बालकुमारीको सुनाकोटीमा उधौली खेल्दै किराँत समुदायका युवायुवतीहरु। मंसिर पूर्णिमामा किराँतहरु प्रकृतिलाई पुज्दै यो चाड मनाउने गर्दछन्। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

किराँत समुदायले ‘साकेला उधौली’ पर्व धुमधामका साथ मनाएका छन्। किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले महान चाडका रूपमा बिहीबार संघीय राजधानीमा उभौली पर्व मनाएका छन्।

ऋतु परिवर्तनसँगै प्रकृतिका पूजक किराँत समुदायले वर्षमा दुईपटक धूमधामका साथ मनाउने (वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मंसिर शुक्ल पूर्णिमा अर्थात् शरद् ऋतुमा उधौली पर्वका रूपमा मनाइन्छ) भएकाले मंसीरमा उभौली मनाएका हुन।

पर्वका अवसरमा शनिबार किराती परम्पराअनुसार भूमिको पूजा गरेका छन्। प्रकृतिका पूजक किराँतले मनाउँदै आएको यो चाड कहिलेबाट मनाउन शुरु गरियो भन्ने सम्बन्धमा कुनै तथ्य प्रमाण फेला परेको छैन।

ठाउँ र परम्पराअनुसार विभिन्न मिथक सुनिन्छन्। पृथ्वीमा कृषि युगको शुरुआत भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिँदै आएको छ।

“दुमी भाषामा उभौली पर्वलाई ‘धिरियाम्लो’ र उधौली पर्वलाई ‘छिरीयाम्लो’ भन्ने गरिन्छ, हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र अन्नबाली पाक्ने बेला खुशियाली मनाउँदै उधौली पर्व मनाउने गरिन्छ।

अन्नबाली लगाउने समयमा लगाएको अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, किराफट्यांग्र्रा तथा जंगली जनावरले दुःख नदिऊन्, सबैमा सुख शान्ति, सुस्वास्थ्य होस्, दैवी प्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ।

तराईतिर गर्मी बढेर माछा, पशुपक्षी, चराचुरुङ्गी, कीराफट्यांग्रासमेत उभो चिसो लेकतिर बसाइँ सर्छन् भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने यो पर्वलाई उभौली भन्ने गरिएको हो।

त्यसैगरी किरात उधौली पर्वमा उभौली पर्वको समयमा लगाएको अन्नबाली पाक्ने, अन्नबाली खेतबारीमा लहलह देखिने, अन्नबालीले भकारी भरिएको हुने हुँदा अन्नबालीको सह बसोस्, आउँदो साल खाद्यान्नको अभाव नहोस् भन्दै खुशी, सुख र समृद्धिको कामना गर्दै उधौली पर्व मनाउँछन्।

यस समयमा लेक तथा पहाडतिरको वातावरण चिसो हुने हुँदा गर्मीको समयमा तराईतिरबाट उभो चिसो लेकतिर बसाइँ सरेका माछा, पशुपक्षी, चराचुरुङ्गी र कीराफट्यांग्र्रासमेत उधो गर्मी भएको ठाउँ मधेश, तराईतिर बसाइँ झर्छन् भन्ने विश्वासले पनि मंसिर पूर्णिमामा मनाइने पर्वलाई उधौली भनिन्छ।

राई, लिम्बू, याक्खा र सुनुवार लगायत किरात जातिको यो पर्वको पहिलो दिनमा घरघरमा लिपपोत शुद्ध बनाइन्छ । आफ्ना पिता पुर्खाले मानेको तीन चुल्हो ढुङ्गाको विधिपूर्वक पूजा गर्छन् ।

गाउँ, समाज, टोलमा पहिलेदेखि नै स्थापना गरी राखिएको साकेला थान, भूमेथान र त्यो नभएको ठाउँमा कटुसको हाँगा गाडी थान स्थापना गरेर भूमि र नागनगेनीको पूजाआजा गरिन्छ।

पूजा आराधना गर्ने पुजारी नागिरे धाँमी र यस्ता व्यक्ति नभएमा विधिसम्बन्धी ज्ञान भएकाले पूजा गर्छन्। पूजाका लागि कुखुरा, सुँगुर, जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँडालगायत सामग्री आवश्यक पर्दछ ।

पूजा सम्पन्न भएपछि सो थानकै वरिपरि सामूहिकरूपमा परम्परागत बाजा, ढोल, झ्याम्टा, अर्ना भैँसीको सिङ आदि बजाएर नाच्ने गरिन्छ। पहिलो दिन पूजा स्थलमा नाचिए पनि त्यसपछिका दिनमा अन्य स्थानमा जम्मा भई नाचेर रमाइलो गरी १५ दिनसम्म उभौली मनाइन्छ।

यसरी नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउका माध्यमबाट ढोल, झ्याम्टाको तालमा जीव, जनावर, चराचुरुङ्गीको नक्कल, खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको तथा उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ।

यसका साथै कपासबाट धागो कातेको, कपडा बुनेको, सिङ्गारपटार गरेको जस्ता कार्यलाई पनि अभिनयका माध्यमबाट नाचमा देखाइन्छ । यसलाई ‘सिली टिप्ने’ भनिन्छ।

सिली टिप्ने वा नाच्ने तरिका स्थान, जातिअनुसार फरक हुन्नसक्छ । कुनै सिली ढिलो हुन्छ भने कुनै छिटो टिपिन्छ । यसरी नाच्दा वा सिली टिप्दा त्यही अभिनय वा हाउभाउसँग मिल्ने, पितृ र प्रकृतिसँग मेल खाने गीत गाइन्छ । गीतले पनि मौलिक विशेषता बोकेको हुन्छ ।

उभौली पर्वमा नाच्दा जातीय पहिचान झल्काउने पहिरन लगाइन्छ । पुरुष कालो कोट, खाँडीको कपडा, अल्लोको धागोको दौरासुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौरीको पुच्छर, सिन्कौली सेउली हल्लाउँदै, ढोल, झ्याम्टा बजाउँदै त्यसकै तालमा नाच्ने गर्छन् ।

महिला पनि चौबन्दी चोलो, फरिया, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा हँसिया, परम्परागत गरगहनाले सजिएर सिन्कौली सेउली हल्लाउँदै ढोल, झ्याम्टा बजाउँदै नाच्छन् । महिला, पुरुष, बालक, वृद्धवृद्धा सबै जम्मा भएर गोलाकाररूपमा नाच्ने गरिन्छ।

तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार