धनुषामा शक्तिशाली बम बिस्फोट, प्रहरीसहित तीनजनाको मृत्यु

जनकपुरधाम – धनुषामा बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको छ । शुक्रबार राति करिब पौने १२ बजेको समयमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगर बजारमा बम बिस्फोट भएको हो ।

बिस्फोटमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहालसहित तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा औषधि व्यवसायी ४८ वर्षे राजेश साह र उनका १६ वर्षे छोरा आनन्द साह समेत रहेको प्रहरीले जनाएको छ ।

साहका अर्को छोरा प्रकाश साह, छोरी अन्जली साह, प्रहरी जवान रिजन महतो घाइते रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

राजेश साह र उनका छोराको मृत्यु उपचारको क्रममा जनकपुरमा भएको हो । प्रहरी निरीक्षकलाई उपचारका लागि धरान लगिएको थियो र उनको त्यहिँ मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताएका छन्।

मंसिर २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू