एक वर्षपछिको नेकपा स्थायी कमिटी बैठक

वामदेवलाई उपाध्यक्ष बनाउन विधान संशोधन गर्ने कार्यसूचीको विरोध हुने

तस्बिर: सुलभ श्रेष्ठ

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट कम्युनिष्ट पार्टी ‘नेकपा’ नेतृत्व लामो सयमदेखि प्रतिक्षारत स्थायी कमिटी बैठक डाकेर त्यसका सदस्यहरुलाई खुसी बनाउने प्रयासमा देखिए पनि त्यो एक व्यक्ति अर्थात नेता बामदेव गौतमलाई उपाध्यक्ष पद दिलाउनका लागि मुख्यतया: आयोजना गरिएको बुझिएको छ।

नेता गौतमलाई उपाध्यक्ष बनाउन स्थायी कमिटी बैठक डाकिएको भन्ने पुष्टि बैठकको पहिलो दिन नै तय गरिएको कार्यसूचीबाट भएको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक गरेको पाँच वटा कार्यसूचीमध्ये केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्धरा तयार राजनीतिक प्रतिवेदन प्रस्तुत र त्यसमाथि छलफल पहिलो कार्यसूची भएपनि दोस्रो कार्यसूची विधान संशोधन रहेको छ। नेता गौतमलाई उपाध्यक्ष बनाउनका लागि सचिवालयले गरेको सिफारिसका आधारमा विधान संशोधनको कार्यसूची स्थायी कमिटीका लागि तय गरिएको हो।

केन्द्रीय कमिटीको बैठकले अनुमोदन नगरेसम्म गौतम उपाध्यक्ष हुने छैनन्। त्यसकारण आइतबारको स्थायी कमिटी बैठकले आफ्नो तेस्रो कार्यसूचीमा केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने विषय राखेको छ।

गौतमले अध्यक्ष प्रचण्डसँग मिलेर आफूविरुद्धको समीकरण बनाउने संकेत पाएपछि गौतमलाई ओलीले उपाध्यक्ष पद दिलाउने आश्वासन सहित गत साउनमा आफूतिर तानेका थिए।

तर पूर्व एमालेमा गौतमसँगै अष्टलक्ष्मी शाक्य, भीम रावल लगायत चार जना पनि उपाध्यक्ष रहेकाले उनीहरुलाई पनि सोही हैसियत दिनु पर्ने माग अर्का वरिष्ठ नेता माधव कुमार नेपालले उठाउँदै आएका थिए।

उक्त मागको सम्वोधन नगरी ओली र दाहालले नेता गौतमलाई मात्रै नेकपाको उपाध्यक्ष बनाउने उद्देश्यसहित स्थायी कमिटीको बैठक बोलाउनुका साथै स्थायी कमिटीको सिफारिस कार्यान्वयनका लागि केन्द्रीय कमिटी बैठक बोलाउने कार्यसूची निर्माण गरेका हुन्।

त्यसबारे नेकपाका प्रभावशाली नेताहरुले विरोध गर्ने तयारी गरेका छन्, भोलि सोमबार पनि निरन्तरता पाउने स्थायी कमिटी बैठकमा।

नेकपाका एक प्रभावशाली नेताले बैठकपछि देशसञ्चारसँग भने, ‘अन्यायका विरुद्ध हामी बोल्नु नै पर्ने छ। कसैलाई पाखा कसैलाई काखा गर्न मिल्दैन। गौतमलाई नेकपाको उपाध्यक्ष बनाउने यसअघि एमालेमा सोही गौतमको जस्तै हैसियत हुनेलाई पनि त्यही जिम्मेवारी र पद दिनुपर्छ,’ ती नेताले भने।

खासगरी पार्टी एकताका बेला प्राप्त नेता नेपालको तेस्रो हैसियत खोसेर नेता झलनाथ खनाललाई ओलीले दिएपछि नेपालले सार्वजनिकरुपमै गौतमलाई एकीकृत पार्टीको हैसियत प्रदान गर्दै गर्दा पूर्व एमालेका अन्य चार जनाको हैसियतको पनि कदर गर्नु पर्ने माग उठाएका थिए।

तर त्यसबारे कुनै छलफल नगरी ओली र दाहालले सचिवालय बैठकमार्फत गौतमलाई उपाध्यक्ष बनाउने सिफारिस स्थायी कमिटीलाई गरेका हुन्।

गौतमलाई उपाध्यक्ष पद दिलाएर पार्टीमा आफूपछि शक्तिशाली बनाउने योजनामा ओली रहेको बुझिन्छ।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू