गोल्डमेडलिस्ट सन्तोषीको कीर्तिमानी यात्रा- २

अनि मैले तसलिमा नसरिनलाई लभलेटर लेखेँ

अनि मैले तसलिमा नसरिनलाई लभलेटर लेखेँ

त्यतिबेला गितामाता स्कुलमा एउटा कक्षाको विद्यार्थीले अर्को कक्षाको विधार्थीलाई चिन्नु भनेको सेलिब्रेटी भएसरह हुन्थ्यो। स्कुलमै त्यतिधेरै विद्यार्थी। छुट्टि भएपछि निस्कने बेलामा यति गाह्रो हुन्थ्यो की भिडबाट चेपिँदै छिर्नुपर्ने।

बाटोमै टाँसिएको स्कुल, खेल्ने मैदान थिएन। हामी विद्यालयबाट बाहिर हाजिरी जवाफ, वक्तित्वकला प्रतियोगितामा भाग लिन जान थालिसकेको थियौँ। तर ती प्रतियोगितामा भाग लिनेभन्दा पनि जाँदा गाडी चढ्न पाइने कुराले बढी ‘एक्साइटेड’ बनाउँथ्यो। कहिले काहीँ हिँडाएरै पनि लैजान्थ्यो स्कुलले, त्यतिबेला खिन्न लाग्थ्यो। किनभने ती प्रतियोगितामा हाम्रो खुसी भनेकै जाँदा गाडी चढ्न पाइनेमा थियो।

प्रतियोगितामा हामी केही हुन सक्दिन थियौँ त्यसैले स्कुलका अरु विद्यार्थीलाई हामी गएको आएको पत्तै हुँदैन थियो। नजिकै स्कुल भएकाले म टिफिन हुने वित्तिकै खुरुर् कुदेर घर आइहाल्थेँ। साथीहरुसँग पैसा हुन्थ्यो, खाजा  किनेर खान सक्थे। सँधै उनिहरुको पछि लागेर पनि नहुने।  घरमा खाजा हुन्छ भन्दै दौडिहाल्थेँ। कसले खाजा बनाई दिएको हुन्थ्यो र !  बिहान खाएर छोडेका जुठा भाँडाहरु कट्कटिरहेका हुन्थे। हतारहतार भाँडा माझेर खाली पेट २ बजे स्कुल पुगि हाल्नु पर्थ्यो।

६ कक्षामा म पहिलो भएकाले यो राम्रो दौडन सक्छे भन्ने शिक्षकलाई परेको रहेछ। ७ कक्षाको पढाई चलिरहेको थियो, एक जना सरले रेडक्रसले उपत्यका ब्यापी दौड प्रतियोगिता गराउँदै छ, हाम्रो स्कुलले पनि भाग लिँदै छ, त्यसअघि  छनोट प्रतियोगिता हुन्छ भनेर सुनाउनु भयो। टिफिनपछिको क्लास सुरु हुन लागेको थियो, ल छनोट प्रतियोगिता हुन्छ भन्दै खेलाडीलाई बोलाउन थालियो।

भिडियाे:

मैले फ्रक र जुत्ता लगाएको थिएँ। कोठाबाट फर्किएको भर्खरै थियो। दौड सुरु भयो, म पहिलो भएँ। उपत्यकास्तरीय प्रतियोगिताका लागि छनोट भएँ। बुवा त्यतिबेलै काठमाडौँ आउनु भएको थियो। सुनेर एकदमै खुसी हुनु भयो। आर्मीको जागिर,सामान्य कमाई, संयुक्त परिवार अनि घरमा विरामी भइरहने। बुवालाई घर व्यवहार सम्हाल्न सजिलो थिएन। तर हाम्रो  मिहेनतले  उहाँ एकदमै खुसी देखिनु हुन्थ्यो। ‘ओहो ! मेरी छोरी बाहिर खेल्न जाने भई म नयाँ जुत्ता किनि दिन्छु’ भन्दै मलाई लिएर बागबजार लैजानु भयो। जुत्ता मैले छाँने अनि ट्राइ पनि गरेँ।

तर वुवाले ‘ म आर्मी हुँ नी मलाई थाहा छ, खेलाडीले कहाँ यस्तो जुत्ता लगाएर दौडन सक्छ। तिमीलाई भोली अर्कै ठाउँबाट किनेर ल्याइदिन्छु’ भन्नु भयो। म अहिले सम्झन्छु, बुवासँग त्यतिबेला गोजीमा धेरै पैसा थिएन की ! बुवाले अनुमान गरेभन्दा मैले महँगो जुत्ता पो हेरेको थिएँ की !

हामीले प्राय सामान किन्ने बजार भृकुटी मण्डप थियो। बुवाले भोलीपल्ट कालो रङको जुत्ता ल्याइ दिनु भयो। पछि दाम थाहा भयो- एक सय ५० रुपैयाँ परेको रहेछ। तर त्यही जुत्ता पनि मेरा लागि निकै प्यारो थियो। उपत्यकाब्यापी दौडमा म पाँचौँ भएँ। सँगै गएका शिक्षकहरुले वाह तिमीले क्या कुद्यौ, यतिधेरै खेलाडीहरुमा तिमी पाँचौँ भयौ भनेर फुर्क्याउन थाल्नु भयो। स्कुलमा पनि निकै चर्चा भयो। त्यतिबेला चाहीँ अरु विधार्थीहरुबाट सुन्थेँ ‘ त्यो हाजिरी जवाफमा जाने केटी त दौडिन पो थालिछे।’

स्वर्ण पदक ग्रहण गर्दै सन्तोषी श्रेष्ठ । तस्बिर : बर्षा शाह/देश सञ्चार

हाम्रै स्कुलको लक्ष्मण मल्ल भन्ने दाई निकै चर्चित धावक हुनु हुन्थ्यो। उहाँ विभिन्न ठाउँमा गएर रोड रेसमा भाग लिइरहनु हुन्थ्यो, दोस्रो/तेस्रो पनि भइरहने। उहाँ हाम्रोमा आइरहनु हुन्थ्यो। धादिङकै भएकाले र नजिकै बस्ने भएकाले दाईसँग पनि उहाँको राम्रो चिनजान थियो। म दौडन्छु भन्ने उहाँलाई थाहा भएछ। उहाँ कसरी दौडनुपर्छ भनेर टिप्स दिनु हुन्थ्यो। बिहान बेलुका दौडिन लाज लाग्ने। मान्छेले के भन्लान नी जस्तो लाग्थ्यो। म राती नै उठेर दौडिन्थेँ। उज्यालो नहुँदै घर आइपुग्ने।

एक दिन विराएर बिहान चार बजे पानी थाप्न लाइन बस्नुपर्थ्यो। घरबेटी, बुवाले चिनेकै मान्छे हुनु हुन्थ्यो। घरबेटी अजी(हजुरआमा) विरामी भएकाले उहाँको पानी थापेर गाग्री माथि पुर्‍याउने काम पनि मेरै हुने। दाई पाँच बजे उठेर कलेज जाने भएकाले पानी थाप्ने मेरो रुटिन नै थियो। त्यसैले जुन दिन पानी थाप्नु पर्थ्यो त्यो दिन म चार बजे अघि नै उठ्थेँ।

किनभने त्यो दिन प्राय म स्वयम्भु परिक्रमा गरेर आईपुग्थेँ। एक दिन यसैगरि उठेर स्वयम्भुतिर गएँ। अँध्यारै थियो। तर भिक्षुहरु माने बजाउन थालिसकेका थिए। घर फर्कँदा त अजीले क्या गाली गर्नु भयो -२ बजे राती कहाँ गएको। अजीले म घरबाट निस्किएको थाहा पाउनु भएको रहेछ। आफुसँग घडी नभएकाले अनुमानकै भरमा बाहिर निस्कँन्थे। पानी थाप्नु नपर्ने दिनमा भने ढिलासम्म निदाइने अनि उठेपछि थकथक लाग्थ्यो।

दाई सस्तो कलेज खोज्दै कुलेश्वरमा भर्ना हुनु भएको थियो। आउन जान टाढा भयो भनेर बुवाले साइकल किनिदिनु भएको थियो। दाईले मार्केटिङको काम पनि थालिसक्नु भएको थियो। साह्रै दुब्लो हुनुहुन्थ्यो। सबैले दुख पाएर दुब्लो भयो भन्थे। वास्तवमै दुख थियो।

दशैँमा सबैले आ-आफ्नो कपडा देखाएपछि जसको कपडा च्यातिएको छैन, उ पास, उसको पालो अर्को वर्ष भन्नु हुन्थ्यो बुवा। स्कुलमा एक्स्ट्रा एक्टिभिटिज हुँदा आउट ड्रेसमा आउनु भन्यो भने सजाय दिएजस्तै हुन्थ्यो। कोही विधार्थी हरेक दिन ड्रेस फेरेर आउन सक्ने पनि थिए अनि कोही मजस्ता एउटै कपडा लगाएर जहाँ पनि पुग्नुपर्ने !

दाईले म र भाईलाई लिएर विभिन्न कार्यक्रममा लगिरहनु हुन्थ्यो। तर फर्कँदा प्राय हिँडेर आउनुपर्ने। रुम पुगेपछि दाईले २० रुपैयाँको पाउरोटी किनेर खुवाउनु हुन्थ्यो। बुवाले किनि दिएको पाँच आना जग्गामा मैले तरकारी फलाएर नबेचेको पनि हैन। तर जति नै बेचेपनि ५० रुपैयाँभन्दा बढी नहुने !

स्कुलमा खेलकुद प्रतियोगिता कम हुन्थ्यो। कतैबाट सहभागी हुन चिठी आए छनोट प्रतियोगिता हुनुअघिल्लो दिन भनिन्थ्यो’ भोली बिहान स्वयम्भु दुई राउन्ड हानेर आउनु’ । तर म प्रतियोगिताहरुमा सहभागी हुन गइरहन्थे। बिहान नहुँदै स्वयम्भु राउन्ड हान्ने क्रम पनि चलिरहेको थियो। लक्ष्मण दाईले पनि सुझाव र मार्गनिर्देशन दिइरहनु हुन्थ्यो।

कहाँ कहाँ प्रतियोगिता हुँदै छ भनेर उहाँले नै जानकारी दिनु हुन्थ्यो। लक्ष्मण दाईकै पछि लागेर एकपटक दशरथ रंगशाला पनि पुगेको थिएँ। तर त्यहाँ कसलाई कस्को वास्ता र ! लक्ष्मण दाई आफै ब्यस्त भइहाल्नु हुन्थ्यो। दशरथ रंगशाला वर्षमा एकपटक पुग्नु पनि मेरा लागि कठिनजस्तै थियो।

१० कक्षा पढ्दै गर्दा एउटा रोड रेस प्रतियोगिता आयोजना भयो। त्यसमा म सहभागी मात्र भइन , पहिलो पनि भएँ। त्यतिमात्र होइन पहिलोपटक पैसा पनि पाएँ त्यो पनि तीन हजार रुपैयाँ। रुपैयाँ रुपैयाँको अभाव भइरहेको मान्छेले एकैपटक ३ हजार रुपैयाँ पाउँदा के भयो होला !

कोठामा चामल सकिरहेको थियो, एक हजारको चामल किनेँ। दौडन थालेदेखि नै कहिले कसको कहिले कसको ट्रयाक  र टिर्सट मागेर लगाउँदै आउनु परेको थियो। मिलाएर ट्रयाक सुट लगाउने धोको मेरो पुरानै थियो। एक हजार रुपैयाँले त्यही धोको पुरा गरेँ।

अब बचेको थियो एक हजार रुपैयाँ। घरमा एउटा मोबाइल चाहिएको थियो। भनेको बेलामा कहिले सम्पर्क गर्न नसकिने। पुरानै भएपनि एउटा मोबाइल किनेर पठाई दिएँ।

पाँच रुपैयाँको खाजा ६ रुपैयाँ भयो भनेर खानै छाडेका मेरा साथीहरु एकै छिन दौडिएर तिमीले ३ हजार रुपैयाँ पायौ भन्थे। मनमनै भन्थेँ- कहाँ यो एक दिन एक छिन दौडिएर आएको हो र। म त दिनदिनैँ दौडन्छु।

दाईले पनि इन्टरनेटमा हेरेर कसरी दौडनु पर्छ भनेर सिकाउन थाल्नु भएको थियो।

बच्चैदेखि मेरो इच्छा आयुर्वेद डाक्टर बन्ने थियो। त्यसका लागि मैले प्लस टुमा साइन्स पढे‍ँ। प्रिन्सिपल साह्रै कडा। एक्स्ट्रा एक्टिभिटिजमा सिधै ‘नो’ भन्ने।

तर प्लस टु मेरो एकेडेमिक करियरकै सबैभन्दा खराब ‘एक्सपेरियन्स’ रह्यो। म सरकारी स्कुल पढेर आएको, कक्षामा बुझेर पढ्ने बानी र कक्षाकै त्यही बुझाईले परिक्षासम्म पनि काम गर्ने। त्यहाँ निकै राम्रो पढ्नेहरु पनि हुन्थे अनि बिग्रिएर आएकाहरु पनि हुने।

तर वातावरण फ्री।  प्लस टुको पढाउने तरिका नै गलत। हरेक कुरा लेखाउने र रटाउने। बुझाउने भन्ने कतै छैन। म कलेजमा फोकस नै हुन सकिन। म दौडन्छु पनि भन्ने निकै कमलाई मात्र थाहा थियो कलेजमा। त्यहीबीचमा एउटा विधार्थी संगठनले रोड रेस गर्दैछ भन्ने लक्ष्मण दाईबाट थाहा पाएँ। कलेजलाई थाहै नदिई यो प्रतियोगितामा सहभागी भएँ।

सुरु हुनुअघि ट्रफी र मेडलहरु सजाएर राखिएको थियो।  मलाई यस्तो लाग्थ्यो कि- म सबैलाई जित्न सकुँ बरु मलाई ट्रफी र पैसा केही पनि नदिउन्, घर फर्कने पैसा पनि चाहिएन। दोस्रो पो भएछु। १० हजार रुपैयाँ पाएँ । हरेक दिन आर्थिक संकट झेलिरहेको म र मेरो दाईका लागि त्यो १० हजार रुपैयाँ ठुलो रकम थियो।

प्लस टुको पढाई सकेपछि अब मैले आयुर्वेदा पढ्न ‘इन्ट्रान्स प्रिपरेसन’ गर्नु थियो । दाईको पनि कमाई बढ्दै गएकाले अब सामान्य समस्याहरु समाधान गर्न गाह्रो कम हुँदै गएको थियो। मैले इन्ट्रान्स प्रिपरेसन सुरु गरेँ तर इन्ट्रान्स एक्जामको समय नै सकिसकेछ। कुनै ‘लिंक’ नहुँदा आयुर्वेदा पढ्ने रहर त्यस वर्षलाई त्यस्तै भयो। त्यसपछि पब्लिक हेल्थबारे थाहा पाएँ, राम्रै लाग्यो।अनि ब्याचलर्स इन पब्लिक हेल्थ पढ्ने निधो गरेँ।

पहिलो सेमेस्टरको प्रि बोर्ड एक्जाम आउन लागेको थियो। लक्ष्मण दाईले आफ्नो बुवा आबद्ध भएको एक संस्थाले रोड रेस गर्न लागेको रहेछ। तर मैले दौडन छाडेको ७/८ महिना भएको भन्दै आनाकानी गरेँ। किनभने म पढाईमा बढी फोकस भइरहेको थिएँ। दौड त मेरो रहर मात्र थियो।

उहाँले एउटा खाली कागज दिएर दौड र पढाईको प्राथमिकता छुट्याउ भन्नु भयो। मैले पहिलो नम्बरमा पढाई र दोस्रो नम्बरमा दौड र घरायसी कामलाई राखेँ। उहाँले पढाई नबिग्रने तरिकाले पनि त खेल्न सकिन्छ नी भन्नुभयो। उहाँलाई नाई भन्न सकिन। उहाँ र दाई मिलेर फर्म भर्दिनु भयो। तर मेरो कलेजमा म दौडन्छु पनि भनेर कसैलाई थाहा थिएन।

मलाई समस्या के भयो भने दौड हुने दिन र प्रिबोर्ड एक्जाम हुने एकै दिन पर्‍यो। त्यो पनि एउटै समयमा सुरु हुने। मैले पहिलोपटक साथीहरुलाई आफु धाविका भएको र प्रिबोर्ड एक्जाम हुने दिनमै एउटा प्रतियोगिता परेका कारण समस्यामा रहेको बताएँ। म दौडन्छु पनि भन्दा उनिहरु छक्क परे। उनिहरुले कलेजको म्यामसँग कुरा गरन भने। आँट कसेर म्याम सामु पुगेँ। पहिला त म खेलाडी हुँ भन्दा उहाँ छक्कै पर्नु भयो। दौडनेले पनि साइन्स पढ्छ र कविता लेख्छ र पो भन्न थाल्नु भयो ! मुल मुद्धा त परिक्षा सार्ने थियो। मलाई त्यसमा बढी ध्यान थियो।

कसैले मलाई आएर सुनायो- तसलिमा नसरिनलाई तिमीले लेखेको लव लेटरले त प्रथम पुरस्कार जितेछ। म केही बोल्न सकिँन नत पुरस्कार थाप्न जान पनि। पछि सुनेको थिएँ- मैले लेखेको लव लेटर एक जना दाईले पढेर सुनाउँदा धेरैपटक वाह वाह गुन्जिएको थियो।

त्यस कलेज सुरु भएको पहिलो दिन भ्यालेन्टाइन डे थियो। कलेजका सिनियर दाईहरुले भ्यालेन्टाइन डेको अवसरमा लभ लेटर राइटिङ कम्पिटिसन राखेका थिए। मैले फ्याट्ट म पनि भाग लिन्छु भन्दिएँ। तर जिन्दगीमा लभ नपरेको मान्छे कसरी लभ लेटर लेख्ने ! सुनेको थिएँ दाईले पनि त्रिचन्द्र कलेजमा लभलेटर कम्पिटिसनमा भाग लिनु भएको थियो।

भन्नु हुन्थ्यो- लभलेटर भनेको गलफ्रेण्ड र ब्वाई फ्रेण्डलाई मात्र लेख्ने हो र ? त्यतिबेला मैले तसलिमा नसरिनको किताब पढिरहेको थिएँ। तसलिमा मलाई खत्रा लागिरहेकी थिइन्। लभ लेटर लेख्न भित्र पस्ने बेला हुँदै थियो । म पछाडि सर्दै थिएँ। तर साथीहरुले जाउ जाउ, जे भएपनि लेखेर आउ भन्दिएपछि हो त भन्दै भित्र पसेँ। भोलीपल्ट सरस्वती पुजाको दिन थियो अनि लेभ लेटर राइटिङ कम्पिटिसनको विजेता घोषणा हुने दिन पनि।

कसैले मलाई आएर सुनायो- तसलिमा नसरिनलाई तिमीले लेखेको लव लेटरले त प्रथम पुरस्कार जितेछ। म केही बोल्न सकिँन नत पुरस्कार थाप्न जान पनि। पछि सुनेको थिएँ- मैले लेखेको लव लेटर एक जना दाईले पढेर सुनाउँदा धेरैपटक वाह वाह गुन्जिएको थियो।

मलाई झिनो आशा थियो, कलेजले मलाई दौडिन जान देला की भन्ने। केही बेरमा जवाफ आयो- जाउ, परिक्षा १० बजे सुरु हुन्छ।

खुसीको कुनै सिमा रहेन। मेरै लागि कलेजले परिक्षाको समय सारेको थियो।

भोलीपल्ट दौड थियो। बेलैमा पुगेँ। दौडिएँ। यसपटक दोस्रो भएँ। १० हजार रुपैयाँ पाएँ। हतार हतार परिक्षा हलमा आएँ। प्रश्न पत्र लिएर जवाफ लेख्न सुरु गरेँ। एकछिनमा मलाई खेल्न अनुमती दिने म्याडम आईपुग्नु भयो। मलाई हेर्दै के भयौ भन्नु भयो। मैले के दोस्रो भनेको थिएँ उहाँ खुसीले निक्कै माथीसम्म उफ्रनु भयो।

म यसरी हौसिएँ की कतिबेला कहाँ दौडिहाल्ने ठेगान नै हुन्थेन। बिहान-बेलुका, राती दिउँसो जतिबेला पनि दौडन्थेँ। बस्, मलाई फुर्सद हुनुपर्थ्यो। लक्ष्मण दाई भन्नुहुन्थ्यो- तिम्रो कसले वास्ता गर्छ र, कसैलाई वास्ता नगरि दौडन। दाई पनि त्यही भन्नु हुन्थ्यो। मेरा हरेक निर्णयमा दाईसँग सल्लाह गर्थेँ।

म सडकमा दुई तीन घन्टासम्म लगातार दौडिन थालिसकेको थिएँ। स्वयम्भु परिक्रमा गर्नु मेरो आदत बनिसकेको थियो। त्यहीबीचमा मैले राष्ट्रिय च्याम्पियनसिप खेलेर तेस्रो स्थानसमेत हात पारेको थिएँ। सबै जना छक्क पर्थे- होइन यो केटी कहाँ, कतिबेला तयारी गर्छे ?

२०७०/७१ सालको समय हुनुपर्छ, लक्ष्मण दाईले अर्को खबर ल्याउनु भयो- एडिडास रन हुँदै छ। लक्ष्मण दाईले दौडन आफ्नो जुत्ता दिनु भयो। चार वर्ष पुरानो जुत्ता भएपनि राम्रो थियो। मेरो खुट्टामा देखेर- कस्तो राम्रो जुत्ता भन्थे। मलाई लाज लाग्थ्यो अनि भन्दिन्थे-कहाँ मेरो होर मागेर लगाएको। प्रतियोगितामा म तेस्रो भएँ।

पहिलो आर्मीको खेलाडी हुनु भएको थियो। धेरै राम्रा खेलाडीलाई मैले पछि पारेको थिएँ। कान्छिमाया कोजु र विश्वरुपा बुढा सहभागी नभएको प्रतियोगिता त म सजिलै जितिहाल्छु नी लाग्थ्यो। हरेकपटक विभागका खेलाडीहरु छक्क पर्थे।

यसपछि भने एउटा मान्छे हात धोएरै मेरो पछि लागेको थियो। जतिबेला पनि एकपटक भेटौँन मात्र भन्ने। एडिडास रनमा मेरो प्रदर्शनबाट प्रभावित भएको बताउने ती व्यक्ति यसरी बारम्बार पछि लागिरहने को हुन् त अनि उनको उदेश्य के हो ? मैले धेरैसँग यस विषयमा कुराकानी गरिसकेको थिएँ। म उनको ढिप्पी देखेँर छक्क र अचम्म पर्थेँ।

पुस ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्