प्रदेश ५ को नाम ‘लुम्बिनी’, राजधानीका लागि तीन ठाउँ सिफारिस

बुटवल- पटकपटक विवाद र आलोचना सहँदै आएको प्रदेश ५ को राजधानी तथा नाम सिफारिश विशेष समितिले प्रदेशकाे नाम “लुम्बिनी” राख्न प्रदेश सभालाई सिफारिस गर्ने भएको छ ।

समितिको आईतबार बसेको बैठकले राजधानी र नामको टुंगो लगाउदै प्रदेश सभालाई सिफारिश गर्ने निर्णय गरेको हो ।
समितिले गरेको सिफारिस प्रदेश सभाकाे बैठककाे दुई तिहाईले पारित गर्नुपर्ने प्रावधान छ ।

विशेष समितिका एक सदस्यका अनुसार प्रदेशको राजधानी यहीँ उपयुक्त छ भनेर तोकिएको छैन । तर मध्यमार्गी बाटाे अपनाउँदै समितिले रूपन्देही, कपिलवस्तु र दाङका स्थानलाई सिफारिश गरेको छ । “हामीले विवाद नआओस् भन्ने हिसावले मध्यमार्गी बाटाे अपनाएका छाैं”- समितिका एक सदस्यले भने- त्यसको टुंगो अब प्रदेश सभाले नै लगाउँछ ।”

समितिले रुपन्देहीको बुटवल-सैनामैना, कपिलवस्तुकाे वाणगंगा-बुद्धभूूूमि तथा दाङकाे भालुवाङ-लमही क्षेत्र प्रस्ताव गरेेेेको समितका एक सदस्यले बताए।

विशेष समिति सो प्रतिवेदन सभामुखलाई बुझाउने तयारीमा जुटेको छ । पछिल्लो पटक भारत भ्रमण सकेपछि समितिका सदस्यहरु प्रतिवेदन बनाउन जुटेका हुन्।

समितिका सभापति दीपेन्द्रकुमार पुन मगरले प्रतिवेदनलाई अन्तिम रुप दिन थालिएको भन्दै सोमबार प्रतिवेदन बुझाउने गरी तयारी भएको बताए ।
उनका अनुसार आइतबारको समितिको बैठकमा भारत भ्रमणको समिक्षा गर्दै उपलब्धिका बारेमा छलफल भएकोे थियो । विशेष समितिले यही मंसिर २१ गते देखि २७ गतेसम्म भारतको चण्डीगढ भ्रमण गरेको थियो ।

समितिले यस अघि जिल्ला जिल्लामा गएर सुझाव संकलन पनि गरेको थियो । राजधानीका लागि बुटवल, दाङ, कपिलवस्तुलगायतका स्थानका लागि सुझाव दिइएको थियो।

प्रदेशको नाम लुम्बिनी राख्न धेरैले सुझाव दिएका थिए।सुझावका लागि विशेष समितिले गत असारमा विज्ञहरु तोकेको थियो ।

विज्ञका रुपमा शिवराम प्रधान, डा.कृष्ण प्रसाद पौडेल र डा. उद्धवराज खड्का रहेका थिए । उनीहरुले प्रदेशका सबै संभावित ठाउँहरुको अध्ययन गरेपछि सुझाव तयार पारेका थिए ।

विशेष समितिले प्रतिवेदन बुझाउने म्याद पछिल्लो पटक ६ महिना र त्यस अघि दुइ पटक सम्म तीन–तीन महिनाका दरले म्याद थप गरिएको थियो । विशेष समितिको पछिल्लो पटक जेठ ३० गते ६ महिना म्याद थप गरिएको थियो । प्रदेश सभाको ०७५ साउन २४ गतेको बैठकमा सभामुख पूर्णवहादुर घर्तीले १५ सदस्यीय विशेष समिति गठन गरेका थिए ।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू