हुम्लाको एक गाउँ जहाँ ६० वर्ष पुगेपछि सार्वजनिक काम गर्न पाइँदैन

सिमकोट – हुम्लाको एक गाउँमा ६० वर्ष उमेर कटेपछि गाउँमा सञ्चालन हुने सबै खाले सार्वजनिक काम गर्न नपाइँने चलन सुरु भएको छ । ६० वर्ष उमेर कटेका नागरिकले सार्वजनिक काम गर्न नसक्ने भन्दै गाउँलेहरुको भेलाले यस्तो निर्णय गरेको हो ।

हिमाल पारीको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी गाउँमा यो चलन सुरु भएको हो । घरमा चार सदस्य भएका लिमी हल्जी गाउँका फुन्जोक तामाङले गाउँमा सञ्चालन भएको बाटो निर्माण गर्ने काममा सहभागिता जनाउन पाएनन् ।

६१ वर्ष लागेका उनले काम गर्न नसक्ने भएपछि जरिवाना तिर्नुपरेको बताए । घरका अन्य सदस्यहरु बाहिर भएपछि जरिवाना तिर्नुपरेको उनले बताए । गाउँको सामूहिक कार्यमा सहजताका र छरितोपनका लागि ६० वर्ष उमेर पुगेकाहरुलाई बन्देज गरिएको वडाअध्यक्ष पाल्जोर तामाङले बताए ।

लिमीका तीन वटै गाउँमा एक सय भन्दा बढी ६० वर्ष उमेर कटेका नागरिक रहेका नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताए ।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्