प्रदेश-२मा लगानी गर्दा प्रदेश सरकारसँग छलफल गर्न मन्त्री सोनलको आग्रह

जनकपुरधाम-अहिले तीन तहको सरकार रहेकोले वर्तमान अवस्थामा प्रदेशमा लगानी गर्दा संघ सरकार र लगानीकर्ताले मात्र सम्झौता गरे नहुने प्रदेश नं. २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बताएका छन्।

उनले प्रदेश २ मा लगानी गर्दा वा कुनै प्रकारको काममा प्रदेश सरकारको उपस्थिति आवश्यक रहेकोले प्रदेश सरकारलाई सामिल गराउन आग्रह गरे ।

सोमबार जनकपुरधाममा आयोजना भएको नवीकरणीय उर्जा सम्मेलनमा मन्त्री सोनलले प्रदेशमा कुनै प्रकारको लगानी गर्दा प्रदेश सरकारसँग छलफल नगरे प्रदेश सरकारलाई उक्त लगानी मान्य नहुने बताए।

प्रदेशमा लगानीको वातावरण बनाउनको लागि तीनै तहको सरकार बिच समन्वय गरी अगाडी बढ्नु आवश्यक रहेको बताए।प्रदेश २ मा सोलार उर्जाको प्रचुर सम्भावना रहेकोले प्रदेश सरकारले यसलाई आफ्नो पाइलेटींग प्रोजेक्टको रुपमा काम गर्न सक्यो भने यसले प्रदेश सरकारलाई फाईदा हुने बताए।

उनले भने, ‘होस्पिटल, कलकारखाना लगायतका ठाउँमा उर्जाको सबैभन्दा बढि खपत हुन्छ। यस्तोमा सोलार उर्जालाई प्रयोग गर्नु आवश्यक छ ।’मन्त्री सोनलले नविकरणिय उर्जाको क्षेत्रमा प्रदेश दुईमा सबैभन्दा बढि सम्भावना रहेकोले दातृ निकायलाई यहाँ लगानी गर्न अह्वान गरे।

यो प्रदेश कृषि प्रधान क्षेत्र रहेकोले सिँचाई आदिमा उर्जा क्षेत्रको विकास गर्न सकियो भने किसान यसको फाईदा सहजै लिन सकिने बताए।

मन्त्री सोनलले प्रदेश सरकार उर्जाको क्षेत्रमा कार्य गर्न साकारात्मक रहेकोले यस क्षेत्रमा बाटोमा सहज बनाउनकै लागि प्रदेशसभामा उर्जा विधेयक दर्ता गराई सकेको बताए।

मंसिर ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्