वर्षाका कारण इँट्टा उद्योगमा क्षति

नेपालगञ्ज – शुक्रबार दिनभर भएकाे वर्षाका कारण बाँकेका इट्टा उद्योगमा ठूलो नोक्सानी भएको छ।

वर्षाले तीन करोडबढीको काँचो इट्टा नष्ट भएको व्यवसायीले बताएका छन्। शुक्रबार बिहानदेखि रातिसम्म जिल्लामा ५५ मिलिमिटर वर्षा भएको थियो। वर्षाले बाँकेको ५० वटा इट्टा उद्योगमा भट्टामा हालेर पकाउने तयारीमा रहेको ३ करोड बराबरकाे इट्टा नष्ट भएको इटा व्यवसायी संघ बाँकेले जनाएको छ।

ठूलो परिमाणमा इट्टा नोक्सान हुँदा आफूहरु मारेमा परेकाे व्यवसायीहरुकाे भनाई छ। मंसिर महिनामा पानी पर्ला र इट्टा नोक्सान होला भनेर अनुमानै नगरेको व्यवसायीहरुले बताएका छन्। पानीले भिजेर नोक्सान भएको इट्टा पुनः प्रयोग गर्न नमिल्ने भएका कारण पुन: सुरुदेखि नै इट्टा निर्माणको प्रक्रिया सुरु गर्नु पर्ने इट्टा व्यवसायी बाकु खाँले बताए।

वर्षाका कारण १५ दिनदेखि एक महिनासम्म इट्टा उद्योगहरु बन्द गरेर सरसफाई गर्नुपर्ने भएकाले उद्योगमा काम गर्ने मजदुरहरु समेत समस्यामा परेका छन्।

वर्षाले काम बन्द भएपछि मजदुरहरु समस्या परेको राजु धोबीले बताए।

मंसिर २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्