नेपालमा आप्रवासन समस्या व्यवस्थित पार्न आइओएमको २४ बुँदे सुझाव

काठमाडौँ – नेपालमा बढ्दै गएको आप्रवासन समस्यालाई व्यवस्थित तथा कम गर्न अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)ले २४ बुँदे सुझाव दिएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा बुधबार काठमाडौँमा एक कार्यक्रम गरि आइओएमले नेपालको आप्रवासन समस्या सम्बन्धी २०१९ को प्रतिवेदन सार्वजनिक गर्दै २४ बुँदे सुझाव दिएको हो । उक्त प्रतिवेदन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सार्वजनिक गरेका हुन् ।

उक्त प्रतिवेदनले आप्रवास सम्बन्धी प्रशासनका लागि सम्बद्ध सबै तहमा राष्ट्रिय समन्वय संरचनाको स्थापना गर्नुपर्ने, वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाको लागि बनाइएका कानूनहरुको पूर्ण कार्यान्वयन र अनुगमन गर्नुपर्ने, कानूनी प्रकृयालाई सरल बनाउनुपर्ने, गन्तव्य मुलुकसँग द्धिपक्षीय सम्झौताहरु विस्तार गर्दै जाने तथा घरेलु कामदारका रुपमा गएकाहरुको अनुगमन बढाउनुपर्ने लगायतका सुझाव दिएको छ ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले आप्रवासी समस्यालाई व्यवस्थित गर्न सरकारले नीतिगत सुधारमा विशेष ध्यान दिएको बताए । उनले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई सीप, ज्ञान, भाषा लगायतका विषयमा दक्ष बनाउन कल्याणकारी कामहरु गर्दै आएको समेत बताए ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर अन्तराष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले नेपाल सहित ८१ वटा देशको अप्रवासन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

पुस २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्