डढेलोका कारण अस्ट्रेलियाको न्यूसाउथ वेल्समा आपतकालीन अवस्था

सिड्नी – अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिन्ले बिहीबारदेखि आगामी सात दिनसम्मका लागि शंकटकाल घोषणा गरेकी छन् । उनले ‘आरएफएस’ अर्थात रुरल फायर सर्भिसका कमिश्नर सेन फिटजेराल्डको सुझावपछि एक प्रेस कन्फरेन्समार्फत् शंकटकाल घोषणा गरेकी हुन् ।

अस्ट्रेलियामा डढेलो लाग्ने मौसमको सुरुवातपछि शंकटकाल घोषणा गरिएको यो दोश्रोपटक हो । उग्र गर्मीले न्यूसाउथवेल्स राज्यभर अहिले सयवटाभन्दा बढी डढेलो लागिरहेको र आगामी सातासम्म तापक्रम उच्च रहनाले स्थानीय समुदायलाई त्यसका लागि तयार रहन आग्रह गरिएको छ ।

शंकटकाल घोषणापश्चात रुरल फायर सर्भिस कमिस्नरलाई केही अतिरिक्त शक्ति प्राप्त हुनेछ जसले न्यूसाउथवेल्स राज्यका कार्यहरूलाई अवरुद्ध गर्न, अतिरिक्त सरकारी साधनश्रोत उपलब्ध गराउन, बाटो बन्द गर्न तथा आवतजावत गर्न लगायतका थप निर्णय लिने शक्ति प्रदान गर्नेछ ।

रुरल फायर सर्भिसले बिहीबारका लागि न्यूसाउथवेल्स राज्यका ग्रेटर सिड्नी, इलावारा, सोलहेभन र साउदर्न रेञ्जेज क्षेत्रलाई डढेलोको खतरा रहेको क्षेत्र घोषणा समेत गरेको छ ।

प्रिमियर बेरिजिक्लन्ले उच्च तापक्रमका साथै १०० किलोमिटर प्रतिघण्टा भन्दा बढी रफ्तारको हावा चल्ने अनुमानले गर्दा डढेलोको खतरा अझ बढ्ने संकेत रहेको हुनाले सबैलाई शतर्क रहन आग्रह गरिन् । उनले भनिन् , “आगामी केही दिन डढेलोका लागि अप्रत्यासित स्थिति हुनेछ ।”

आरएफएसका कमिस्नर सेन फिटजेराल्डले हावाहुरीका कारण डढेलो अप्रत्याशित र अनियन्त्रित हुन सक्ने खतरा रहन्छ । उनले भने, “न्यूसाउथवेल्स राज्यमा तातो हावा बिहीबारदेखि चल्न थालेको छ र आइतबारसम्म यो अवस्था अझै भयावह हुने सम्भावना छ ।”

न्यूसाउथवेल्स राज्यभर गत मंगलबारदेखि ‘टोटल फायर ब्यान’ घोषणा गरिएको छ जुन आगामी शनिबार मध्यरातसम्म कायम रहनेछ । टोटल फायर ब्यान अवधिभर खुला क्षेत्रमा आगो बाल्नु अथवा आगो लाग्ने सम्भावना रहेका कुनै पनि गतिविधि गर्न निषेध गरिन्छ ।

अस्ट्रेलियाको मौसम विभागले गत मंगलबार ४०.९ डिग्री सेल्सियसका तापक्रमका साथ अस्ट्रेलियाको इतिहासमा सबैभन्दा बढी औसत गर्मी दिन घोषणा गरेको थियो । त्यस दिन मध्य–अस्ट्रेलियाको केही क्षेत्रमा ४५ डिग्री सम्मको तापक्रम मापन गरिएको मौसम विभागले जनाएको छ ।

न्यूसाउथवेल्स राज्यमा अहिले लागेका डढेलोमध्ये आधाजति अनियन्त्रित डढेलो रहेको पनि रुरल फायर सर्भिसले जनाएको छ ।

पुस ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्