पौडेल पक्षलाई पेलेर अघि बढ्ने देउवाको तयारी, सहमतिको अन्तिम प्रयास जारी

प्रकाशमान सिंहको निवास चाक्सारीबारीमा बसिरहेको नेताहरुको बैठक। तस्विर सौजन्यः युपी लामिछाने

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षलाई पेलेर जाने तयारी गरेका छन्।

१४ औँ माहधिवेशनको कार्यतालिका ल्याउन माग गर्दै पौडेल र सिटौला पक्षले लगातार केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेपछि देउवा बहुमतका आधारमा अघि बढ्ने भएका हुन्।

पौडेल र सिटौला पक्षले पूर्व सहमतिअनुसार १४ औँ महाधिवेशनको कार्यतालिका पेश भए मात्र पार्टीका विभाग गठनमा छलफल गर्न सकिने अडान राख्दै आए पनि तीन दिन भएको छलफलबाट सहमति जुट्न नसकेपछि सोमबार बहुमतका आधारमा निर्णय गर्ने तयारी भएको स्रोतको दाबी छ। केन्द्रीय समितिको बैठक सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बोलाइएको छ।

बिहीबार बैठक बहिस्कार भएपछि सभापति देउवा असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन आफै र आफू निकट नेताहरुलाई जिम्मेवारी दिएका थिए। शनिबार पौडेल निवास बोहोराटार पुगेर छलफल गरेका देउवाले असन्तुट पक्षलाई सहमतिमा ल्याउन उपसभापति विमलेन्द्र निधिलाई समेत खटाएका थिए।

निधिले शनिबार प्रकाशमान सिंह र आइतबार महामन्त्री शशांक कोइरालासँग भेटेर औपचारिक र अरु विभिन्न चरणमा अनौपचारिक छलपफल गरे पनि निष्कर्षमा पुग्न नसकेपछि बहुमतका आधारमा निर्णय लिने मनस्थितिमा सभापति देउवा पुगेका हुन्।

सहमतिको अन्तिम प्रयास स्वरुप अहिले निधि छलफलका लागि फेरि सिंह निवास चाक्सीबारी पुगेका छन्। छलफलमा हृदयराम थानी र दिलेन्द्र प्रसाद बडू सहभागी छन्।

आइतबार पौडेल पक्षले बैठक बहिस्कार गरे पनि केन्द्रीय समिति बैठकबाट देउवा दुईवटा निर्णय गराएका थिए।

आइतबार पौडेल पाथीभराको दर्शनका लागि ताप्लेजुङ पुगेपछि उनी निकट कोइराला र सिंहले पौडेल फर्किएपछि थप छलफल गर्ने भन्दै बैठकमा नजाने निर्णय गरेका थिए। आइतबार बेलुका नै पौडेल काठमाडौँ फर्किएका छन्।

देउवाले नेविसंघको अध्यक्षमा राजीव कोइरालालाई नियुक्त गर्ने तयारी गरेका छन्। अन्य विभागका संयोजकबारे पनि देउवाले लगभग तयारी पूरा गरेको स्रोतको भनाइ छ। पौडेल सहमतिमा नआए पनि उनीनिकट नेतासँग नाम लिएर विभागलाई पूर्णता दिने रणनीति तय गरेका छन्।

मंसिर ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्