भारत जाँदै गरेका जुम्लाका १९ बालकहरु नेपालगञ्ज रोकिए

नेपालगञ्ज – कामका लागि भन्दै भारत जान थालेका बालकहरुलाई नेपालगञ्जमा रोकिएको छ । ९ देखि १७ वर्षका १९ जना बालकलाई नेपालगञ्ज नाकामा रोकिएको हो ।

जुम्ला सिंजा–३, नराकोटका १९ जना बालकहरु कामका लागि भन्दै गाउँकै दुई जनाको पछि लागेर भारत जादै गरेका थिए । स्थानीय भैरव माविमा पढ्ने उनीहरु परीक्षा सकिएकाले दुई महिनाका लागि काम गर्न भारत जान थालेको बताउँछन् ।

एकैटोलका एकै समुदायका बालकहरु कामका लागि भारत जान थालेको पाइएपछि उनीहरुलाई रोकेर अभिभावकलाई बोलाइएको छ । बालकहरुले घरपरिवारसँग सल्लाह गरेर काम गर्न जान थालेको बताएका छन् । गएराती उनीहरुलाई नाकामा रोकिएको थियो । एक रात सिविनमा राखिएको छ ।

आइतबार महिला तथा बालकालिका सेवा केन्द्रमा लैजाने र त्यही नै अभिभावकलाई बोलाएर जिम्मा लगाउने सिविनका सिद्धराज पनेरुले बताए ।
बालकहरु भारत जादा जोखिमपूर्ण काममा पर्न सक्ने भन्दै नाकामा रोक्ने गरिएको छ ।

नेपालगञ्ज नाकाबाट लामा पढ्न जाने बालकहरु पनि भेटिन्छन् । पहाडी जिल्लाका बालकहरु उमेर समूहका दाजुहरुको देखासिकी गरेर भारतमा काममा जाने र फर्किदा मोबाइल बोकेर आउने गरेको पाइन्छ ।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्