उद्योगीलाई धम्काएर पैसा असुल्ने, नदिए उद्योगमा विष्फोट गराउने ४ जना पक्राउ

वीरगञ्ज– उद्योगीलाई धम्की दिएर फिरौती रकम माग्ने र नदिए उद्योगहरुमा विष्फोट गराउने ४ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको परवानीपुर गाँउपालिका वडा नम्बर–४ वस्ने ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देव शंकर राम, जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर–२० बस्ने २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाउँपालिका वडा नम्बर–३ बस्ने ३९ वर्षीय दिपेन्द्र कुमार धानुक रहेका छन्।

पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी बिहीबार सार्वजनिक गरेको छ।

इँट्टा उद्योगीलाई धम्काउँदै बिस्फोट


पक्राउ परेका प्रमोदले परवानीपुर गाँउपालिका वडा नम्बर ४ मा रहेको एमएस इँट्टा उद्योगका संचालक कलैया उपमहानगरपालिका वडा नम्बर २५ बस्ने मनोज प्रसाद साह तेलीलाई २/३ महिना पहिलादेखि पटक–पटक फोन गरी १५ लाख रुपैयाँ फिरौती रकम माग गरेका थिए।

मनोजले फिरौती रकम दिन अस्वीकार गरेपछि गत कार्तिक ४ गते निज प्रमोदले मनोजको उक्त इँट्टा उद्योगमा बम बिष्फोट गराएका थिए। बम विष्फोट गरी फिरौती रकम नदिए घरपरिवार समेतलाई खतरा हुनेछ भनि प्रमोदले गत २५ गते मोवाइलबाट एसएमएस तथा फोन गरी धम्की दिई फेरि ३ लाख रकम माग गरेका थिए।

मनोजलाई रकम लिएर परवानीपुर गाउँपालिका वडा नम्बर ४ स्थित चैनपुर आउनु भनि प्रमोदले बोलाएका थिए। मनोज उक्त कुराको जानकारी तत्कालै इलाका प्रहरी कार्यालय सिमरालाई जानकारी गराउँदै उजुरी दिए।

सोही क्रममा फिरौती बापतको ३ लाख रकम बुझ्न चैनपुर आएका प्रमोदलाई इलाका प्रहरी कार्यालय सिमराको टोलीले पक्राउ गर्‍यो।

पक्राउ परेका प्रमोदलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ दफा २५३ बमोजिम अपराधिक लाभ कसुर मुद्दामा जिल्ला अदालत बाराबाट ५ को म्याद थप गराई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

उद्योगमा बम बिस्फोट गराई फिरौती रकम असुल्ने प्रमोद साह गोढलाई यसअघि पर्सा प्रहरीले नलकटुवा बन्दुकसहित पक्राउ गरेको थियो। प्रमोदलाई २०७३ चैत २८ गते वीरगञ्ज ८ स्थित सडकबाट जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले नलकटुवा बन्दुक र ३ राउण्ड गोलीसहित पक्राउ गरेको थियो।

पक्राउ परेका उनीमाथि हातहतियार खरखजना मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

नारायणी आयल रिफाइनरीमा बम बिस्फोट गराई फिरौती असुल 


पक्राउ परेका प्रमोदसहित अन्य तीन जनाले मिलेर बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ स्थित नारायणी आयल रिफाइनरीमा समेत धम्की दिई फिरौती रकम माग गरेको प्रहरीले जनाएको छ। उनीहरुले गत असोज २ गते उक्त उद्योगबाट माग गरेको फिरौती रकम नदिँदा सुतली बम बिष्फोट गराएका थिए।

बिस्फोट पश्चात उनीहरुले उद्य‌ाेगबाट २५ हजार रुपैयाँ फिरौति वापतको रकमसमेत लिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी गराएको छ।

यस्तै पक्राउ परेका चारैजनाले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई मोवाइलबाट धम्की दिई ५० लाख रुपैयाँ फिरौती माग गरेका थिए।

गत असाेज १० गते राति माग गरेको फिरौती रकम कुम्हालले नदिएपछि राती सुतली बम बिष्फोट गराएको खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मध्ये प्रमोदको साथबाट चालु अवस्थामा रहेको तीन वटा मोवाइल बरामद भएको तथा फिरौती रकम माग गर्न फरक–फरक सिम प्रयोग गर्ने गरेको बुझिएको बाराका प्रहरी उपरिक्षक विकाश राज खनालले जानकारी दिए।

मंसिर २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्