
नेपालगञ्ज – नेपाल भ्रमण वर्ष २०२० का लागि भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निमन्त्रणा दिन जाने तयारी भएको छ ।
‘युपीका मुख्यमन्त्री योगीलाई नेपालगञ्जको बागेश्वरीदेखि स्वर्गद्वारीसम्म लैजाने गरी बोलाउँछौँ, जिल्ला स्तरीय पर्यटन प्रवर्द्धन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले भने, मुख्यमन्त्री योगी आउनु हुन्छ भन्ने विश्वास छ ।’
मुख्यमन्त्री हुनुअघि योगी नेपालगञ्ज आइरहनु हुन्थ्यो । बागेश्वरी मन्दिरप्रति उनको विशेष लगाव छ । नेपालबाट युपीमा जाने जुनसुकै टोलीलाई मुख्यमन्त्री योगीले बागेश्वरी मन्दिरको चर्चा गर्ने गर्दछन् ।
भ्रमण वर्षमा भारतीय पर्यटक बढाउन बाँकेबाट एउटा टोली भारतीय शहरमा निम्तो दिन थालेको हो ।
भ्रमण वर्षको पहिलो दिन बाँकेमा दुई हजार २० जना पर्यटक भित्र्याउने गृहकार्य थालिएको छ । जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तव संयोजकत्वमा रहेको समितिले लखनऊलगायतका शहरमा गएर नेपाल भ्रमणमा वर्षमा नेपाल घुम्न आइदिन आग्रह गर्दै ‘विशेष प्याकेज’ का बारेमा जानकारी गराउने तयारी गरेको हो ।
२७ सदस्यीय मूल समिति र पाँचवटा उपसमिति बनाएको समितिले फस्ट जनवरीमा बाँके आउने पाहुनालाई विशेष छुटको प्याकेज अघि सारेको छ । समितिका सदस्य एवं होटल व्यवसायी संघ, बाँकेका अध्यक्ष भीम कँडेलका अनुसार, भ्रमण वर्षको पहिलो दिन दुई हजार बीस रुपैया भारुमा एक दिनको खाना बस्ने व्यवस्था गरिएको छ ।
बाघको लागि उपयुक्त मानिएको बाँके राष्ट्रिय निकुञ्ज, हिन्दुहरुको लागि ऐतिहासिक महत्व बोकेको बागेश्वरी मन्दिरलगायतको बजारीकरण गरेर भारतीय पाहुनालाई बोलाउने रणनीति बनाइएको छ । जिल्ला समन्वय समितिले जिल्लाका आठ वटा पालिकाका कम्तीमा एक–एक वटा पर्यटकीय स्थललाई समेटेर ब्रसर निकालेको छ । भारत जाने टोलीले त्यो लिएर जानेछन् । ‘भारतमा गएर हामीले बाघ र बागेश्वरी मन्दिरको चर्चा गर्नेछौँ’, समितिका सदस्य केशव न्यौपानेले भने, ‘पर्यटकलाई कम्तीमा एक–दुई दिन बस्ने गरी प्याकेज दिने तयारी गरेका छौँ ।’
भारतीय पर्यटकहरु नेपालगञ्ज हुँदै मानसरोबर जाने गर्दछन् । भ्रमण वर्षमा बाँकेमा धेरै पर्यटक ल्याउन जिल्ला समितिले विशेष पहलको तयारी गरेको छ । नेपाल भ्रमण वर्षका लागि प्रदेश सरकारले जिल्लामा चार लाख रुपैयाँ पठाइदिएको छ ।
भ्रमण वर्षलाई लक्षित गरेर नेपालगञ्ज–पोखरा उडानको पहल भइरहेको छ । नेपालगञ्जबाट काठमाडौँ गएर एउटा टोलीले यो विषयमा पर्यटनमन्त्री योगेश भट्टराईसँग कुरा गरिसकेको छ । ‘पर्यटन मन्त्री भट्टराई सकारात्मक हुनुहुन्छ । नेपालगञ्ज–पोखरा उडान हुन्छ ।’, होटल व्यवसायी संघ, बाँकेका अध्यक्ष कँडेलले भने, ‘भ्रमण वर्षदेखि बागेश्वरी मन्दिरमा आरतीको पनि कुरा भएको छ ।’
भ्रमण वर्षको उद्घाटन डिसेम्बर ३१ मा हुनेछ । मुख्यमन्त्री शंकर पोखरेलले गर्ने तय भएको छ । यो दिन विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ ।