुमार नेपालले वैशाखसम्म जसरी पनि साँखुसम्म पिच गरिसक्न निर्देशन दिए।

उनले चाबहिल साँखु सडकका कारण जनप्रतिनिधिसहित सरकारसमेत बद्नाम हुन पुगेको बताउँदै अब पनि बाहानाबाजी गरेर निर्माण ढिलाई हुने कुरा स्वीकार्य नहुने चेतावनी दिए।

‘सडक समस्या समाधान हुँदै गएका छन्। विगतमा भन्दा राम्रो काम भएको देखियो। जसरी पनि काम छिटो गर्नुहोस्, नेता नेपालले भने, ‘ठेकेदार साथीहरुलाई काम गरेनन् भनेर देशव्यापी रुपमा नाङ्गेझार पार्नु नपरोस्। हामीले प्रशंसा गर्ने अवस्था सिर्जना गर्नुहोला।’

नेपालले स्थानीय जनप्रतिनिधिको काम पनि सडक निर्माणका सहयोगी बन्न नसकको भन्दै आक्रोश पोखे। सडकमा पर्ने कागे्रश्वरी मनोहरा र शंखरापुर नगरपालिकाका मेयरले निर्माण कार्यलाई सहजिकरण गर्न नसकेको र यसअघि विवाद समाधानका लागि बनाएको समितिको बैठक नराखेको भन्दै कार्यशैली सुधार गर्न निर्देशन दिए।

सत्तारुढ नेकपाले नै दुई नगरपालिकामा मेयरसहित बहुसंख्य वडा जितेको छ। उनले भने, ‘आआफ्नो क्षेत्रभित्र पर्ने सडकका समस्या समाधान गर्न दुवै नगरपालिकाको मेयरको संयोजकत्वमा समिति गठन गरिएको गरौं, तर त्यसले कुनै काम गरेन। यस्तो अराजकता चल्दैन। आफ्नौ क्षेत्रको समस्या समाधान गर्न ध्यान दिनुहोस्। जनताका गुनासा सुन्नुहोस्।’

नेपाल भौतिक मन्त्री तथा मातहतका निकायसहित उक्त सडकको स्थलगत अनुगमनका लागि पुगेको यो नौंपटक हो।

सडकको अनुगमनपछि भौतिक पूर्वाधार तथा यायातामन्त्री वसन्त नेम्वाङले सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले बाँकी काम छिटो सक्न सरकारले आवश्यक सहजिकरण गर्ने प्रतिबद्धता जनाए।

‘यो सडकको बारेमा म आउनुभन्दा पहिला पनि विवाद र चर्चा सुनेको थिएँ। काम अन्तिम चरणमा पुगेको रहेछ। सडकलाई पूर्णता दिन मन्त्रालय र मातहतका निकायले कुनै सकर बाँकी राख्दैन, नेम्वाङले भने।

चाबहिल साँखु १३ किलोमिटर सडकमा लगभग ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको छ। केही स्थनमा पिचसमेत भइसकेको छ।

उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले स्थानीयको अवरोधका कारण विगतमा काम ढिलाइ भए पनि अधिकांश समस्या समाधान भएकाले अब निर्माण कार्यले गति लिने उल्लेख गरे। घरको क्षतिपूर्ति र जग्गाको मुआब्बा दिन सर्वोच्चले दिएको आदेशका कारण सोचअनुसार काम गर्न नसकिएको गुनासो गरे।

त्यस्तै निर्माण व्यवसायीका तर्फबाट सुनकोशी कन्टक्सनका नारायण भट्टराईले सडकको काम अन्तिम चरणमा पुगे पनि अझै केही ठाउँमा अवरोध कायमै रहेको जानकारी गराए। उनले ती अवरोध हटाउन सके आउँदो वैशाखसम्म पिच सकिने प्रतिबद्धता जनाए।

चाबहिल साँखु १३ किलोमिटर सडकमा लगभग ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको छ। केही स्थनमा पिचसमेत भइसकेको छ।

उक्त सडक समयमै निर्माण नगरिएको भन्दै स्थानीयले आन्दोलनसमेत गर्दै आएका छन्। संघर्ष समितिका संयोजक मिलन खड्काले जनप्रतिनिधिको बेवास्ताका कारण सडक निर्माणले पूर्णता पाउन नसकेको आरोप लगाए।

सडक अनुगमनमा प्रदेश नं ३ का नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाल, प्रदेशसभा सदस्य मणिराम फुयाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशव शर्मा, प्रधानमन्त्री कार्यालयका विकास व्यवस्था विज्ञ गजेन्द्र थपलिया सहभागी थिए।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, निर्माण व्यवसायीहरू, दुबै नगरका वडा अध्यक्षहरू, विभिन्न पार्टीका स्थानीय नेताहरूसमेत सहभागी थिए।

मंसिर २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्