खेलाडीको परिभाषामा संसदको बहस : क-कसलाई अन्तर्राष्ट्रिय खेलाडी भन्ने ?

‘देशको प्रतिनिधित्व गर्ने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिन सकिँदैन।’

किन?

‘सागमा नेपालको तर्फबाट ६ सय बढी खेलाडीहरु सहभागी थिए। ६ सय खेलाडीहरुलाई नै अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दियौँ भने त्यो कति उपयुक्त हुन्छ ? हाम्रो देशको प्रतिनिधित्व स्वभाविक गराउनु थियो कतिपय अवस्थामा स्तर नपुगेका खेलाडीहरु पनि देशको छनोटमा ए ग्रेडमा परे  तर अन्तर्राष्ट्रिय स्ट्याण्डर्डमा त्यो हैसियत नपुगेको खेलाडीलाई कसरी मान्यता दिने ? एउटा स्तर त मापन हुनुपर्‍यो । स्तर मान गर्ने भनेको मेडल हो।’

ऐन बन्ने प्रकृयामा रहेको  खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सोमबार संसदीय समितीमा भएको दफावार छलफलमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राखेको धारणामा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिते मात्र अन्तर्राष्ट्रिय खेलाडी बन्न सक्ने तर्क उनको थियो।

छलफलमा भाग लिने सांसदहरुले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव पेश गरेका थिए। कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने संशोधन परेको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने निकायको नाम नै कोट गरिनुपर्ने र ओलम्पिक कमिटीको छाताभित्र हुने प्रतियोगितामा सहभागि हुने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताए ।

खेलाडीको परिभाषामा संसदभित्रको यो छलफल र बहसलाई सामान्य मान्न सकिँदैन। खेलाडीका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वर्गिकरणमा खेलाडीको सहअस्तित्व, योगदान र यथार्थलाई विर्सन मिल्दैन।

प्रस्तावित ऐनमा ‘ विश्व वा महादेशीय वा क्षेत्रीयस्तरका बृहत खेलकुद वा अन्तर्राष्ट्रिय खेल संघ वा महासंघबाट आयोजना हुने खेलकुद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरि पदक जित्ने खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको खेलाडी सम्झनु पर्छ’ भन्ने उल्लेख गर्नुपर्ने तर्क खेलकुद मन्त्री विश्वकर्माको छ।  त्यस्ता प्रतियोगितामा सहभागी खेलाडीलाई राष्ट्रिय खेलाडीका रुपमा उल्लेख गरिनुपर्ने उनले बताएका छन्।

हरेक खेलको राष्ट्रिय संघ हुन्छ। ती खेलका क्षेत्रीयस्तरीय, एसियालीस्तरीय र विश्वस्तरीय अफिसियल च्याम्पियनसिप पनि हुन्छन्। अनि हरेक संघ ती संघका क्षेत्रीय, एसियाली र विश्व महासंघमा आबद्ध हुन्छन्।

राष्ट्रिय ओलम्पिक कमिटीमा राष्ट्रिय संघ आबद्ध भएजस्तै ती संघका विभिन्नस्तरमा रहने अन्तर्राष्ट्रिय महासंघ ओलम्पिक काउन्सिलका सोहीस्तरका काउन्सिलहरुमा आबद्ध हुन्छन्, जस्तै नेपाल एथलेटिक्स संघ नेपाल ओलम्पिक कमिटीमा, एसियन एथलेटिक्स महासंघ एसियाली ओलम्पिक काउन्सिलमा र विश्व एथलेटिक्स महासंघ अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलमा आबद्ध भएजस्तै।

हाल नेपाल ओलम्पिक कमिटीमा २६ वटा संघ आबद्ध छन्। अखिल नेपाल फुटबल संघ, अखिल नेपाल कबड्डी संघ, नेपाल लन टेनिस संघ, अखिल नेपाल टेबल टेनिस संघ, नेपाल एथलेटिक्स संघ, नेपाल आर्चरी संघ, नेपाल ब्याडमिन्टन संघ, नेपाल बास्केटबल संघ, नेपाल बक्सिङ संघ, नेपाल साइक्लिङ संघ, नेपाल फेन्सिङ संघ, नेपाल जिम्यास्टिक संघ, नेपाल ह्यान्डबल संघ, नेपाल हक्की संघ, नेपाल जुडो संघ, नेपाल कराँते महासंघ, नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघ, नेपाल सुटिङ संघ, नेपाल स्की संघ, नेपाल पौडी संघ, नेपाल तेक्वान्दो संघ, नेपाल ट्रायथलन संघ, नेपाल भलिबल संघ, नेपाल भारत्तोलन संघ, नेपाल कुस्ती संघ र नेपाल उसुर संघ नेपाल ओलम्पिक कमिटीका सदस्य संघ हुन्।

हालै सम्पन्न भएको १३ औँ सागमा समावेश भएका गल्फ, क्रिकेट, स्क्वास लगायत खेलका संघ भने नेपाल ओलम्पिक कमिटीका सदस्य छैनन्।

युवराज लामा राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव रहेका बेला खेलाडीलाई सफलता र सहभागिताका आधारमा खेलाडी परिचय पत्र वितरण गरिएको थियो। ओलम्पिकमा सहभागी हुने, एसियाडमा पदक जित्ने र सागमा स्वर्ण पदक हात पार्ने खेलाडीलाई प्लाटिनम कार्ड दिइएको थियो।

यसैगरी साफ र एसियन गेम्सका सहभागीलाई सिल्भर कार्ड दिइएको थियो भने सागमा रजत र कास्य जित्नेलाई गोल्ड कार्ड दिइएको थियो। त्यतिबेला खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय भनि वर्गिकरण भएको थिएन। तर खेलाडीको विदेश पलायनलाई रोक्न र स्वदेशमै खेलकुदमा रहिरहने वातावरण तयार गर्न खेलाडीको वर्गिकरण गरि उनिहरुलाई राज्यले त्यस किसिमको सेवा,  सुविधा र अवसर दिनुपर्ने बहस चल्दै आएको लामो समय भइसकेको छ।

नेपालमा राखेपमा दर्ता भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ पनि छ जसको दुई कार्यकाल कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले गरेका थिए। हाल यो संघको अध्यक्ष कराँतेका साग स्वर्ण विजेता दीपक श्रेष्ठ रहेका छन्।

श्रेष्ठले पनि राज्यको उपस्थिती रहने अफिसियल गेम्समा पदक जित्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी भन्नुपर्ने तर्क राख्छन्। ‘ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी भन्न थाल्ने हो भने अन्तर्राष्ट्रिय खेलाडी कति हो कति हुन्छन्। त्यसैले यसको मापदण्ड बनाउनुपर्छ’, श्रेष्ठ भन्छन्।

श्रेष्ठका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघको विधानमा पनि अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी भन्ने गरिएको र ती प्रतियोगितामा सहभागी हुने खेलाडीलाई राष्ट्रिय खेलाडी भन्ने गरिएको छ। साथै राखेपले आयोजना गर्ने राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडीलाई पनि राष्ट्रिय खेलाडी भन्ने गरिएको उल्लेख गर्दै उनी संघले आयोजना गर्ने राष्ट्रिय च्याम्पियनसिपबारे विधानले केही नबोलेको दावी गर्छन्।

साग तेक्वान्दोका चार स्वर्ण विजेता दीपक विष्ट अन्तर्राष्ट्रियस्तरमा खेलाडीको वर्गिकरण राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रचलित नरहेको बताउँछन्। ‘ अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई राष्ट्रिय खेलाडी भन्ने चलन बढी सुनेको छु। राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीलाई क्षेत्रीय खेलाडी भन्ने गरेको पाइन्छ’, विष्ट भन्छन्। राखेपका एक पदाधिकारी खेलहरुको पनि वर्गिकरण हुनुपर्ने बताउँछन्।

‘नामै नसुनेका खेलहरुको विश्व च्याम्पियनसिप भयो र त्यसमा नेपालले पदक ल्यायो भने ती खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी भन्ने कि नभन्ने । किनभने नेपालमा संघ दर्ताको व्यावहारिक पाटो हेर्ने हो भने निकै कमजोर देखिन्छ’, ती अधिकारी भन्छन्।

तर अन्तर्राष्ट्रिय प्रचलनलाई हेर्ने हो भने कुनै देशको सिनियर राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेको खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी भन्ने गरेको पाइन्छ, उमेरस्तरको टोलीबाट खेलेको भए त्यस उमेरस्तरको अन्तर्राष्ट्रिय खेलाडी।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेमात्र अन्तर्राष्ट्रिय खेलाडी हुने भए, एक दशकभन्दा लामो समय लगातार राष्ट्रिय च्याम्पियन भएका र धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका स्क्वास खेलाडी हिराबहादुर थापा अनि दर्जनौँपटक राष्ट्रिय कीर्तिमान तोडेका अनि ओलम्पिक समेत खेलेका पौडीबाज शिरिष गुरुङको परिचय राष्ट्रिय खेलाडीका रुपमा मात्र सिमित हो त?

एथलेटिक्स, लन टेनिस, ब्याडमिन्टन, पौडी, सुटिङ,  स्क्वास लगायत धेरै खेलतर्फ सागमा  कास्य पदक जित्नु पनि नेपालका लागि ठुलो सफलताको विषय हुने गरेको थियो, १३ औँ सागको नतिजालाई बिर्सेर इतिहास हेर्ने हो भने।

हाल सरकारले  सागमा स्वर्ण जित्ने, एसियाडमा पदक जित्ने र ‌ओलम्पिकमा सहभागी हुने खेलाडीलाई मासिक भत्ता दिने गरेको छ।

मंसिर ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्