पौडेल पक्षको अनुपस्थितिबिनै देउवाले गराए दुई निर्णय

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथिभरा पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेल। तस्विर : पौडेलको फेसबुक

काठमाडौँ– वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बहिस्कारका बीच पनि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक राखेका छन्। पौडेल पक्षले १४औँ महाधिवशेनको कार्यतालिका ल्याउनु पर्ने माग गर्दै बैठकमा अनुपस्थित हुने जानकारी हुदाहुँदै पनि देउवा आइतबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक राखेका हुन्।

पार्टी कार्यालय स्रोतका अनुसार बैठक दुईवटा निर्णयसमेत गरेको छ। सभापति देउवाले पौडेल पक्षको अनुपस्थितिलाई बेवास्ता गरे जस्तो हुने र पार्टीले प्रतिपक्षको भूमिका निर्वाह गरे जस्तो पनि देखिने निर्णय गराएका हुन्।

सरकारले राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पेश गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक रोक्न पनि कांग्रेसले माग गरेको छ। परिषद्ले बहुमतका आधारमा निर्णय गर्न सक्ने प्रावधान राखेर सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। उक्त सिफारिस बद्नियतपूर्ण भएकाले रोक्न कांग्रेसले माग गरेको छ।

त्यस्तै केन्द्रीय समिति बैठकले दिनदिनै भइरहेको सडक दुर्घटनाप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार पनि सिन्धुपाल्चोकमा १३ जनाको ज्यान जाने गरी भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दै कांग्रेसरले घाइतेको निशुल्क उपचार गर्न माग गरेको हो।

१४औँ महाधिवेशनको कार्यतालिका नल्याएको भन्दै पौडेल पक्षले गत बिहीबार बसेको केन्द्रीय समिति बैठक पनि बहिस्कार गरेको थियो।

आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल पाथीभरा दर्शनका लागि गएपछि उनी पक्षीय नेताहरु महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहले आफू निकट रहेका नेताहरुलाई बैठकमा नजान निर्देशन दिएका थिए। पौडेल पक्षका केन्द्रीय केन्द्रीय सदस्य नविन्द्रराज जोशीले आफू बैठकमा नगएको जानकारी दिए।

मतभेद हटाउनका लागि सभापति देउवाले उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिएका थिए। उनले शनिबार सिंह र आइतबार कोइरालासँग छलफल गरे पनि सहमति जट्न नसकेपछि पौडेल पक्ष बैठकमा सहभागी नभएको हो।

कोइराला र सिंहले पौडेल फर्किपछि थप छलफल गरेर अघि बढ्ने निर्णय गरेका छन्। केन्द्रीय समिति बैठक सोमबार पनि बोलाइएको छ।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्