पत्रकार सम्मेलनमा ढिलाे आएको भन्दै पत्रकार काफ्लेमाथि कुटिए

तस्बिर: सन्ताेष काफ्लेकाे फेसबुकबाट।

इनरुवा– नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष तथा ‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुख सन्तोष काफ्लेमाथि कुटपिट भएको छ।

सुनसरीको धरानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरिदिएको भन्दै काफ्लेमाथि कुटपिट भएको हो।

कुटपिटबाट काफ्लेको नाक र ओठमा चोट लागेको महासङ्घका सुनसरी सचिव हिमाल दाहालले बताए। उपाध्यक्ष काफ्लेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

धरानमा रहेको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकबाट ठगीमा परेका पीडितहरुले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका उपाध्यक्ष तथा न्यूज २४ टेलिभिजनका ब्यूरो प्रमुख काफ्लेले ढिलो आएको तथा सिधा कुरा जनतासँगको कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरेको भन्दै कुटपिट गरेका हुन्।

सो संस्थाका सञ्चालक धरानमा रहेका सर्वसाधारणले बचत गरेको आठ करोड ६५ लाख रुपैयाँ लिएर भागेको विरोधमा पीडितहरूले पत्रकार सम्मेलन गरेका थिए। प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नरेश शाही, दीपक राई र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यसैबीच पत्रकार महासङ्घ सुनसरीले आज एक विज्ञप्ति जारी गर्दै कुटपिटको घटनामा दोषीलाई कडा कारवाही गर्न माग गरेको छ।

कार्यक्रममा ढिलो उपस्थिति भएकामा कुटपिट गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको महासङ्घका सुनसरी सचिव दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरिएको छ।

मंसिर २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्