गुठीको जग्गामा उपमहानगरपालिकाको रजाइँ

गुठी जग्गामा बनेको वडा ६ को कार्यालय।

जनकपुरधाम – सार्वजनिक तथा गुठी जग्गाको संरक्षण गर्नुपर्ने स्थानीय तह आफैँले अतिक्रमण गरेको पाइएको छ। जनकपुरधाम उपमहानगरपालिकाले गुठी संस्थानबाट अनुमति नलिई वडा कार्यालय निमार्ण गरेको हो।

उपमहानगरपालिका वडा नं. ६ मा गुठ्ठीको जग्गामा अनुमति नलिई आफ्नो कार्यालय बनाएपछि उपमहानगरपालिकाको आलोचना हुन थालेको छ।

एकातर्फ भू–माफियाहरुले यहाँ रहेको विभिन्न मठ–मन्दिर तथा पोखरीलगायत सार्वजनिक जग्गामा अतिक्रमण गरेको छ भने अर्को तर्फ अतिक्रमणमा परेको जग्गाको संरक्षण गर्नुको साटो स्थानीय सरकारले आफैँ जग्गामाथि अतिक्रमण गेको हो।

वडा नम्बर ६ स्थित रहेको गुठी संस्थानको अधिनमा रहेको चरण पादुका सरको डिलमा उपमहानगरपालिका र वडाध्यक्षकै निर्देशनमा जग्गा अतिक्रमण गरी वडा कार्यालयको भवन निर्माण गरेका छ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका अनुसार जनकपुरधाम– ६ मा गुठीको जग्गामा कुनै प्रकारको कार्यालय स्थापना भएको जानकारी नभएको जनाएको छ। संस्थानका अनुसार गुठीको जग्गामा स्वीकृति नलिई कार्यालय स्थापना गरेकोले यो कार्यालय स्थानिय सरकारको भएता पनि गैरकानूनी रहेको दाबी गरेको छ।

यता जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता मिश्रले वडा कार्यालयको भवन निर्माणको लागि गुठी संस्थानसँग अनुमती लिएको वा नलिएको सम्बन्धमा कुनै जानकारी नरहेको प्रतिक्रिया दिइन्।

वडा नम्बर ६ का अध्यक्ष जगरनाथ साहले गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका प्रमुखसँग पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएपछि अनुमतिविनै वडा कार्यालयको भवन निर्माण गरेको प्रतिक्रिया दिए।

उनले भने, ‘यो भवन निर्माण कानून विपरीत हो। तर यहाँका गुठीका हाकिमसँग सम्पर्क नभएकोले अनुमति नलिइ निर्माण गरिएको छ।’ उनका अनुसार भवन निर्माण गर्नको लागि नगरपालिकामा पत्राचार गरेर मात्र भवन निर्माण गरेका हुन्।

वडा कार्यालयको भवन गुठीको करिब ६ धुर जग्गामा झण्डै १८ लाखको लागता सीता निर्माण सेवालाई ठिक्का दिएर निर्माण गरिएको र अहिले झण्डै १२ लाख भुक्तानी गरिएको र बाँकी पैसा भुक्तानी दिन बाँकी रहेको जनकपुरधाम उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू