कलिला मस्तिष्कमा नवीकरणीय उर्जाको ज्ञान

महाङ्काल, ललितपुर- एक समय थियो, जतिबेला काठमाडौं खाल्डो बिजुलीको उज्यालोमा रातमा पनि चम्किंरहेको हुन्थ्यो तर, ललितपुर महाङ्कालवासी भने टाढाको त्यो उज्यालो हेरेर चित्त बुझाउँथे।

अहिले समय फेरिएको छ। घरहरु विजुलीले उज्यालिएका छन्।

अनि एक कक्षादेखि नै यहाँका विद्यार्थीले नवीकरणीय उर्जाका बारेमा पढ्छन्।

दक्षिण ललितपुरमा पर्ने उपत्यकाभित्रको एक विकट गाउँपालिका हो, महाङ्काल।

उज्यालोको यात्रा
२०५७ सालसम्म यो ठाउँमा विद्युत थिएन। उपत्यकाको पहाड। छरिएका वस्ती। विजुलीका लाइन लैजानु पनि कम्ती गाह्रो थिएन।

विद्युत प्राधिकरणले यहाँ विद्युत विस्तार गर्नै मानेको थिएन। किनकि त्यहाँ विद्युत लाइन लैजानु भनेको प्राधिकरणलाई सिधै घाटाको व्यापार थियो।

यो पीडाबाट पार पाउनका लागि यहाँका केही अगुवाहरुले सामुदायिक विद्युतीकरणको अवधारणा ल्याए।

यो अभियानमा उनीहरु २०५४ सालदेखि नै जुटिरहेका थिए। तर, भनेजस्तो सजिलो थिएन।

पछि बल्ल दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको जन्म भयो।

विजुलीले उज्यालिइरहने काठमाडौं हेरिरहेका दक्षिण ललितपुरवासीले २०५७ सालपछिमात्रै आफ्नै घरमा विजुली बाल्न पाए।

नेपालको पहिलो बिजुली वत्तीको उज्यालो हेर्दै कल्पिएका महाङ्कालवासीले आफ्नै पहलमा त्यो सपना पूरा गरे।

त्यो पनि फर्पिङ विद्युत आयोजना बनेको झन्डै सय वर्षपछि।

बिजुली बाल्नका लागि संघर्ष गरिरहेका दक्षिण ललितपुरवासीलाई त्यसपछि केही सजिलो भयो, जब २०६० सालमा बल्ल सामुदायिक विद्युतीकरणको नियमावली बन्यो।

त्यो बेलासम्म देशमा बिजुलीको जिम्मा प्राधिकरणलाई मात्रै थियो। तत्कालिन जलस्रोत मन्त्री दीपक ज्ञवालीको पहलमा आएको यो नीतिसँगै प्राधिकरणको एकलौटी अधिकार समुदायमा पनि पुग्यो।

‘यो नियमावलीसँगै हाम्रो एउटा सपना बल्ल पूरा भयो, सबैले उपत्यको कर्णाली भनेर पछि पारिएको यहाँ बल्ल बिजुली बत्ती बल्यो’ दक्षिणी ललितपुर विद्युत सहकारीका अध्यक्ष गोविन्द प्रसाद बजगाँइ भन्छन् ‘अहिले यहाँमात्रै होइन, देशभर सामुदायिक विद्युतीकरणको लहर चलेको छ।’

नेपालमै पहिलोपटक सामुदायिक विद्युतीकरणलाई सफल बनाएका बजगाँइ यो अभियानका एक अभियन्ता हुन्।

अहिले देशभर देशका ५३ जिल्लामा २ सय ९० सामुदायिक विद्युत सहकारी छन्।

करिब ६ लाख उपभोक्ता सामुदायिक विद्युत सहकारीमा आवद्ध छन्। देशभरको विद्युत विस्तारमा १० प्रतिशत योगदान सामुदायिक विद्युतीकरणको छ।

नवीकरणीय उर्जाको सपना
विजुली बल्यो। तर, त्यसको प्रयोगबारे आममानिस त्यत्ति धेरै जानकार थिएनन्। तारहरु जंगलबीचबाट तानिएका थिए।

गाउँले जीवन घाँस दाउरा गर्नैपर्ने।

‘हामीले देख्यौं रुखमा झुन्डिएका बिजुलीका तार घाँस दाउरा गर्ने मानिसको काल पनि बन्यो’ बजगाँइसँग यस्ता धेरै नमीठा अनुभवहरु पनि छन्।

त्यसैमाथि विस्तारै देशले लोडसेडिङको मार खेपिरहेको थियो। घरमा झुन्डिएका बल्बहरु मुस्किलले बल्थे।

फेरि टुकी र, मैनबत्तीको युग सुरु भइसकेको थियो।

२०७२ सालमा भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्‍यो।

इन्धन अनि विद्युतमा समेत नेपाल भारतमै निर्भर छ। नाकाबन्दीको सोझो असर इन्धनमै थियो।

पेट्रोल, डिजेल, मट्टीतेलदेखि खाना पकाउने ग्याँससम्मै भारतबाट आउँछ।

एक त महांकाल गाउँपालिकाका ८९ दशमलव ६५ प्रतिशत जनसंख्या अहिले पनि खाना पकाउनका लागि जंगलकै दाउरामा आश्रित छ।

एलपी ग्याँस प्रयोग गर्ने बाँकी ६ दशमलव ५९ प्रतिशत जनसंख्या पनि दाउराकै जोहोमा थियो।

‘त्यो सारै कष्टपूर्ण समय थियो, हामीमात्रै होइन सारा नेपालीलाई इन्धनको दुःख थियो। तर, हामीले देख्यौं जनताले दाउरा खोज्दा कति दुःख खेप्नुपर्‍यो,’ बजगाँइ दुःखका ती दृश्य भुल्दैनन्, ‘गाडी पनि चल्दैनथियो, हाम्रा गाउँघरका मानिस एउटा सिलिन्डर लिनका लागि काठमाडौंमा दुई दिन खर्चिनुपर्ने अवस्था थियो।’

त्यहीबेला सहकारीका सदस्यसँग बजगाइँ कुराकानी गर्थे, सायद गाउँघरमा नवीकरणीय(बैकल्पिक) उर्जाको प्रयोग भइदिएको भए, यत्ति दुःख हुने थिएन कि?

‘हो, पनि हाम्रा गाउँघरमा गाइ, भैसीको गोबर खेल गइरहेको हुन्छ अनि हामी ग्याँस बोकिरहेका छौं, त्यसका लागि दुःख पाइरहेका छौँ’ त्यो बेलासम्म यो सहकारीले नवीकरणीय उर्जाको सपना बुनिसकेको थियो।

र, त्यसमा साथ दियो ग्रामीण प्रविधि विकास केन्द्रले।

कलिला मस्तिष्कमा नवीकरणीय उर्जा–ज्ञान
देश संघीय व्यवस्थामा गयो। निर्वाचनपछि स्थानीय तहलाई धेरै अधिकार दिइयो। ती धेरैमध्यको एउटा महत्वपूर्ण अधिकार हो, स्थानीय पाठ्यक्रम।

संविधानको यो व्यवस्थाअनुसार स्थानीय तहले आफ्नो आवश्यकताअनुसार प्राथमिकता तहमा पढाउनका लागि पाठ्यक्रम बनाउन सक्छन्।

उसो त विद्यालय सन्चालनको अधिकार पनि अहिले स्थानीय तहलाई नै छ।

सामुदायिक विद्यालयमा पढाई हुने सामाजिक विषय अन्र्तगत २० प्रतिशत पाठ्यक्रम स्थानीय तहले आफ्नो आवश्यकतअनुसार विकास गर्नसक्छन्।

इन्धनको चरम सास्ती भोगिरहेको यो गाउँपालिकालाई आवश्यकता थियो, नवीकरणीय उर्जाको। जुन सपना दक्षिणी ललितपुर ग्रामीण विद्युत सहकारीको पनि थियो।

सहकारीले गाउँपाकालिकासँग छलफल गर्‍यो। गाउँपालिका राजी भयो।

महांकाल माध्यमिक विद्यालयका प्रधानाध्यापक सचितानन्द घिमिरे लगायतको समूहले नवीकरणीय उर्जाको पाठ्यक्रम तयार पार्‍यो।

यही पाठ्यक्रम महांकाल गाउँपालिकाका १७ वटा सामुदायिक विद्यालय सबैमा पढाइ हुन्छ।

सामाजिक विषयको २० प्रतिशत भाग ओगटेको यो पाठ्यक्रमका लागि छुट्टै किताब नै बनाइएको छ। कक्षा १ देखि ५ सम्मका विद्यार्थीले अहिले अन्य विषयसँगै नवीकरणीय उर्जा पनि पढिरहेका छन्।

पाठ्यक्रम तयार पारेका शिक्षक घिमिरेका अनुसार यो किताबमा नवीकरणीय उर्जाका स्रोत, यसको प्रयोग र महत्वका बारेमा विद्यार्थीलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान पनि दिइन्छ।

‘स्थानीय तहमा उपलब्ध हुने नवीकरणीय ऊर्जाका स्रोतहरू पहिचान, प्रयोग र प्रवद्र्धन गर्न सक्नेछन्’ घिमिरे भन्छन् ‘हाम्रै गाउँघरमा कति स्थानीय स्रोत साधन खेर गइरहेका हुन्छन्। हामीले त्यसको सही प्रयोग सिकाउने प्रयास गरेका हौँ।’

यो पुस्तकमा विद्यार्थीले नवीकरणीय उर्जाका स्रोत जस्तै सौर्य, बायु जैविक उर्जादेखि जलविद्युतसम्मका कुराहरु पढिरहेका छन्।

‘आधारभूत स्तरबाटै विद्यार्थीहरुलाई हामीले नवीकरणीय उर्जाको बारेमा ज्ञान दियौं भने उनीहरुले घरपरिवार र आफ्नो समाजमा यसको महत्वबारेमा सम्झाउन सक्छन्’ घिमिरे भन्छन् ‘यो हाम्रो सुरुवातको वर्ष हो, सबैजसो विद्यालयमा विद्यार्थीले यो नयाँ विषयलाई रुची दिएका छन् र, हामी यो अभियानमा सफल पनि हुनेछौं।’

मंसिर २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्