हिमपातपछि सुदूरपश्चिमका पहाडी क्षेत्रमा सञ्चार सेवा अवरुद्ध

फाइल तस्बिर

धनगढी – पश्चिमी वायुको प्रभावका कारण शुक्रबारदेखि भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा सञ्चार सेवा अवरुद्ध भएको छ ।

हगुल्टे लेकमा पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लामा सञ्चार सम्पर्क जोड्नका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावरमा हिमपातका कारण प्राविधिक समस्या आएपछि शुक्रबारदेखि नै सञ्चार सम्पर्क अवरुद्ध भएको हो ।

यस्तै पहाडी जिल्लामा शुक्रबार रातिदेखि टेलिफोन सेवा लगायत इन्टरनेट सेवा पनि पूर्णरूपमा अबरुद्ध भएको जनाइएको छ । ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पनि मोबाइल सेवा तथा हटस्पट इन्टरनेट सेवा भने आंशिक रूपमा सञ्चालनमा रहेको नेपाल टेलिकम दीपायल, राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिएका छन् ।

यस्तै हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग शुक्रबार दिउँसो ३ बजेदेखि अवरुद्ध भएको छ। अवरुद्ध राजमार्ग सञ्चालन नहुँदा यात्रुलाई निकै सास्ती भएको छ ।

बन्द भएको राजमार्ग खुलाउन डोटीको बुडरबाट डोजर पठाइए पनि लगातारको हिमपातका कारण खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलिपसिंह देउवाले बताए ।

हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडबाट तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौँ यातायातका साधन तथा यात्रु बाटोमै अलपत्र परेका छन् ।

मंसिर २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्