को हो नयाँ नेपालको बोक्ने अभिभारा?

रोक्ने को हो दूरदर्शी विचारका धारा?
को हो नयाँ नेपालको बोक्ने अभिभारा??

(नेपालको भविष्य)

जनकवि जुरेली गोकुल जोशीले यी हरफहरु सात सालको क्रान्तिअघि नै नेपालको भविष्यबारे चिन्ता लिएर लेखेका थिए। यी पंक्तिहरु अद्यावधिक प्रयोजनयोग्य छन्, र हरहमेशा चिन्तनीय रहन्छ देशको भविष्य।

देश केवल एक निश्चित भूभाग मात्रै होइन। भाषा, भेष, संस्कृति, रहनसहन, चिन्तन, इतिहास, संस्कृति, धरोहर, माटो, जल, वनस्पति र जनता लगायत थुप्रै कुरा मिलेर देश बन्छ। जनता मात्रै बाँच्ने र भाषा मर्ने, संस्कृति मर्ने भयो भने त्यो देश के देश? त्यो त जरो काटिएको रुखजस्तो सुक्दै जान्छ। इतिहासको पानाबाट गल्ती र सही बाटो के थियो छुट्याएर, गहिरिएर विचार गरेर, हेरेर, सच्चाइको बाटोमा हिँड्यो भने देश रहिरहला, नत्र त भौगोलिक सिमाभित्र उपद्रव मच्चाएर मात्रै देश रहँदैन।

युवापुस्ता हरेक देशको भविष्य हो। युवालाई कस्तो शिक्षा र वातावरणमा हुर्काइन्छ देश त्यही अनुसार बढ्छ, फल्छ, फुल्छ। कहिलेकाहिँ सड्छ र कुहिन्छ पनि। चेतनाले ग्राह्य सामर्थ्य प्राप्त गरेपछि विभिन्न वाद र सिद्धान्तको चपेटामा पारिदिन्छ। मानव विकासको विभिन्न चरणमा विभिन्न वाद र सिद्धान्तहरु विकसित भएका छन्, विभिन्न क्षेत्रका विविध विषयको प्रतिनिधित्व गरेर। कहिलेकाहिँ व्यक्ति नै वादका रुपमा उदाइदिन्छ। कहिलेकाहिँ वादले समूहगत एकताबाट सिद्धान्तको प्रतिपादन गरिदिन्छ।

अनेकौँ क्षेत्र र विविधताले युक्त व्यक्ति र शयलाई वादले बाँधेर विभिन्न बाँधहरु भत्काइदिन्छ। पछिल्लो समयमा मार्क्सवाद (कम्युनिज्म) र समाजवाद, प्रजातन्त्रावद र राष्ट्रवाद (समसामयिकतामा कट्टर राष्ट्रवाद) चर्चामा छन्। विश्व राजनीतिमा कट्टर राष्ट्रवाद पुनः जागरण भएजस्तो देखिन्छ। डोनाल्ड ट्रम्प, नरेन्द्र दामोदार दास मोदी, सि चिनफिङ् तथा के.पी ओलीलाई नै हेरे पनि यो कुरा बुझ्न सकिन्छ। राष्ट्रवाद र देशभक्तिको भिन्नता थाहा नपाएर आक्रोश ओकल्नेको व्यथा पनि वर्तमानले भोगिरहेकै छ।

नेपालको भविष्य पुस्ताले कुन वादलाई अँगाल्ला? हाम्रो कर्तव्य हो कि होइन- उनीहरुलाई सही सिद्धान्ततर्फ उन्मुख गराउनु? भारतको छिमेकीसँगको रवैया देखेर उसले लोकतान्त्रिक व्यवस्थाको अनुशरण गर्ला या अमेरिकाको हैकमवादी चरित्र देखेर अँगाल्ला? चीनको प्रगति देखेर माओवाद अँगाल्ला कि स्टालिनको इतिहास हेरेर सोच्ला? या आफ्नै जन्मभूमिमा लागू हुन नसकेको कम्युनिज्म अपनाउला? तथाकथित जनयुद्ध हेरेर माओवादप्रति झुकाव राख्ला त अबको पुस्ताले? या देशभर विदेशीले असरल्ल छोडेर विकासमा बाधा पुर्‍याएका अवशेष हेरेर सोच्ला देशको भविष्यबारे? या आध्यात्मिक पाइलालाई पछ्याएर वैदिक साम्यवादको गर्जना गर्ला?

अबको राजनीतिक पुस्ताको रुपमा हालसालै ३५ पुगेका र तीभन्दा पछि जन्मेका हरेक युवा युवती, केटाकेटी हुन जान्छन्। उनीहरुले देशमा कस्तो व्यवस्था देखे र देशमा कुन व्यवस्था चलिरहँदा विश्वमा कस्तो व्यवस्थाको दबदबा देखे? यो अवधिमा देशमा भएका गतिविधिले उसको मुटुमा देशप्रेम जगायो होला कि, उदासीनता, वैराग्य र पलायनवादिता? विश्वमा लागु भएको सिद्धान्त यो भूमिलाई सुहाउने छ कि छैन?

हामीले सोचेका छौँ कि छैनौँ यो युवामनको अवस्थाबारे? यो युवाले साँच्चो कम्युनिष्ट देख्यो होला? साँच्चिकै भएका विकासका कार्यहरु के के देख्यो? उसको मनमा सकारात्मक असर पार्ने विकास र परिवर्तन के देख्यो? हामीले सोच्नुपर्ने हुन्छ कि यो युवालाई इतिहासको सच्चा ज्ञान र चेत दिएका छौँ कि छैनौँ? हामीले हिनताबोध रटाएका छौँ कि, खुला भएर स्वतन्त्र चुनावले स्वयंलाई राम्रो म बनाउने अवस्था सिर्जना गरेका छौँ?

राज्यको गोली लागेर खुट्टो गुमाएका बाबु र माओवादीले मारिदिएको भाइ अनि विदेशिएको ठूलो दाइ देख्दा युवा मन कति दुख्यो होला भनेर देशको ठेक्का लिएकाहरुले सोचेका छन् कि छैनन्? बिपी र महेन्द्र भजाएर अब देश बाँचिरहला?

इन्टरनेटबाट युद्ध लड्ने समयमा सडकमा बालिएका टायरले देशकै भविष्यमा कालो धुँवा भर्दछ भन्ने कुरा अबको युवाले सिकोस्। उग्र भएर भूपीले भनेझैँ गोरु खाली भएर अब देशको रथ चल्दैन, शान्त भएर सोचेर, बुद्धिमत्तापूर्ण कदम चाल्यो भने देश दौडिन्छ भनेर बुझोस्।

विगतको १०० वर्षकै इतिहास हेरेर भएपनि विदेशीले भरेका कानमा विश्वास गर्नुहुँदैन भन्ने सिकोस्। अघिल्लो पुस्ताले व्यक्तिगत लोभमा आएर विदेशीसँग गरेका सम्झौताले देश ओरालो लागेको देखेर “मैले बेचिनुहुँदैन” देश विरुद्धमा भनेर देशको हितका अगाडि व्यक्तिगत लाभलाई उपेक्षाले हेरोस्।

अरुले नै घोकाइदिएको वादमा अन्ध भएर आफ्नै दाजुभाइ काटिएको विगतलाई सच्याएर पुरा देश एक भएर सोच्नुपर्छ भन्ने बुझोस्।

राज्यको प्रत्यक्ष उपस्थिति देशका सबै भागमा समान नहुँदा उठेका विभाजन र संगठनात्मक राज्यका विविधतालाई हेरेर देशका प्रत्येक क्षेत्रमा राज्यको दह्रिलो उपस्थिति भए मात्रै हरेकले देशलाई माया गर्ने रहेछन् भन्ने बुझोस्।

यो देशको भविष्यले आफूलाई सानो ठानेर हेपिएर घिस्रिन होइन, प्रतिस्पर्धा गरेर शान्तिको मुलुकका रुपमा विश्वमा आफ्नो उपस्थिति देखाओस्। इतिहासबाट आप्तवाक्यलाई झिकेर मनन गरोस् र विश्वलाई सिकाओस् नेपालको आफ्नै नवीन र नूतन वाद। यो देशको भविष्यले यहाँका मौलिकतालाई माया र रक्षा गर्दै वैश्विक परिवर्तनका विभिन्न पक्षलाई विचार गरेर आफूमा समाहित गरेर अघि बढ्न सिकोस्। मसँग गर्विलो इतिहास छ भनेर फ्याङ्लो वर्तमानमा उत्ताउलो नभएर, मैले पनि गाम्भीर्ययुक्त इतिहास भविष्यलाई दिन सक्नुपर्छ भनेर वुद्धिमत्तापूर्ण कार्य गरोस्।

यो देशको माटोमा हुर्किएका हरेक राम्रा कुरालाई माया गरेर राज्यको वृक्षले देशलाई शीतलता दिन सिकोस्। यो वृक्षको संरक्षण र संवद्र्धन यहाँका हरेक युवाले शिक्षाको उज्यालो ज्योति फैलाएर गर्न सिकून्। आपसमा वैरभाव केवल विकासको लागि गर्न सिकोस्, विध्वंसका लागि होइन । यहाँको मौलिक विज्ञानको आधुनिकीकरण गर्न सिकोस् र यो देशको विशिष्ट सार्वभौमसत्ताको रक्षा गर्न सिकोस् । यो म एउटा युवा को सदिक्षा मेरो देशको लागि रहोस् । अबको देशको भविष्य यहाँको युवाले आफ्ना बलिया काँधमा राखेर मायालु स्पर्शले यो देशको मुहार सिंगारोस् ।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्