'गोल्डमेडलिस्ट सन्तोषीको कीर्तिमानी यात्रा- १'

त्यो सानो ट्रफीले अहिले पनि कहाँ-कहाँ पुर्‍याउँछ… ‍

त्यो सानो ट्रफीले अहिले पनि कहाँ-कहाँ पुर्‍याउँछ… ‍

‘तिमीले के सोचिराको छौ, जिन्दगीका बारेमा? तिमीले आफ्नो अनुहार कहिले हेरेकी छौ? कागती निचोरेको जस्तो भएको छ। अनुहार चाउरिसकेको छ। हेल्थको विद्यार्थी हेल्थ बिगारेर के गर्न खोज्दै छौ? ७० हजार तलबको अफर पनि रिजेक्ट गर्छौ भने  तिमीले करियरका बारेमा के सोचेकी छौ?’

उनी आफू काम गरिरहेको संस्थाका हाकिम र पढिरहेको कलेजका शिक्षक मात्र थिएनन्, सन्तोषी श्रेष्ठलाई हरेक रोड रेसमा प्रतिस्पर्धा गर्न जाऊ भनेर हौसला दिइरहने अभिभावक जस्तै पनि थिए। सन्तोषी यसपटक अक्क न बक्क थिइन्। उनलाई आफैँलाई पनि लाग्न थालेको थियो- यो अनुहार मेरो हो र!

फेरि प्रश्न आयो- तिमीलाई दौडिएर खान पुग्छ?

परिवारलाई पैसा दिइरहेकी सन्तोषी अब उल्टै पैसा माग्न थालिसकेकी थिइन्।

सन्तोषी पुन: अक्क न बक्क भइन्। लामो सास तानेर जवाफ फर्काइन्- दौडँदा खाएको पच्छ, पच्यो भने सन्तुष्टि मिल्छ, म खुशी हुन्छु।

सन्तोषीलाई अहिले पनि नराम्रो लाग्दैन, उनका हाकिमले ठिकै भनेका थिए। हरेक महिना ४० हजार तलब आइरहेको जागिर चटक्कै छाडेर देशका  लागि दौडने सपना देख्नु बाहिरी दुनियाँका लागि अनौठो थियो।

धादिङको सामान्य परिवारमा जन्मिएकी सन्तोषी परिवारकी एक्ली छोरी थिइन्। बुबा आर्मी, आमा गृहिणी अनि दाजु र भाइ दुई जना। माओवादी द्वन्द्वका कारण ८ वर्षकै उमेरमा उनी पढ्न काठमाडौँ आउनु पर्‍यो। एउटा सानो कोठामा दाइभाइलाई स्याहारेर पढ्न सजिलो थिएन। तर उनी अध्ययनमा अब्बल थिइन्।

दु:खबीच नै एसएलसी पास गरिन्, प्लस टुमा साइन्स पढिन्। पब्लिक हेल्थमा ब्याचलर गर्दागर्दै एउटा गैह्रसरकारी संस्थामा रिसर्च अफिसरका रुपमा जागिर सुरु गरिन्।

साथीहरु कहिलेकाहिँ भन्थे- तिमी हिजो साँझ किन त्यहाँ एक्लै दौडिरहेको?

बिहान हुनुअघि र रात परेपछि रानीबारी र स्वयम्भू कतिपटक परिक्रमा लगाउँथिइन्, उनलाई आफैँलाई थाहा छैन।

सँगै दौडिएका चर्चित राष्ट्रिय खेलाडीहरु तब चकित पर्थे, जब विना विभाग (आर्मी, पुलिस र एपीएफ) अनि कतै प्रशिक्षण गरेको नदेखिएकी सन्तोषीले आफूलाई टक्कर दिन्थिन्।

‘यो सन्तोषीले पक्कै राम्रो ठाउँ र राम्रो गुरुसँग प्रशिक्षण गर्छे’, नाम चलेका खेलाडीहरुको कुरा सुनेर सन्तोषी मनमनै हाँस्थिन्।

तर सन्तोषीका लागि सडक ‘सबथाेक’ थियो। फुर्सद हुने बित्तिकै सडकमा निस्किहाल्थिन्, अनि दुनियाँले के भन्छ नभनी सडक नाप्न थाल्थिन्। सडकले उनको साना साना रहर पुरा गरेका थिए-  राम्रो जुत्ता लगाउने, राम्रो कपडा लगाउने, सार्वजनिक गाडी चढ्ने अनि बिस्तारै हवाइजहान पनि।

‘मिहेनतअनुसार फल भयो भने सबैभन्दा धेरै खुशी र सन्तुष्टि त्यसैमा हुने रहेछ’, सन्तोषी भन्छिन्। सडक र जागिर छाडेर रंगशालामा तयारी गर्न थालेको एक वर्षपछि सन्तोषीले १३ औँ दक्षिण एसियाली खेलकुदको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेर नेपाली महिला एथलेटिक्समा इतिहास रचेकी छिन्। यसअघि साग एथलेटिक्समा  नेपाली महिला खेलाडीले स्वर्ण पदक जित्न सकेका थिएनन्। साग सम्पन्न नहुँदै उनी फेरि नियमित प्रशिक्षणमा फर्किसकेकी छिन्।

‘पढ्ने र जागिर खाने उमेर त मसँग अझै छ तर पछि दौडन्छु भन्दा गाह्रो हुन्छ’, अनुहारमा मुजा पार्दै सन्तोषी मुस्कुराइन्।

भन्छिन्- जब बुढेसकाल लाग्छ, त्यतिबेला साथ दिने भनेकै बितेका पलहरुले हो। म चाहन्छु- विगत सम्झँदा मेरो मन मुस्कुराउन सकोस् अरुलाई सुनाउँदा खुशी अझ बढोस्।

अब सन्तोषीको यात्रा उनकै शब्दमा…

म असाध्यै फटपटे। यताउता गरिरहनु पर्ने। कतै जानुपरे कुद्नुपर्ने, दौडनु पर्ने। हजुरबा, आमा गाली गरिरहनु हुन्थ्यो- केटी मान्छे भएर बिस्तारै हिँड्नुपर्छ, के हिँडेको ड्याङ-ड्याङ गरेर भन्नुहुन्थ्यो। पहाडको बाटो, लड्छे कि भन्ने चिन्ता पनि लाग्थ्यो हाेला!

तर म बिस्तारै हिँड्ने भनेको टेन्सन र दु:खी भएको बेला मात्र हुन्थ्यो। खुशी भएको बेला त मलाई बिस्तारै हिँड्नै आउँदैन थियो। ‘यो लेर आऊ’ भन्दा फुत्त-फुत्त! छरितो भएकाले होला, काम पनि सबैले मलाई नै बढी लगाउने। छन त मभन्दा १९ महिना सानो भाइ पनि घरमा थियो तर उसलाई जे काम लगाए पनि त्यसमा घोत्लिरहने अनि ढिला हुने।

म भने जे काम गर्‍यो त्यसैमा फोकस हुन्थेँ। हाम्रो घर गहिरामा थियो। माथि डाँडामा आमाले पसल  चलाउने। पसलमा सामान लिन गइरहनु पर्ने। मान्छेहरुका माझ हजुरआमा फुर्क्याउँदै भन्नु हुन्थ्यो- मेरी नातिनी चराजस्तै छ, कहाँ अरुको जस्तो हिँडेर जान्छ उत उडेर जान्छ, उडेर आउँछ। मलाई त्यतिले पुगि हाल्थ्यो- अरुलाई देखाउन भए पनि सबैभन्दा अगाडि पसल मै पुग्थेँ। चाँडोचाँडो सामान मागेर दौडँदै घर आइपुग्थेँ। भारी झोला बोकेर उकालो ओरालो गर्नु सजिलो थिएन।

आधा घन्टाको पैदल दुरीमा मैले पढ्ने बोर्डिङ स्कुल थियो। कक्षामा म क्याप्टेन थिएँ। स्कूल जाँदा जहिल्यै ढिला पुग्ने तर क्याप्टेन भएकाले म अगाडि पुग्नै पर्थ्यो। ढिला हुने डरले दौडनु पर्थ्यो प्राय:।

मेरो स्वभाव नै बसिसकेको थियो- सँगै हिँडेकामध्ये आफू सबैभन्दा अगाडि हुनुपर्ने। अहिले, कहिलेकाहिँ लाग्छ- ६/७ वर्षीया बालिकामा त्यस्तो सोच केले ल्याएको थियो होला।

माओवादी द्वन्द्वको समय थियो। पढिरहेको बोर्डिङ स्कूल बन्द भयो। सरकारी स्कूलमा पढाइ नै नहुने। केही वर्षअघि नै दाइ काठमाडौँ आइसक्नु भएको थियो। म ८ वर्षको थिएँ, भाई ६ वर्षको। सुनेको थिएँ- दाई काठमाडौँ आउनु हुँदा उहाँको उमेर ८ वर्षको थियो।

काठमाडौँमा अंकल हुनुहुन्थ्यो। उहाँको पसल थियो। आमा भन्नुहुन्थ्यो- दाइले अंकललाई काममा सघाउँछ, साँझको समयमा दाइले फुटपाथमा सामानहरु बेच्छ।

गाउँमा पढाइ राम्रो नभएपछि मलाई परिवारले दाइको पछाडि लगाएर काठमाडौँ पठाउने निर्णय गर्‍यो। दाइले स्वयम्भूमा कोठा लिनु भएको रहेछ। नजिकै बुवाले शान्ति सेनामा जाँदा ल्याएको पैसाले जोडेको थोरै जग्गा थियो। मलाई स्थानीय सरकारी स्कूल गीतामातामा भर्ना गरियो। लगत्तै भाइ पनि काठमाडौँ आयो।

त्यहाँ त,  एउटै कक्षामा सयजना भन्दा बढी विद्यार्थी हुने। एकदमै अनौठो लाग्थ्यो। घरको याद पनि एकदमै आउने। बिदा हुने वित्तिकै घर गइहाल्थेँ। एउटी छोरी भएर पनि मैले घरको काम पुरा गर्थेँ, खेतबारीमा लाग्थेँ। गाउँका मान्छेहरु भन्थे- यो त काठमाडौँ पनि बसेकी हैन कि के हो !

स्वर्ण पदकका साथमा सन्तोषी श्रेष्ठ । तस्बिर : बर्षा शाह/देश सञ्चार

हुन पनि मलाई काठमाडौँ बसिरहेकी छु जस्तो कहिल्यै लागेन। काठमाडौँको बसाइ सजिलो पनि थिएन। घरको सबै काम गर्नुपर्ने, लाइन लागेर पानी भर्नुपर्ने, छिमेकीको इनारमा गएर पानी ल्याउनुपर्ने, दाजुभाइको कपडा धुनुपर्ने, नजिकैको जग्गामा लगाएको तरकारीबारीको पनि रेखदेख गर्नुपर्ने। आम्मामा ! भ्याइनभ्याइ हुन्थ्यो।

हुन त, हामी दिदी भाइका लागि आमाबुवाको भूमिका दाइले गर्नु भएको थियो तर सँगसँगै मैले आमाबुवाको भूमिका दाइभाइका लागि गर्नु पर्थ्यो। दाजुभाइले खाए-खाएनन्– देखि उनीहरुको कपडा सफा छ छैनसम्म ख्याल गर्नुपर्ने। म ९/१० वर्षको न थिएँ। आमाबुवाले मलाई हेर्नुपर्ने उमेर। तर एक्लै भएपछि छोरी मान्छेको स्वभाव देखिहाल्ने रैछ। परिस्थिति त्यस्तै भएर पनि हुन सक्छ, मलाई यी काममा कहिले झिजो लागेन।

फुर्सदको समय पढाइमा दिनुपर्ने अवस्था थियो। तर मेरो पढाइ कमजोर थिएन। विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि दोस्रो, तेस्रो हुन्थेँ। प्राय कविता, कथा, हाजिरीजवाफ, वक्तृत्वकला प्रतियोगिता भइरहन्थे। खेलकुदका प्रतियोगिता भएको मलाई थाहा थिएन। खर्च कम हुने भएर कविता, कथा, हाजिरीजवाफ, वक्तृत्वकला बढी हुन्थ्यो कि!

म ६ कक्षामा पढ्दै थिएँ, नेपाल टेलिभिजनबाट प्रसारण हुने नेपाली तारा-गायन प्रतियोगिता खुबै चर्चित थियो। हाम्रो स्कूलमा कविता, कथा, हाजिरीजवाफ, वक्तृत्वकला, खेलकुदलगायत समावेश गरेर ‘गीतामाता स्टार’ आयोजना भयो। तर यसपटक प्रथम हुनेलाई मात्र पुरस्कार दिइने भनियो।

हाम्रो कक्षाका विद्यार्थीले निमाविस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने। त्यो उमेर नै त्यस्तै हो कि, हरेकमा प्रतिस्पर्धा गर्न मन लाग्ने। अरुमा त मसँग मेरा साथीहरु डराउँथे, सिनियरसँग प्रतिस्पर्धा गर्दा नै दोस्रो-तेस्रो हुन्थेँ तर खेलकुद मेरा लागि नयाँ विषय थियो। खेलकुदमा साथीहरुले नाम टिपाउने थाले। एकले अर्कोलाई उचाल्न थाले। म पनि के कम, खेलकुदमा पनि नाम टिपाएँ।

सरले खेलकुदमा सहभागी हुनेले अनिवार्य जुत्ता लगाउनु पर्ने भन्नु भयो। मलाई बुवाले किनिदिएको जुत्ता सानो भएर खुट्टामा घाउ हुन थालेको थियो। यो जुत्ता लगाएर दौडन सम्भव थिएन। अर्को जुत्ता किन्दिने त भन्नु भएको थियो तर कहिले आउने हो निश्चित थिएन। बरु राम्रो नम्बर ल्याएमा च्यारच्यारे सेन्डल किनिदिने वाचा भने पूरा गर्नु भएको थियो मेरो र भाइ दुवैको।

विष्णुमतिको किनारमा दौडनुपर्ने रहेछ। ओहो ! मान्छेका अगाडि कसरी दौडनु।  सुन्दैमा लाजले रातो पिरो भइयो। केटी साथीहरु त धमाधम नाम काट्न पो थाले। त्यत्रोले नाम टिपाएकामा ९/१० जना मात्र बाँकी भएछन्।

म्याथ टिचरले आएर भन्नुभयो-जजसले नाम कटाएको छ उसले २ सय रुपैयाँ फाइन तिर्नुपर्छ।

स्वर्ण पदकका साथमा सन्तोषी श्रेष्ठ । तस्बिर : बर्षा शाह/देश सञ्चार

म्याथ टिचरदेखि यसै पनि डर लाग्ने अझ त्यसो भनेपछि सबैको सातो गयो। त्यत्रो २ सय रुपैयाँ कहाँबाट ल्याउनु! दसैँ तिहारको समय परेकाले दाइ विदामा घर जानु भएको थियो। घरको कामले गर्दा उहाँ लामै समय गाउँतिर अड्किनु भएको थियो।  म र भाइ मात्र कोठामा थियौँ।

मलाई बुवाले खाजाका लागि दैनिक २ रुपैयाँ दिनु हुन्थ्यो। घरबाट आउँदा दाइले ३० रुपैयाँ दिनु भएको थियो। सामानहरु खासै किन्नु पर्दैन थियो कोठामा। मसँग खर्च भएर बचेको १० रुपैयाँ थियो। २ सय रुपैयाँ कहाँबाट जम्मा गर्नु!

हुन त दाइले केही पर्‍यो भने अजी (घरबेटी) सँग माग्नु भन्नु भएको थियो तर के भनेर माग्ने। नाम कटाउन पैसा दिनु न कसरी भन्नु? ‘फी’ तिर्नका लागि भन्दा पो बोली पनि फुट्ने। भाइले त ‘तँ नखेल, सक्दिनस्’ भनेकै थियो। भाइ फुटबलमा राम्रो थियो। उसले दौडमा पनि भाग लिएको थियो।

मैले जसरी पनि खेल्नुको विकल्प भएन। अब म नाम कटाउँछु भनेर तम्सिने अरुलाई फकाउन थालेँ। साथीहरु फाइन तिरेर नखेल्ने अनि म चाहिँ फाइन तिर्न नसकेर खेल्नेभन्दा आफैलाई पनि कस्तो कस्तो भयो। साथीहरु खेल्न तयार हुँदै गए। ४०/५० जना भए प्रतिस्पर्धा गर्ने। भाइको ट्रयाक थियो त्यही लगाएँ। दसैँमा किनेको टिसर्ट र च्यारच्यारे स्यान्डल लगाएर दौडन कस्सिएँ। दायाँ बायाँ कसैलाई पनि हेरिन। मात्र दौडिरहेँ, कस्सिएर। म त पहिलो पो भएछु। ओहो! करैले खेलेर पनि पहिलो भएँ।

दुर्भाग्य, मेडल जित्छु भनेको भाइ चाहिँ पाँचौँ भएछ। दौडँदा साथी लड्यो भनेर उठाएर बसेछ। म त्यसबेला वादविवाद र हाजिरीजवाफमा दोस्रो भएको थिएँ। कविता, निबन्ध र वक्तृत्वकलामा तेस्रो। पुरस्कार थाप्न जाँदा क्लास टिचरलाई लिएर जानु पर्थ्यो। कक्षा ६ बाट ममात्र प्रथम भएको थिएँ। म नदौडिएको भए त पुरस्कार वितरणमा मेरो कक्षाको नामै पो नआउने रैछ!

सधैँ पुरस्कार बापत कापी कलम पाइरहेको मेरो गलामा यसपटक मेडल अनि हातमा सानो ट्रफी थियो। मेडल र ट्रफी भन्ने बित्तिकै त्यसको महत्वै छुट्टै हुने। बस्, म दौडिएर जितेँ भन्दा पनि मैले पनि मेडल र ट्रफी पाएँ भन्नेमा ठूलो गर्व भयो।

त्यो सानो ट्रफी अझै पनि मसँग छ। जब हेर्छु- कहाँ कहाँ हराउँछु।

भिडियो हेर्नुहोस्:

(नेपालमा हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुल–सागमा १० हजार मिटर दौडमा महिलातर्फ स्वर्ण पदक जितेकी सन्तोषी श्रेष्ठसँग देश सञ्चारका लोकेन्द्र प्रसाईले विस्तृत कुराकानी गरेर ‘गोल्डमेडलिस्ट सन्तोषीको कीर्तिमानी यात्रा’ शृङ्खला तयार पारेका छन्। यो पहिलो  भाग हो। सन्तोषीका बाँकी कथाहरु क्रमशः प्रस्तुत गर्दै जाने छौँ ।)

पुस २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्