दुर्घटना कम गर्न काठमाडौँमा ट्राफिक प्रहरीले सुरु गर्‍यो उज्यालो अभियान

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ट्राफिक उज्यालो अभियान सुरु गरेको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थानलाई सहज बनाई दुर्घटना न्यूनिकरणका लागि जनचेतना फैलाउने उद्देश्लय अभियानको सुरु गरिएको हो ।

कार्यक्रम सडक प्रयोगकर्ता, पैदलयात्री, चालक–सहचालक र कलेजका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिनेछ ।

महाशाखा र माताहतका ४० एकाइबाट लक्षित समूह पहिचान गरी सञ्चालन गरिने उक्त अभियानमा अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन हुने महाशाखाले जनाएको छ ।

अभियानको शुभारम्भमा आयोजित कार्यक्रममा बोल्दै महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेन्द्र थापाले एक वर्षमा दुई हजारको संख्यामा नागरिकको ज्याने गरी दुःखद घटनाहरु घट्ने गरेको बतानउनुभयो । प्रमुख थापाले दुर्घटनाबाट २–४ जनाको मात्रै पनि जीवन बचाउन सकेमा तीस वर्षे सेवा अवधिमा पाएको तलब भत्ता भन्दा ठूलो कमाई त्यही नै हुने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नेपाल सरकार र यातायात मन्त्रालयले यातायात क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो गरे । आकाशेपुलहरु निर्माण भए पनि त्यसको प्रयोग नहुनु दुःखद भएको भन्दै उनले आकाशे पुल रमिता हेर्नका लागि मात्रै प्रयोग गर्ने गरिएको बताए ।

अखिल नेपाल मजदुर सङ्घका अध्यक्ष सोम तामाङलगायतले श्रमवजीविहरुलाई मात्रै दोष दिने काम भएको तर सरकारबाट उनीहरुका लागि सचेतनात्मक कार्यक्रम नभएको गुनासो गरे । अभियानलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उनले दुर्घटना परेपछि कानुनको पाठ सिकाउनु भन्दा पहिले नै सचेतनामुलक कार्यक्रम हुनुपर्ने बताए ।

उच्च माध्यामिक विद्यालय सङ्घका कार्यवाहक अध्यक्ष युुवराज शर्माले प्रविधिको प्रयोगले दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने बताउँदै शैक्षिक क्षेत्रबाट कार्यक्रममा सम्पूर्ण सहयोग हुने प्रतिवद्धता जनाए । ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुर्‍याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो अभियान सुरु गरेको हो ।

पुस १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्