६ किलो बस दुर्घटनाका १४ जनाको सनाखत, एकै वडाका पाँच जना

काठमाडौँ- सिन्धुपाल्चोकको लामोसाँघु – जिरी सडकखण्डको ६ किलो नजिकै भएको बस दुर्घटनामा ज्यान गुमाएका १५ मध्ये १४ जनाको सनाखत भएको छ। दोलखाको जुगल गाउँपालिकाको एउटै वडाका पाँच जनाको दुर्घटनामा ज्यान गएको छ।

जुगल-७ का २८ वर्षीय सुकबहादुर तामाङ, २८ वर्षीया मन्जु तामाङ, ३० वर्षीया रेश्मा तामाङ, ७ वर्षीया सबिना तामाङ र १५ महिनाकी रोशनी तामाङको मृत्यु भएको हो। रामेछापको उमाकुण्ड गाउँपालिकाका २४ वर्षीय महेश तामाङ र सुनापाती-६ की अन्दाजी ४०/४२ वर्षीया जुनुमाया तामाङ,  दोलखाको सैलुङ-७ का १० वर्षीय रन्जित तामाङ, सिन्धुपाल्चोकको लिसंखुपाखर-४ का ५५ वर्षीया गंगामाया तामाङ, बलेखी-७ की ३५ वर्षीया फुलमाया तामाङ, दोलखाको भीमेश्वर-९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, काभ्रेको बेथानचोक-५ का ३६ वर्षीय रामशरण खत्री र ३५ वर्षीया मैया केसी तथा भक्तपुरको सुर्यविनायक-८ की ३२ वर्षीया चिनु बस्नेतले पनि ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। मृतक २२/२४ वर्षीया एक युवतीको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

कालिन्चोक मन्दीर दर्शन गरेर फर्किएको  बा२ख ४४६८ नम्बरको ‘रिजर्भ’ बस आइतबार बिहान साढे ७ बजे  सडकबाट १५० मिटर तल खसेको थियो। १७ जना घाइते छन्। घटनास्थलमा १२ र उपचारका क्रममा ३ जनाको मृत्यु भएको हो।

बसका चालक फरार छन्।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्