काँग्रेसद्वारा सडक दुर्घटना नियन्त्रण गर्न अपिल

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सिन्धुपाल्चोकमा आइतबार बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। बैठकले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गत कात्तिक र यही मङ्सिरमा बाग्लुङ, सुनसरी, अर्घाखाँची, सिन्धुपाल्चोकलगायत जिल्लामा भएका सडक दुर्घटनामा परी पाँच दर्जनभन्दा बढी व्यक्तिको निधन भएको साथै सडक दुर्घटनामा देशव्यापीरुपमा मृत्युको तथ्याङ्क बढेको भन्दै काँग्रेसले चिन्ता व्यक्त गरेको छ । यस्तो अवस्थामा सडक यात्रामा नागरिक जीवनको रक्षा गर्नुपर्ने सरकार कहाँ छ भन्ने प्रश्न उब्जिएको बैठकले उल्लेख गरेको छ।

काँग्रेसले विज्ञप्तिमार्फत बाँकेको कोहलपुरमा विद्यालय प्रवेशद्वार अघिल्तीरै बालिकालाई ट्रकले कुल्चनु र घटनामा प्रहरीले संयमता नराख्दा थप द्वन्द्व सिर्जना हुनु दुःखद् भएको जनाउँदै घाइते बालिकाको सम्पूर्ण उपचार गर्न सरकारसमक्ष माग गरेको छ।

काँग्रेसले केन्द्रीय समिति बैठकपछि विज्ञप्ति जारी गरी सडक दुर्घटना नियन्त्रण गर्न सरकार असफल भएको ठहर गर्दै दुर्घटनाको मुकदर्शक नभएर दुर्घटना नियन्त्रणका लागि गम्भीर पहलकदमी लिन सरकारलाई अपिलसमेत गरेको छ ।

बैठकले यही मङ्सिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा बम विष्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र अन्य दुई जना नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

घटनाको भत्र्सना गर्दै काँग्रेसले बम विष्फोट गराउने दोषी जो भए पनि कानूनी दायरामा ल्याउने कर्तव्य निर्वाह गर्न नसक्नु र शान्तिसुरक्षा कायम गर्न निरन्तर सरकार असफल हुँदै गएको भन्दै चिन्ता प्रकट गरेको छ।

सरकारलाई यस्ता घटनाप्रति गम्भीर हुन अपिल गर्दै काँग्रेसले घटनाको उच्चस्तरीय छानविनको माग र बम विष्फोटमा परी घाइते भएकाको सम्पूर्ण उपचार गर्न तथा मृतकका परिवारलाई राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

यसैगरी बैठकले कञ्चनपुरको महाकाली नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट वसन्ती भट्ट र भुरी बोहराको मृत्यु भएको तथा चार जना महिला घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चीर शान्तिको कामना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बैठकले मृतकका परिवारलाई राहत उपलब्ध गराउन र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार एवं केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र रमेश लेखकले आफ्नो धारणा राखेका थिए। केन्द्रीय कार्यसमितिको अर्को बैठक भोलि सोमबार दिउँसो १ बजे पुनःबस्ने मुख्य सचिव पौडेलले जानकारी दिए।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्