अकुपाई टुँडिखेल अभियानले गर्‍यो खुलामञ्चमा सरसफाई

फाइल तस्बिर

काठमाडौँ – अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्चको सरसफाई गरिएको छ । अभियानको छैठौँ हप्तामा ‘सफा, स्वच्छ खुला मञ्च कायम गरौँ : खुला मञ्चको फोहोर कसिंगर जरैदेखि उखेलेर फालौँ’ भन्ने नारासहित सरसफाई गरिएको हो ।

टुँडिखेल टुँडिखेलजस्तै हुनु पर्छ भन्ने भावनाले अभियान सञ्चालन भएको काठमाडौं महानगरपालिका–२८ का वडाध्यक्ष भाइराम खड्गीले बताए ।

अकुपाई टुँडिखेल अभियान कसैको विरोध वा समर्थनमा नभएको उनको भनाई छ । वडाध्यक्ष खड्गीले सम्बन्धित वडाध्यक्षहरुलाई आ—आफ्नो क्षेत्रमा सरसफाई गर्न मेयरले निर्देशन दिनुपर्नेमा अभियानका बारेमा गलत टिप्पणी गर्न नमिल्ने बताए ।

अकुपाई टुँडिखेल अभियानका अभियान्ता सुशन वैद्यले खुल्लामञ्च महानगरको एकलौटी सम्पत्ति नभएको बताएका छन् । सार्वजनिक स्थानमा पद र शक्तिमा भएका व्यक्तिले सरसफाई लगायतका काम गर्नुपर्ने बताउँदै उनले तीन करोड नेपालीको हक लाग्ने सम्पत्तिलाई महानगरले भाडा लगाउन नमिल्ने बताए ।

अकुपाई टुँडिखेल अभियान अन्तर्गत यसअघि टुँडिखेलको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा राजनीतिक महत्वमाथि केन्द्रित रहेर कार्यक्रम सञ्चालन भएका थिए ।

टुँडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालन गरिएपछि यसको विरुद्धमा अभियान सञ्चालन गरिएको हो । अभियान विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आगाडि ६ हप्तासम्म अझै जारी रहनेछ ।

मंसिर २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्