रामचन्द्र पौडेल पाथीभरा पुग्दा पर्यटनमन्त्री भट्टराई खुशी

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथिभरा पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेल। तस्विर : पौडेलको फेसबुक

काठमाडौँ– राजधानीमा राजनीतिक दौडधूप छाडेर नेपाली कांग्रेसका वरिष्ठ रामचन्द्र पौडेल ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथिभरा पुगेका छन्।

आइतबार दिउँसो केन्द्रीय समिति बैठक बोलाइएको र पार्टीभित्र सभापति शेरबहादुर देउवासँग असमझदारी बढिरहेका बेला पौडल आइतबार बिहान हेलिकोप्टरबाट सपरिवार पाथिभरा पुगेर दर्शन गरेका हुन्।

मन्दिरको दर्शनपछि आफ्नो फेसबुक फोटो राख्दै पौडेलले लेखेका छन्, ‘सुप्रसिद्द तीर्थ धाम पाथीभरा देविको दर्शन गर्ने अवसर प्राप्त भयो। भगवानले सबैको कल्याण गरून्।’

पौडेल पाथीभरा मन्दिर पुगेकोप्रति संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले खुशी व्यक्त गरेका छन्।

उनको गृहजिल्ला समेत रहेको ताप्लेजुङ पुगेको प्रति फेसबुकमै भट्टराईले उल्लेख गरेका छन्, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा आज ताप्लेजुङ पाथिभरा मन्दिरको भ्रमण गरी पूजा गर्नुभएकोमा खुशी लागेको छ। यसले पाथिभराको पर्यटन प्रबद्र्धनमा थप सहयोग पुग्नेछ।’

पौडेल दर्शनका लागि उपत्यका बाहिर पुगे पनि सभापति शेरबहादुर देउवाले एक पक्षीय रुपमा केन्द्रीय समितिको बैठक राखेका छन्। १४औ महाधिवेशनको कार्यातालिका सार्वजनिक गर्न माग गरिरहेको पौडेल पक्षले बैठक बहिस्कार गरे पनि देउवाले राष्ट्रपति समक्ष जारी गर्न पेश भएको संवैधानिक परिषद्सम्बन्धी विधेयक रोक्न माग गर्ने निर्णय गराएका छन्।

परिषद्ले बहुमतका आधारमा निर्णय गर्न सक्ने प्रावधान राखेर सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

उक्त सिफारिस बद्नियतपूर्ण भएकाले रोक्न कांग्रेसले माग गरेको छ। त्यस्तै केन्द्रीय समिति बैठकले दिनदिनै भइरहेको सडक दुर्घटनाप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षणग गराएको छ।

आइतबार पनि सिन्धुपाल्चोकमा १३ जनाको ज्यान जाने गरी भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दै कांग्रेसरले घाइतेको निशुल्क उपचार गर्न माग गरेको हो।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्