किम्फमा कुन–कुन चलचित्रले पुरस्कार जिते ?

काठमाडौँ – काठमाडौँमा सम्पन्न १७ औँ काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल किम्फमा ‘पियानो टु झंस्कर’ पहिलो पुरस्कार जितेको छ। बेलायती निर्देशक माइकल सुलिमाले निर्देशन गरेको पियानो टु झंस्करले पहिलो हुँदै २ लाख रुपैयाँ पुरस्कार जितेको हो ।

यस्तै बेलायती निर्देशक कलानी गाकोनले निर्देशन गरेको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो र स्पेनका मार्गा गुटरेजले निर्देशन गरेको ‘कुर्देस’ तेस्रो भएको छ । दोस्रो विजेताले डेढ लाख र तेस्रो हुनेले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

यस्तै ३ मिनेटको छोटा वृत्तचित्र प्रतियोगिताको पुरस्कार ‘द युनिटी’ अर्थात एकता वृत्तचित्रले पाएको छ । यसमा ९ वटा वृत्तचित्रको प्रतिस्पर्धा थियो। ‘अमा खाण्डो’ वृत्तचित्रले ‘बेस्ट अडियन्स’ पुरस्कार जितेको छ ।

यस्तै नेपाली पानारोमा विधातर्फ केदार श्रेष्ठले निर्माण गरेको ‘जुनुको जुत्ता’ वृत्तचित्र फिक्सनतर्फ उत्कृष्ट चलचित्र बन्यो । रंगकर्मी श्रेष्ठले ५ वर्षीया छोरीको जुत्ताका विषयमा निर्माण गरेको यो वृत्तचित्रले फिक्सनतर्फ उत्कृष्ट बन्दै एक लाख रुपैयाँँ पुरस्कार जितेको हो । १२ मिनेट अवधिको यो वृत्तचित्र आइतबार प्रदर्शन भएको थियो ।

यस्तै पानारोमा विधामै ‘पोट्रेट अफ मनी’ले उत्कृष्ट वृत्तचित्रको पुरस्कार पायो । प्रणव नारायण मानन्धरले निर्देशन गरेको यो वृत्तचित्रले । जम्मा ८ मिनेटको यो चलचित्र गएको बिहीबार प्रदर्शन भएको हो । यो वृत्तचित्रमा रक्सी पिउने युवाको कथालाई प्रस्तुत गरिएको छ ।

गएको बुधबार सुरु भएको किम्फमा १३ देशका ७९ वटा वृत्तचित्र प्रदर्शन गरिएका थिए । सन् २००० देखि सुरु भएको किम्फले युवालाई छोटा चलचित्र अर्थात वृत्तचित्र निर्माणमा प्रोत्साहन गर्दै आएको छ ।

मंसिर ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्