अण्डामा बिचौलिया हाबी, व्यवसायीको गुहार

नेपालगञ्ज – बाँके र बर्दियाका अण्डा व्यवसायीले बिचौलिया हाबी भएको भन्दै सरकारसँग अण्डाको मूल्य निर्धारण गरिदिन माग गरेका छन् । नेपाल अण्डा उत्पादक संघ बाँके र बर्दियाले सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर बिचौलियाका कारण किसान मर्कामा परेको बताएका हुन् ।

‘संघले दुई सय ७५ रुपैया प्रतिक्यारेट मूल्य कायम गरेको छ । उसले प्रतिक्यारेटमा पाँच रुपैया नाफा राखेर कारोबार गर्न सप्लायर्सलाई आग्रह गरेको छ । सप्लायर्सले किसानको घरमै गएर दुई सय ६० रुपैयाँमा प्रतिक्यारेट अण्डा उठाइरहेको छ’, संघका केन्द्रीय सदस्य एवं बाँके र बर्दियाका अध्यक्ष ललितबहादुर जिसीले भने, ‘अहिले त किसान मर्ने, बिचौलिया मालामाल हुने अवस्था आएको छ ।’

बाँके र बर्दियामा ३० जना अण्डा उत्पादक किसान छन् । दुई जिल्लामा गरेर प्रतिदिन ६० हजार अण्डा उत्पादन भइरहेको छ । यो उत्पादनले नेपालगञ्जको बजार धान्न सकिरहेको छैन । नेपालगञ्जमा मात्रै दैनिक दुई लाख अण्डाको माग रहेको व्यवसायीहरु नै बताउँछन् ।

कुखुरा पालक किसान राम्रो मुनाफा हुन नसकेपछि घट्दै गइरहेका छन् । बाँके र बर्दियामा ७२ जना किसान रहेकोमा अहिले ३० जनामा झरेका छन् । ‘कुखुरा व्यवसाय जोखिमको पेशा हो । त्यसमा पनि सरकारले मूल्य निर्धारण गरिदिएको छैन । बिचौलियाले भने अनुसारको मूल्यमा बेच्नु परिरहेको छ, केन्द्रीय सदस्य जिसीले भने, ‘एउटा कुखुरा म¥यो भने बाँके र बर्दियामा ल्याबसमेत छैन । सुर्खेत जानु पर्छ । कम्तीमा संघले तोकेको मूल्यमा कारोबार भइदिए किसानलाई अलि राहत हुन्थ्यो ।’

सीमावर्ती जिल्ला भएपनि बाँके र बर्दियामा भारतीय अण्डाको प्रभाव कम छ । भारतबाट सेतो अण्डा आउने भएकाले त्यसलाई उपभोक्ताले मन पराउदैनन् । एक त भारतीय अण्डा प्रतिबन्ध रहेको छ ।

कात्तिक २१ गतेदेखि नै किसान आन्दोलित छन् । सरकारसँग अण्डाको मूल्य निर्धारण गरिदिन माग गरिरहेका छन् । यसैक्रममा चितवनमा सप्लायर्स र किसानका बीचमा भएको झडपमा ५ जना किसानलाई प्रहरीले पक्राउ गरेको छ । संघ बाँके र बर्दियाले पक्राउ परेका किसानलाई बिना शर्त तत्काल रिहाई गर्न मागसमेत गरेको छ ।

मंसिर ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्