ट्रम्पमाथि लाग्यो महाअभियोग

महाअभियोग लाग्ने तेस्रो अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम औपचारिक रुपमा शायदै कसैले पनि नचाहने सूचिमा लेखिएको छ र अब उपरान्त यो उनको परिचयको बलियो हिस्सा बनेको छ, कि उनीमाथि औपचारिक रुपमा महाअभियोग लाग्यो ।

अमेरिकाको इतिहासमा औपचारिक रुपमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् र उनी पहिलो कार्यकालमै महाअभियोग लाग्ने पहिलो राष्ट्रपति पनि ।

अमेरिकाको इतिहासमा योसँगै चार पटक महाअभियोग लगाउने बारे अनुसन्धान भएको छ । महाअभियोगको सम्बन्धमा अनुसन्धान भइरहेकै बेला रिचार्ड निक्सले राजीनामा दिएका थिए, जसका कारण उनीमाथिको महाअभियोग प्रस्तावले औपचारिक रुप लिन पाएको थिएन ।

ट्रम्प भन्दाअघि महाअभियोग लागेका अमेरिकी राष्ट्रपतिहरु हुन्, बिल क्लिन्ट र एन्ड्रयु जोनसन ।

एन्ड्रयु जोनसन

अमेरिकाका १७ औँ राष्ट्रपति जोनसनले सन् १८६५ देखि १८६९ सम्म राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए । डेमोक्र्याट उनीमाथि सन् १८६७ मा महाअभियोग लागेको थियो । तर उनी राष्ट्रपतिबाट बर्खास्त भने भएनन्, किनकी सदनबाट सो प्रस्ताव पारित हुन सकेन ।

यस्तै अमेरिकाका ४२ औँ राष्ट्रपति बिल क्लिन्टनमाथि पनि महाअभियोग लागेको थियो । सन् १९९३ देखि २००१ सम्म राष्ट्रपति रहेका उनीमाथि ह्वाइट हाउसकी पूर्व इन्टर्न मोनिका लेविन्स्कीसँग प्रेम सम्बन्ध कायम गरेको आरोपमा महाभियोग लागेको थियो ।

बिल क्लिन्टन

डेमोक्र्याट क्लिन्टनमाथि तल्लो सदनले सन् १९९८ को डिसेम्बर १९ मा महाभियोग लगाएको थियो । महाभियोगको पक्षमा २२८ तथा विपक्षमा २०६ मत परेको थियो । तर माथिल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित भएको थिएन र उनी राष्ट्रपतिबाट बर्खास्त भएनन् ।

त्यसअघि अमेरिकाका ३७ औँ राष्ट्रपति रिचार्ड निक्सनमाथि महाभियोग लगाउने सम्बन्धमा अनुसन्धान भएको थियो । वाटरगेट काण्डमा महाभियोग लगाउने बारे अनुसन्धान जारी रहेका बेला उनले राजीनामा दिएका थिए । उनीमाथि औपचारिक रुपमा महाअभियोग लाग्न पाएन ।
सन् १९६९ को जनवरी २० मा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका उनले सन् १९७४ को अगस्टमा ९ मा राजीनामा दिएका थिए ।

रिचार्ड निक्सन

ट्रम्प अमेरिकी इतिहासमा महाभियोग औपचारिक रुपमा लाग्ने तेस्रो राष्ट्रपति बनेका छन् । ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो ।

शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो । तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडमा रहेकी तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद हुन् ।

सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् ।
यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ । यो अभियोगको पक्षमा २२९ तथा विपक्षमा १९८ मत परेको हो ।

यसमा तीन डेमोक्र्याटले विपक्षमा मत दिएका हुन् । तीन सांसदले मत दिएनन् भने तुलसी गाबरले यसमा पनि पक्ष वा विपक्षमा मत दिइनन् । सभामुख पेलोसीले मतदान सकिए लगत्तै दोस्रो अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्तावमा नेपाली समय अनुसार बुधबार बेलुका सुरु भएको छलफल बिहीबार बिहान सम्पन्न भएको हो । छलफल सकिएपछि मतदान भएको हो ।

ट्रम्पमाथिको महाअभियोगबारे माथिल्लो सदन सिनेटमा बहस हुनेछ । माथिल्लो सदनमा रिपब्लिकनको बहुमत रहेको छ ।

सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।

राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।

जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ।

पुस ३, २०७६ मा प्रकाशित