इन्जुरी समयको गोलले जोसेको टिम टोटनह्यामलाई महत्वपूर्ण जित

जोसे मोरिन्होको आगमनसँगै टोटनह्यामले पुरानो लय लिएको देखिएको छ । लिगमा जोसेको प्रशिक्षणमा टोटनह्यामले राम्रो प्रदर्शन गर्ने क्रम जारी राखेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले वुल्भ्सलार्य २–१ ले पराजित गरेको छ । अवे मैदानमा भएको खेलमा लगभग बराबरीमा रोकिएको अवस्थामा इन्जुरी समयमा गोल गर्दै ज्यान भर्टोङ्हेनले टिमलाई जित दिलाएका हुन् ।

आठौँ मिनेटमा लुकास मोउराले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ६७ औँ मिनेटमा ट्राओरीले वुल्भ्सका लागि बराबरी गोल फर्काए ।

लगभग बराबरीमा खेल टुंगिने संकेत मिलेका बेला इन्जुरी समयमा टोटनह्यामले महत्वपूर्ण तीन अंक जोड्ने गोल गर्न सकेको हो । ज्यानले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।

जितपछि पाँचौँ स्थानमा पुगेको टोटनह्यामको १७ खेलबाट २६ अंक भएको छ र चौथो स्थानको चेल्सी भन्दा मात्रै तीन अंकले पछि रहेको छ ।

यस्तै लिग अन्तर्गत आइतबार राति नै भएको खेलमा जोसे मोरिन्होको पूर्व क्लब म्यानचेस्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेड एभर्टनसँग १–१ को बराबरीमा रोकिएको हो ।

मंसिर ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्