जनकपुरधाम – धनुषामा पछिल्ला केही दिनमा बम तथा शंकास्पद बस्तुले जनजीवन प्रभावित बनाएको छ । शुक्रबार एक ठाउँमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने आइतबार रातिदेखि सोमबार बिहानसम्ममा तीन ठाउँमा शंकास्पद बस्तु फेला परेका छन् ।

पछिल्लो पटक धनुषाधाम नगरपालिका वडा नं. ५ स्थित श्री उच्च माध्यमिक विद्यालयको लेखा शाखाको झ्यालमा शंकास्पद बस्तु फेला परेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताएका छन् । स्कूल क्षेत्रमा प्रहरी परिचालन गरिएको छ भने सर्वसाधारणलाई त्यस क्षेत्रमा प्रवेशमा रोक लगाइएको छ ।

यसअघि आइतबार राति जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ संकटमोचन मन्दिरबाट बागवानी जाने बाटोमा शंकास्पद बस्तु फेला परेको थियो । यस्तै सोमबार बिहान सोही वडाको सरस्वती नमुना मावि नजिक पनि शंकास्पद बस्तु फेला परेको थियो ।

यस्ता शंकास्पद बस्तु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राखेको हुन सक्ने अनुमान छ । जनकपुरधामको रंगभूमि मैदान बाह्रबिघामा पुस ३ गते एनसेलको आयोजनामा एनसेल मेला हुँदैछ । त्यसलाई नै लक्षित गरेर विप्लव नेकपाले आतंक फैलाउन खोजेको सुरक्षा निकायको अनुमान छ ।

मंसिर ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्