परिश्रम

तरकारी बेचेर छोरीलाई कृषि पठाउँदै गरेकी देउकुमारी

दाङ – एक कट्ठा जग्गामा लगाएको काउली लगभग तयार भएको छ । चार कट्ठा जग्गामा लगाएको टमाटर बिक्री हुँदैछ । आलु भित्र्याउन ठिक्क छ । खुर्सानी पनि तयार छ । कुल १४ कट्ठा तरकारी खेती छ ।

एकल महिला देउकुमारी चौधरीको कृषि कर्म अन्य किसानको भन्दा फरक छ । उनको आफ्नै जमिन छैन तर तरकारी खेतीबाट सहज जीवनयापन भने सम्भव भएको छ ।

१४ वर्षअघि श्रीमान् थलिए । उपचार गर्दा गर्दै भएको सम्पत्ति पनि सकियो । देउकुमारीले श्रीमानलाई बचाउन सकिनन् । तीन छोरीलाइ हेर्ने दायित्व एक्लै लिनु पर्ने जिम्मेवारी उनको काँधमा आयो । त्यसपछि उनले जीवन चलाउन खेतबारीको काम रोजिन् ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ सगरापुर निवासी देउकुमारीको आफ्नो घर छैन । खेतबारी हुने कुरै भएन । घरबास र खेतबारी नभए पनि देउकुमारीले हिम्मत हारिनन् ।

गाउँको जग्गा र घर भाडामा लिएर उनले तरकारी खेती गर्न थालिन् । उनले तरकारी खेतीबाट आएको आम्दानीले दुई छोरीको बिहे गर्ने खर्च जुटाइन् । अनि कान्छी छोरीलाई कृषि पढाइरहेकी छन् ।

‘आफ्नो नाममा केही छैन । यो घर भाडामा लिएका छौँ ।’ उनले भनिन्, ‘आम्दानी गर्ने अरु उपाय छैन । जानेको यही तरकारी खेती हो । कान्छी छोरी र म खेतबारीमा काम गर्छौँ ।’

देउकुमारीकी छोरी सरिता आइएसिएजी अध्ययनरत छिन् । ‘छोरीले कृषि पढेपछि सजिलो हुन्छ कि’ देउकुमारीले भनिन्, ‘तरकारी बेचेर आएको पैसाले छोरीको फिस तिर्छु ।’

छोरीलाई कृषि प्राविधिक बनाउने लक्ष्य देउकुमारीको छ । ‘मेरो छोरी अरुका छोराछोरी जस्तै ठूलो मान्छे बनेको हेर्ने मन छ’, उनले भनिन्, ‘मेरो सबै परिश्रम छोरीका लागि हो ।’

सरिता विद्यालयपछिको समय आमासँगै खेतकारीमा बिताउँछिन् । ‘कृषि पढ्दै छु र सानैदेखि यही काममा आमासँगै छु’, उनले भनिन्, ‘खेतबारीमा रमाउने बानी भइसकेको छ ।’

मंसिर २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्