साहित्य महोत्सवमा राजनीतिक प्रवृतिदेखि नयाँ प्रविधिसम्‍म चर्चापरिचर्चा

पोखरा-आइएमई नेपाल साहित्य महोत्सवको तेस्रो दिन आइतबार पनि दर्शक एवम् श्रोताको उल्लेख्य सहभागिता रह्यो । पोखराको तालबाराही चोक, लेकसाइडमा जारी महोत्सवमा गरमागरम बहस जारी भइरहेको छ।

आइतबारको पहिलो सत्रमा अबको नेतृत्व कस्तो ? विषयमा नेकपाका नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, कांग्रेस नेता एवम् सांसद गगन थापा, साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेतृत्वका लागि युवापुस्ता अघि आउनुपर्ने बताए।

उनीहरुले दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा उनीहरुले जोड दिए । साथै आआफ्ना क्षेत्रबाट देश विकास एवम् यहाँका सकारात्मक एवम् विकाससम्बन्धी विषयमा यो ऊ पार्टी नभनी आफूहरु अघि बढ्न इच्छुक रहेको उनीहरुले बताए ।

महोत्सवको अर्को सेसन पावरिङ सस्टेनेब्लीमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र प्रियन्था विजयातुंगा र रुपक डी शर्माले दक्षिण एसियाली मुलुकमा ऊर्जाको अवस्थाबारे चर्चा गर्दै नेपालमा यसको सम्भावना र वस्तुस्थितिबारे आफ्नो धारणा राखे।

अपार सम्भावना भएको नेपालमा ऊर्जा क्षेत्रमा व्यापक परिवर्तन गर्न सकिने उनीहरुको जोड थियो। नेपालमा उत्पादित बिजुलीको विश्वबजारमा माग रहेको भन्दै घिसिङले नेपालमा बिजुली उत्पादन बढाउने र औद्योगिक विकासमार्फत त्यो बिजुलीलाई यहीँ खपत गर्न सके नेपालको आर्थिक विकासमा त्यो महत्वपूर्ण हुने दाबी गरे।

यसका साथै सोही समयमा ट्रान्सलेसिङ साउथ एसिया विषयमा अरुणभ सिन्हा, रिफात मुनिम, कर्मेन विक्रमागामागे र अमिशराज मुल्मीले धारणा राख्दै उनीहरुले दक्षिण एसियामा अनुवाद साहित्यको अवस्था र यसको प्रभाव, वस्तुस्थितिबारे अन्तर्संवाद गरेका थिए।

अर्को सेसन थियो, मुर्झाएको निबन्ध। रोशन शेरचन, गीता त्रिपाठी, रमेश सायन र विमल आचार्यबीच चलेको छलफलमा पछिल्लो समय नेपाली निबन्धको अवस्थाबारेको प्रस्तुति रह्यो। अन्य विधाको तुलनामा निबन्धको बजार नबढेको विषयमा पनि उनीहरुले अन्तरसंवाद गरे। यो सेसनमा के नेपाली निबन्ध मुझाएकै हो त भन्ने विषयमा केन्द्रित रहेर संवाद चल्यो।

यसमा वक्ताहरुले नेपाली निबन्ध मुर्झाएको नभई विविध विषयमा पुगेको बताए । साथै उनीहरुले शंकर लामिछाने, लक्ष्मीप्रसाद देवकोटाले जसरी निबन्ध भने आउन नसकेकोमा चिन्ता गरे ।

यही समयमा कथाका अन्तर्कथा शीर्षकमा सञ्जीव उप्रेती, मुना चौधरी र छुदेन काविमोसँग गुरुङ सुशान्तले संवाद गरेका थिए। जसमा कथा लेखन, पात्रको प्रस्तुति, घटनाक्रम आदिबारे चर्चापरिचर्चा गरियो। साथै कथाका अन्तर्वस्तुबारे सँगसँगै दार्जिलिङ, कालेबुङ आदि भारतका नेपाली भाषी क्षेत्रमा नेपाली साहित्यको अवस्थाबारे प्रसँगमा संवाद गरियो।

महोत्सवमा नेपाली समाजको वर्गविन्यास बारेमा विश्लेषक आहुतिले प्रवचन दिए। उनले नेपालमा भइरहेको वर्गविन्यासको अवस्थाबारे विषद् व्याख्या विश्लेषण गरे । साथै यसका सकारात्मक एवम् नकारात्मक प्रभावबारे पनि उनले टिप्पणी गरे। जंगबहादुर राणाले बसालेको समाज अहिले पनि रहेको बताउँदै र त्यो कुनै तयारी नगरी आएको नभई आफैं भए जस्तो भएको उनको जिकिर थियो।

हामीले बाँच्न चाहेको नेपाल शीर्षक सेसन महोत्सवको आकर्षणका रुपमा रह्यो । यसमा सहभागी थिए, शृंखला खतिवडा, सुम्निमा उदास, रेसु अर्याल ढुंगाना र गनेस पौडेल। उनीहरुले नयाँ पुस्ताले कस्तो नेपालको अपेक्षा गरेको छ भन्ने विषयमा बोल्दै यसमा सामाजिक अव्यवस्था एवम् रुढ मान्यताका कारण अहिलेको युवा पुस्ता उन्मुक्त हुन नसकेकोमा गुनासो गरे। साथै बलात्कार जस्ता घटनामा राज्यले प्रभावकारी कदम नचालेको र दोषीहरुले उन्मुक्ति पाएको उनीहरुको भनाइ थियो।

साथै सबैभन्दा पहिले महिनावारी आदि विषयमा समाजमा सचेतना जगाउनुपर्ने र शिक्षाको गुणस्तर सुधारी सबै नेपालीलाई सक्षम बनाउनुपर्नेमा उनीहरुले जोड दिए। यति हुँदाहुँदै पनि दक्षिण एसियाली मुलुकको तुलनामा महिलाको अवस्था एवम् सशक्तीकरणका क्षेत्रमा नेपालले बिस्तारै सकारात्मक÷प्रभावकारी काम गर्न सकेको उनीहरुले बताए। समाजमा महिला र पुरुष अर्थात् उनीहरुको अधिकार एवम् समानता एकै किसिमको हुनुपर्ने र विभेदको आभास पनि आउन नदिनेमा जोड थियो।

यही समयमा अली मियाँ कक्षमा भवसागर घिमिरेको हजुरबाको बगैंचा र हेमलता राईको पुस्तक चंगा चैट विमोचन गरियो। साथै किन हुर्किनुपर्छ बालसाहित्य शीर्षकमा शाश्वत पराजुली, हेमलता राई र भवसागर घिमिरेले छलफल गरेका थिए।बालबालिकाको बौद्धिक एवम् मानसिक विकासका लागि बालसाहित्यको उल्लेख्य भूमिका रहेको उनीहरुले बताए।

महोत्सवको अर्को सेसन थियो, राइटिङ इन द एज अफ पपुलिज्म। जसमा जेरेमी थम्बिङ, हरीश नाम्बियर, जमिल जन कोचाई र अनाघा नीलकन्टनबीच अन्तरसंवाद चल्यो। लोकप्रिय हुने युगमा लेखनको अवस्थाबारे उनले छलफल गरे । जस्तो कि, भारतमा नरेन्द्र मोदी र बेलायतमा बे्रक्जिट आदि लोकरिझ्याइँमा लाग्दा लेखकको मनोबल कसरी खस्किएको छ भन्ने विषयमा संवाद भयो ।

यही समयमा चल्यो, आर्टिफिसियल इन्टेलिजेन्स र कलाको नयाँ परिभाषा। यो सेसनमा विशेष खनाल, विनोद भट्टराई, सुरेश मानन्धर र निरञ्जन श्रेष्ठबीच अन्तर्संवाद चल्यो।

पछिल्लो समय नेपाललगायत मुलुकमा फस्टाइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को अवस्था र प्रभावबारे उनीहरुले चर्चापरिचर्चा गरे। आर्टिफिसियल इन्टेलिजेन्सले निर्माण गरेको संरचनाबारे उनीहरुले पावरपोइन्ट प्रेजेन्टेसनसमेत गरेका थिए।

त्यसमा अहिले एआईका अन्य प्रगतिबारे पनि चर्चा भयो । यसले तीव्र गतिमा आफ्ना काम गरेको उनीहरुले बताए । तर एआईका कारण मानवीय जनशक्ति अर्थात् बौद्धिक जगत्लाई त्यति प्रभाव, असर नपार्ने उनीहरुको भनाइ थियो।

महोत्सवको अन्तिम सेसन थियो, नेपाली बजारको विश्वव्यापीकरण। यो सेसनमा उद्योगी एवम् अर्बपति विनोद चौधरीलाई संवादमा ल्याए, प्रतीक प्रधानले। यो सेसनमा चौधरीले नेपाली ब्रान्ड एवम् बजारलाई विश्वव्यापीकरण गर्दाको अप्ठ्यारा सप्ठ्यारा अवस्थाबारे चर्चा गरे। साथै आफूले सिजी ब्रान्डको विस्तारका क्रममा झेल्नुपरेका बाधा व्यवधान आदिबारे पनि उद्योगी चौधरीले धारणा राखे।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्