सूचना प्रविधिको कुम्भ मेला ‘क्‍यान इन्फोटेक २०२०’ फागुन २ गते हुने

काठमाडौँ-सूचना प्रविधिको कुम्भ मेला ‘क्यान इन्फोटेक २०२०’ यसपटक फागुन २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको भएको छ।

बुधबार कम्‍युटर एशोसिएशन अफ नेपाल क्‍यान महासंघले पत्रकार सम्‍मेलन गरी यसपटकको २६औ संस्करणको क्‍यान मेला आयोजना गर्न लागिएको क्‍यान महासंघका महासचिव नारायण थापाले जानकारी दिए।

उनले भने, ‘ यस पटकको सूचना प्रविधिको कुम्भ मेला आउँदो फागुन २ गते भृकुटीमण्डपमा आयोजना गर्दैछौ। साथै उपत्यका बाहिर सातै प्रदेशमा पनि हामीले सूचना प्रविधिको पहुँच र प्रयोगलाई प्रदर्शनी मेलाको आयोजना गरेर नयाँ नयाँ प्रविधिको जानकारी दिनेछौ।’

उनका अनुसार क्‍यान इन्फोटेक मेला प्रदेश-१ को इटहरी, प्रदेश न. २ को विरगञ्‍ज, प्रदेश-३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरश्चिम प्रदेशको धनगढीमा पनि आयोजना गर्ने बताए। तर कुन महिनामा गर्ने भन्‍ने बारेमा केही खुलाएनन्।

यस्तै २६औँ क्यान इन्फोटक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको मुख्य प्रायोजन प्रभु पे, अफिसियल इन्सोरेन्स–प्रभु इन्सोरेन्स तथा टिकट पार्टनरमा ई–पे रहेको छ भने लर्ड बुद्ध, एजुकेशन फाउण्डेशन, वर्ल्ड लिङक, लगायतका सिल्भर प्रायोजन रहेको महासंघले जानकारी दिएको छ।

पत्रकार सम्‍मेलनमा प्रभु पे र क्यानबीच नयाँ टाइटल स्पोन्सर सम्बन्धी सम्झौता भएको छ भने लडबुद्ध र क्यानबीच छात्रवृति प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गर्न लागेको क्यानका अध्यक्ष नवराज कुँवरले जानकारी दिए।

उनले भने, ‘सूचना प्रविधिमा २७ वर्षदेखि क्‍यानले सरकार, जनता र आम सरोकारवालाहरुलाई सूसुचित र नयाँ नयाँ प्रविधिको बारेमा जानकारी दिदै आएको छ। यो वर्ष पनि हामी यसैलाई निरन्तरता दिँदैछौ।’

उनले क्‍यान महासंघले सरकारी र नीजी दुवै सरोकारका संस्थाहरुलाई सहकार्य गर्दै प्रविधिमा पहुँच र प्रयोग बढाउन सधैँ लागि पर्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै प्रदर्शनीमा चार लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने महासंघले अपेक्षा गरेको छ।

उक्त मेलामा अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरेटि सोलुशन, सोलार पावर ष्टिम, ईन्भर्टर, युपीइस, ल्यापटप तथा डेस्कटप कम्प्यूटर, प्रिण्टर, पावर सिष्टम लगायतका विभिन्न प्रविधि प्रदर्शनीमा रहनेछन्।

यसैगरी आर्टी फिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल प्रदर्शनीमा रहने छन्।

क्यान इन्फोटेकका लागि  पुस ६ गते देखि अनलाईन बुकिङ्ग समेत खुल्ला हुने महासंघले जनाएको छ।

पुस २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्