हृदय जलेको त्यो दिन- ३

एसिडपीडितको सरकारप्रति सानो आशा

एसिडपीडितको सरकारप्रति सानो आशा

तस्बिरहरु: बर्षा शाह

‘मलाई मेरी आमा, श्रीमान्, बहिनीहरु र सबै भन्दा धेरै मेरा छोरा–छोरीको मायाले बचायो’, उनले भनिन्, ‘मेरो रुप बिग्रियो भनेर म आफूलाई नोक्सान हुने वा ज्यान फाल्ने काम गर्दिन, म जे छु त्यसैमा रमाउँछु।’

उनले भनेको यो वाक्यबाट सजिलै अनुमान लगाउन सकिन्छ, उनीमा कति हिम्मत छ। विगतको त्यो घटनालाई टाढा छोडेर अगाडि बढ्ने साहस जुटाएकी छिन् उनले। जिन्दगीलाई पुराना दिनमा झैँ चलाउन नसके पनि उनी सबै कुरा सामान्य तरिकाले चलाउने कोसिस गरिरहेकी छिन्।

जब मृत्युलाई जितेर आइन, उनले नयाँ जीवन पाइन्।

एक वर्षअगाडि त्यो समयमा सायदै कमैले सोचेका थिए होलान्, उनी निको भएर परिवारलाई फेरि उसै गरी सम्हाल्ने हिम्मत गर्छिन्, उसो त उनी आफैँले कहिल्यै सोचिनन्। उनको जीवनमा बाँच्नुले कुनै अर्थ राखेको थिएन्। घरीघरी उनी यही सोचमा हुन्थिन्। ‘अब बाँचेर के नै गर्न सकिएला र?’

तर उनको त्यो सोचाइले सार्थकता पटक्कै पाएन। उनको जिन्दगीको यात्रा उसै (पहिलेको जस्तै) गरी अगाडि बढिरहेको छ।

२०७५ साल असोज ८ गते दिउँसोसम्म उनको दैनिकी सामन्य तरिकाले चलिरहेको थियो। छोराछोरीलाई खाना खुवाएर स्कुल पठाउनु अनि स्कूलबाट फर्केका उनीहरुलाई खाजा बनाएर खाना दिनु, बिरामी श्रीमानको स्याहार सुसार गर्नु र उनलाई समयमै औषधि खुवाउनु यसरी नै उनको दैनिकी चलिरहेको थियो।

एसिड आक्रमणमा परेर आफ्नो पुरानो बाहिरि रुप गुमाएकी बसन्ती परियार । सबै तस्बिर : बर्षा शाह/देश सञ्चार

सोही दिन साँझ आमाको पसलमा तरकारी लिन पुगेकी बसन्ती परियारको दैनिकी फेरियो। दैनिकी मात्रै होइन, उनको स्वरुप नै फेरियो।

आमाको तरकारी पसलमा एकछिन बिसाइन्। आमालाई पसलमा सघाइन्। करिव चार बजे तिर तरकारी बोकेर घर फर्किदैँ थिइन्।

घर जाँदै गरेकी बसन्ती फटाफट पाइला चाल्दै थिइन्। पछाडिबाट कसैले उनको चुल्ठो सामातेर उनलाई रोक्यो। र, उनी माथि एसिड खन्याइदियो। उक्त व्यक्तिले बसन्तीमाथि एसिडमात्र खन्याएन, एसिडपछि बसन्तीमाथि पटक–पटक चक्कु पनि प्रहार गर्‍यो।

बसन्तीसँगै उनकी मामाकी छोरी थिइन्। दिदीसँगै बहिनी पनि चिच्याइन्।

एसिडले पोलेर भब्बाइरहेको थियो बसन्तीको अनुहार र शरीर। उनले आँखा खोल्न सकिनन्। देव्रे कोखा छामिन्, चक्कु हानेको कोखाबाट आन्द्रा बहिर निस्केको थियो। सबैसँग गुहार मागिन्। तर उनलाई सहयोग गर्न कोही पनि अगाडि सरेनन्।

आफैँ लड्बडाउँदै उनी उठ्न खोजिन्। उनलाई आफू जसरी पनि अस्पताल पुग्नु पर्छ भन्ने लाग्यो। अटो रिक्सामा राखेर अस्पताल पुर्‍याइयो। उनी डाक्टरलाई आफूलाई बचाउन आग्रह गर्दागर्दै बेहोस् भइन्।

बसन्तीले आँखा खोल्दा उनको छेउमा उनका श्रीमान् यमनारायण थिए। आफ्नो छेउमा श्रीमानलाई देखेर उनले आनन्दको स्वास फेरिन्।

एसिडले उनको शरीर २५ प्रतिशत जलेको चिकित्सकले बताएका थिए। उनी पीडाले अस्पतालको बेडमा छट्पटाउँथिन्। एकछिन औषधि सेवन नगर्दा शरीर पोलेर स्वासै बन्द होला जस्तो हुन्थ्यो।

एसिड आक्रमणपछि उनले जिन्दगी अन्धकार भएको महसुस गरिन्। हलचल गर्न सक्ने अवस्था थिएन उनको। एसिडले जलेको शरीर पट्टीमा मोडिएको थियो। यो अवस्थाले बसन्तीको पीडा झन बढाएको थियो। उनलाई लाग्थ्यो, अब उनको जीवन पीडा र आँशुमा डुबेरै बित्ने भयो।

छोराछारी उनको नजिक पर्न डराए। यो कुराले उनलाई झनै पीडा दियो। छोराछोरीले नै आफूलाई स्वीकारेनन् भने अरुले झन कसरी स्वीकार्लान् भन्ने कुराले उनलाई दिन रात पिरोल्न थाल्यो।

तर उनले हिम्मत हारिनन्। सधैँ मनमा एक आँट र साहसलाई संगालेर राखिरहिन्। मनलाई कमजोर हुन दिइनन्। यसका लागि बसन्तीलाई सहयोग गरे उनका श्रीमान् यमनारायणले।

समय परिर्वतन भयो। बसन्तीले आफूलाई सम्हाल्दै अगाडि बढिरहेकी छन्। बसन्तीको जलेको अनुहार देखेर नजिक जान डराउने उनका छोराछोरीले अहिले त्यही घाउमा औषधि लगाइदिन थालेका छन्। उनीसँगै सुत्न थालेका छन्। बसन्तीको ख्याल राख्न थालेका छन्।

लामो समयसम्मको उपचारपछि उनी डिस्चार्ज त भइन् तर उनका घाउहरु अझैसम्म सुकिसकेका छैनन्। अनहारका खाटा अझै उस्तै छन्।
अनुहारका खाटा सँगै मनको घाउ उस्तै ताजै छ।

एसिड आक्रमणमा परेर आफ्नो पुरानो बाहिरि रुप गुमाएकी बसन्ती परियार । सबै तस्बिर : बर्षा शाह/देश सञ्चार

तर समय परिर्वतन भयो। बसन्तीले आफूलाई सम्हाल्दै अगाडि बढिरहेकी छन्। बसन्तीको जलेको अनुहार देखेर नजिक जान डराउने उनका छोराछोरीले अहिले त्यही घाउमा औषधि लगाइदिन थालेका छन्। उनीसँगै सुत्न थालेका छन्। बसन्तीको ख्याल राख्न थालेका छन्।

एसिडकै कारण मधुरो देख्ने बसन्तीको देब्रे आँखामा दैनिक उनकी छोरीले औषधि हाल्दिने गर्छिन्। छोरा–छोरीको माया अनि श्रीमानको साथ पाएपछि उनी उक्त घटनाबाट बाहिर निस्कने प्रयास गरिरहेकी छन्।

सेता दाँत फिस्स देखाउँदै उनी भन्छिन्, ‘श्रीमानको मायामा कुनै कमी आएको छैन, कहिलेकाहिँ मैले मेरो अनुहार बिग्रीयो, म कस्ती नराम्री भएँ भन्दा उहाँले ‘खोई म त नराम्री कतै देख्दिन’ भन्नु हुन्छ।’

एसिडले उनको अनुहार, पाखुरा र हात जलेको छ। उनले आफ्ना जलेका हात देखाउँदै भनिन्, ‘हेर्नुस् त पापीले मेरो शरीरै बिगारिदियो, हामी तीन बहिनी मध्य सबै भन्दा राम्री म नै थिएँ रे।’

जे भयो त्यो एउटा घटना थियो। अब आफ्नो अवस्था स्वीकारेर आगाडि बढ्नु पर्छ भन्ने हिम्मत उनले जुटाइसककी छन्। तर कहिलेकाहिँ उनको मन भत्भति पोल्छ, आफूलाई यो अवस्थामा पुर्‍याउने व्यक्तिलाई आफूलाई जस्तै उसको शरीरमा एसिड पोखिदिन मन छ। उनमा प्रतिशोधको भावना पैदा नहुने पनि होइन। तर आफूलाई सम्हाल्छिन्। मनलाई सम्झाउँछिन्। अनि आफैँले आफैँलाई बुझाउँछिन्।

उनलाई कहिलेकाहिँ छोरा–छोरीको पढाइबारे जान्न मन लाग्छ। उनीहरुको स्कुल पुगेर शिक्षक–शिक्षिकासँग बुझ्न मन लाग्छ। जान्न मन लाग्छ- उनीहरु कसरी पढ्दै छन्। तर उनी स्कुलसम्म पुग्न सक्दिनन्। आफू जान नसक्दा उनी श्रीमानलाई पठाउने गर्छिन्।

श्रीमान् नभएका बेला उनी आफ्नी आमालाई पठाउने गर्छन्।

यो कुरा उनको मनमा खड्किरहन्छ। आफ्नै छोरा–छोरीको अवस्था बुझ्न नसक्दा मन पोल्छ। तर पनि एक दिन ठिक हुन्छु, अनि स्कुल पुग्छु भन्ने आशा उनले मनका बोकेकी छन्।

जुन तरिकाले एसिड आक्रमणका घटना बढिरहेका छन्, त्यसलाई रोक्न सरकारले ठोस कदम चाल्न जरुरी रहेको उनले बताइन्। उनी भन्छिन्, ‘जस्तो तरिकाले खुलेआम एसिडको बिक्री बितरण भइरहेको छ, त्यसलाई रोक्नु पर्छ। होइन भने पीडकलाई उस्तै गरी एसिड खन्याइदिनु पर्छ।’

यसो गर्दा मात्र पीडकलाई पीडितको पीडाको अनुभूति हुने उनले बताइन्। र, उनले थपिन्, ‘एक जनालाई यस्तो गर्ने हो भने अर्को जनाले एसिड हान्दा उनीहरु डराउँछन्।’

आफूमाथि भएको एसिड आक्रमणको घटना अन्य कुनै पनि किशोरी वा महिलाले भोग्नु नपरोस् भन्ने उनलाई लाग्छ।

बसन्तीले सरकारबाट ठूलो सहयोगको अपेक्षा गरेकी छैनन्। उनलाई आफू जस्ता एसिड आक्रमणमा परेकाहरुलाई सरकारले रोजगारी सिर्जना गरिदिए आफ्नो जीवीकोपार्जन आफैँ गर्न सकिन्थ्यो भन्ने लाग्छ।

भिडियो यहाँ हेर्नुहोस्:

(यो शृंखलाको भिडियो तथा तस्बिर देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेकी हुन् ।)

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्