लेस्टर सिटी रोकियो, आत्मघाती गोलले बराबरी

उपाधि होडमा रहेको ठानिएको लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएको छ ।

दोस्रो स्थानको लेस्टर सिटी घरेलु मैदानमा भएको खेलमा नर्विच सिटीसँग १–१ को बराबरीमा रोकिएको हो । २६ औँ मिनेटमा पुकीको गोलबाट नर्विचले सुरुवाति अग्रता लियो ।

३८ औँ मिनेटमा नर्विचका क्रुलले आत्मघाती गोल गरे र लेस्टरले खेलमा बराबरी गर्न सक्यो । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन ।

यसअघिका ८ खेलमा गोल गरेको जेमी भर्डीले यो खेलमा गोल गर्न सकेनन् । बराबरीपछि लेस्टर लिभरपुल भन्दा १० अंकले पछि रहेर दोस्रो स्थानमा कायम छ ।

उसको १७ खेलबाट ३९ अंक भएको छ । लिभरपुलको ४९ अंक छ । लेस्टर सिटी एक खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा सात अंकले अघि रहेको छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा बोर्नमाउथले चेल्सी तथा वेष्ट ह्यामले साउथह्याम्पटनलाई समान १–० तथा शेफिल्ड युनाइटेडले एस्टन भिल्लालाई २–० ले पराजित गरेका छन् ।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्