जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहमति जुट्न कठिन, लचकताका लागि अपिल

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन स्पेनको मड्रिडमा जारी छ । तर सो सम्मेलनमा सहभागीहरुबिच जलवायु परिवर्तन विरुद्ध गरिनु पर्ने प्रयासका सम्बन्धमा सहमति जुट्न सकिरहेको छैन ।

जलवायु सम्मेलनको अगुवाई गरेको चिलेका अधिकारीहरुले सहभागी सबै प्रतिनिधिहरुसँग सहमतिका लागि लचकता देखाउन आपिल गरेको छ ।

सम्झौता तयारी अवस्थामा रहेको तर त्यसको प्रतिफल अति नै महत्वकांक्षी देखिएको मड्रिडमा जारी सम्मेलनमा सहभागी चिलेकी वातावरण मन्त्री क्यारोलिना स्मिटले बताएकी छन् ।

सन् १९९१ मा जलवायु परिवर्तन सम्बन्धी छलफल सुरु भएयताकै यो सबैभन्दा अप्रत्याशित अवस्था रहेको युनियन अफ कन्सर्न साइन्टिस्टका एल्डन मेयरले बताएका छन् ।

जारी सम्मेलनबाट नयाँ कार्बन उत्सर्जन सन् २०२० को अन्त्यसम्म रोक्ने सम्बन्धी सम्झौतामा सहमति जुटाउने रहेको छ ।

युरोपियन युनियन तथा साना आइल्याण्ड राज्यहरु जो जलवायु परिवर्तनको सबैभन्दा बढी जोखिममा छन्, उनीहरुले कार्बन उत्सर्जन कम गर्ने सम्बन्धमा बलियो प्रतिबद्धताका लागि जोड दिएका छन् ।

तर अमेरिका, ब्राजिल र भारतसहितका देशले जलवायु परिवर्तनका सम्बन्धमा अहिले कायम रहेका आफ्ना योजनाहरुमा कुनै परिवर्तनको खाँचो नरहेको बताएका छन् । यी देशहरु विश्वमा सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देशमा पर्छन् ।

सम्मेलनको अध्यक्षता गरिरहेका चिलेका वातावरण मन्त्री क्यारोलिना स्मिटले महत्वकांक्षी लक्ष्य प्राप्त गर्ने खालको सम्झौताका लागि सबै पक्षसँग लचकता अपनाउन आग्रह गरेकी हुन् । लक्ष्य अति कठिन र अप्ठ्यारो भए पनि अत्यावश्यक रहेको उनले बताएकी छन् ।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्