खगेन्द्र संग्रौलासँग पुस्तक संवाद

‘पहिले कथामा चाख लाग्थ्यो अहिले दर्शनले तान्छ’

‘पहिले कथामा चाख लाग्थ्यो अहिले दर्शनले तान्छ’
+
-

स्थापित र रुचाइएका लेखक हुन् खगेन्द्र संग्रौला । पुस्तकसँगै स्तम्भ लेखनमा पनि उनको दखल राम्रो छ। विदेशी लेखकका किताबहरु नेपाली अनुवाद गरेर नेपाली पाठकसम्म पुर्‍याउने माध्यम पनि बनेका छन् उनी।

साहित्यकार खगेन्द्र संग्रौला आफ्नो परिचय दिँदा भन्छन्,– सेतो कपाल, चुच्चो नाक, ढ्याके चश्मा अनि साथीभाइको लागि चाहीँ चाबहिलको चाउरे।

उनको जन्म २००३ साल मंसिर १० गते पाँचथरका सुभाङ्गमा भएको हो। उनी १० सन्तान मध्यका पाँचौ सन्तान, छोराहरुमध्येमा काइलो।

गाउँमा ६ महिने छुट्टीमा गाउँमा लाहुरे फिरेको देख्दा उनलाई पनि आफू लाहुरे नै बनौँ जस्तो लाग्थ्यो तर बाहुनको छोरालाई त्यो पेशा भाग परेन। पढाई लेखाईतर्फ झुकाव बनाए। कक्षा सातसम्म गाउँकै सरस्वती मिडल स्कूल पढे, त्यसपछि आईए तेर्‍हथुमको विरेन्द्र इन्टर कलेज। स्नातक अध्ययनको लागि त्रीचन्द्र क्याम्पसमा भर्ना भए, स्पेशल अंग्रेजी र नेपाली विषय लिए। त्यसपछि स्नातकोत्तर अध्ययनको लागि कीर्तिपुरमा भर्ना भए तर यो पूरा गरेनन्।

पढाईको लागि काठमाडौँ आएदेखि नै उनले आफ्नो खर्च जोहो गर्नलाई भन्दै अध्यापन सुरु गरिसकेका थिए। उनको यो पेशा नै जीवनभर कमाई गर्ने पेशा बन्यो। उनलाई १४ वर्ष लमजुङ र तनहुँमा पढाएको अनुभव छ। ४० सालबाट उनले अध्यापन पेशा छोडे।

किन शिक्षण पेशा नै ? भन्ने प्रश्नमा उनको उत्तर हुन्छ, विकल्प नै थिएन।

संग्रौलाका बाबा लक्ष्मीप्रसाद ज्योतिष थिए। बाबाले बिहान बेलुका लय हालेर रामायण, गीता गाउँदा संग्रौला प्रभावित हुन्थे। तर कक्षा ४ मा हुँदा लेखेको सरस्वती बन्दनाले उनलाई लेखन यात्राको बाटो पहिल्यायो। सबैले उनलाई स्याबासी दिएपछि संग्रौला हौसिए। त्यसपछि लेख्न थाले।

आईए पढ्दा हवाइपत्र छापियो, यस्तै २०२२, २०२३ सालतीर ‘अधुरो प्रेम, भिजेको रुमाल’ छापियो। अनि बिस्तारै उनका ५ ओटा कथा संग्रह, ५ ओटा निबन्ध संग्रह, ३ उपन्यास, ३ नाटक अनि ३६ ओटा अनुवाद छापिए। आफ्नो अखबारीय लेखनको संकलन गरेर उनले ३ ओटा फाइल पनि बनाएका छन्।

लेखनमा सक्रिय संग्रौलाले पहिलोपल्ट २०४६ सालमा मैनाली पुरस्कार प्राप्त गरेका थिए। यस्तै कृष्णमणि साहित्य पुरस्कार २०५२, गोकुल जोशी पुरस्कार २०५४ र पद्मश्री पुरस्कार २०७० बाट सम्मानित भइसकेका छन्।

उनै लेखक खगेन्द्र संग्रौलासँग देश सञ्चारकी सुजाता खत्रीले पढ्ने आनीबानी र पुस्तकहरुबारे कुराकानी गरेकी छन् ।

१) कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

हिजो आज म इजरायली लेखक युभल नोह हरारीको पुस्तकहरु पढ्दै छु। उहाँ एकदमै दार्शनिक हुनुहुन्छ। २–३ वटा पुस्तक मसम्म आइपुगेका छन् । त्यो मध्ये ‘२१ लेसन फर द ट्वान्टी फस्ट सेन्चुरी’ पढिरहेको छु। यो भन्दा अगाडि संजिव उप्रेतिको ‘हंस’ पढ्दै थिएँ।

२) कुन समयमा पढ्नुहुन्छ ?

सन्तान सानो हुँदा मेरो पढ्ने लेख्ने समय निश्चित थियो। समय सीमा थियो। बिहान उठ्ने केटाकेटीको होमवर्क गराउने, दिउँसो दुई पैसा कमाउने बेलुका केटाकेटीको होमवर्क सकाएर सुतेपछि राति पढ्थेँ। अहिले चाहिँ सबै समय मेरो तजबिजमा छ। केटाकेटी घरमा छैनन्, अखबार बिहान पढ्ने हो, दिउँसो अरु पुस्तकहरु पढ्छु।

उमेर पाको हुँदै गएपछि धेरै कुरा बदलिँदै जाने रहेछ, मेमोरी छोटो हुने रहेछ, पढ्ने धैर्य पनि धेरै हुँदैन, जाँगर पनि हुँदैन। एकाध घण्टा पढेपछि थकाई लाग्छ । अहिले म दिनको ३,–४ घण्टा पढ्छु। दिउँसो कुनै कार्यक्रम हुने भयो भने स्वभावतः कम पढिन्छ।

३) कस्तो खालको पुस्तक र लेख मन पर्छ ?

आधारभूत रुपमा मेरो अभ्यास आख्यानबाट सुरु भयो। अलिकति अगाडिसम्म म फिक्सन नै पढ्थेँ। मैले पढेको त्यही हो, जानेको त्यही हो, गरेको पनि त्यही हो। अहिले चाहिँ म नन–फिक्सन पढ्छु। त्यसमा पनि अलि दार्शनिक किसिमको पुस्तकहरु प्राथमिकतामा पर्छन्। किनभने आजको संसार यति जटिल भएको छ ।

एक समय हिटलरको फासिजमको जमाना थियो, माक्सको सोसलिजमको जमाना थियो। यी दुवै गएपछि ‘नियो लिबरालिजम’ को जमाना आयो। अमेरिकाको आर्थिक संकटपछि त्यो पनि गयो। अनि यो संसार कस्तो छ, यो संसार कहाँ गईरहेको छ, म कहाँ छु, भोलि के हुने हो थाहा छैन। यो थाहा पाउने दर्शनले नै हो। आख्यानले केही कुरा बुझाउला, जीवन जगतको बारेमा मूर्त धारणा बनाउने भनेको दर्शनले नै हो। त्यसैले मलाई यस प्रति चाख बढेको हो।

४) मन पर्ने लेखक को हुनुहुन्छ ?

मलाई मन पर्ने लेखकहरु धेरै छन् । लक्ष्मीप्रसाद देवकोटा,गोपालप्रसाद रिमाल, विजय मल्ल, विश्वेश्वरप्रसाद कोइराला, भूपि शेरचन, पारिजात, सरिता तिवारी, भूषिता वशिष्ठसहितका नेपाली लेखकहरु मन पर्छ ।

यस्तै शेक्सपियर, सर्भान्तेज, बाल्ज्याक, चाल्र्स डिकेन्स, चेखोभ,म् यक्सिम गोर्खी, लु स्यून, मार्खेज, चिनुवा अचिबे, इडवार्ड सइद, नोम चोम्स्की, हवार्ड जीन, ग्यालिआनो, अरूनधती रोयसहितका लेखहरु मलाई मन पर्छ।

५) पढ्ने वातावरण कसरी बन्यो र प्रेरणा कसरी मिल्थ्यो ?

यो प्रश्न अहिलेसम्म मलाई धेरै जनाले सोधिसकेका छन्, हरेकपल्ट मेरो उत्तर फरक–फरक हुन सक्छ। जीवनमा कतिपय कुरा यस्ता हुँदा रहेछन् जसलाई अनुमान गर्न सकिन्छ तर किटानी साथ भन्न सकिन्न। म अनुमान गर्न सक्छु, मेरा अनुमान नमिल्न पनि सक्छ।

म त अनकन्टार एउटा गाउँमा जन्मिएको मान्छे हुँ। मेरो बा ज्योतिष हुनुहुन्थ्यो। उहाँ रामायण, महाभारतको श्लोकहरु एकदमै राम्रो स्वरमा भन्नुहुन्थ्यो बेलुका खाना खाएपछि अगेनाको छेउमा बसेर श्लोक भन्ने अनि हामी सुन्ने गर्थ्यौँ। यो हरेक बिहान बेलुका नियमित हुन्थ्यो। उहाँ शंख, घण्टा, डमरु बजाएर गीता पाठ गर्दै पञ्चायन पूजा गर्नुहुन्थ्यो। राम्रो स्वरमा । मेरो संगीत प्रति, कला प्रतिको रुचि प्रारम्भिक त्यहीँबाट भएको होला भन्ने अनुमान छ।

पछि स्कूल जान थालेपछि स्कूलमा सरस्वति पूजा हुन्थ्यो। सरस्वति पूजामा श्लोक लेखिन्थ्यो। सबैभन्दा पहिला मैले सरस्वति बन्दना लेखेँ, ३–४ कक्षामा पढ्थेँ होला । मेरो सँस्कृत गुरु श्लोक लेख्नुहुन्थ्यो। उहाँको मलाई नक्कल गर्न मन पर्थ्यो अनि नक्कल गर्न थालियो। त्यसपछि बोध विक्रम अधिकारीको दन्त्यकथा पढियो। अनि गुरुप्रसाद मैनालीका कथाहरु पढेँ, रमेश विकलका कथा, प्रेमचन्द पढेँ। पढ्दै गएपछि सबैभन्दा बढी कथामा चाख भयो।

मानव सभ्यताको इतिहासमा कथा शायद सबैभन्दा महत्वपूर्ण चिज हो। मान्छेका क्रियाकलापहरु बढ्दै गएपछि भन्ने कुरा पनि धेरै भयो। धेरै कुरा भन्न र सुनाउनको लागि उपयुक्त माध्यम ‘कथा’ भयो।

सुरुमा मैले कविता लेख्न प्रारम्भ गरेँ, कवितामा भन्दा कथामा बढी चाख भयो र अहिले यहाँसम्म आइपुगियो।

६) पढेको कुनै लेख तथा कथा, उपन्यास आफ्नै जीवनमा मेल खाएको जस्तो लागेको छ ?

त्यस्तो धेरै भयो होला । यदि हुँदैन थियो भने पढिदैनथियो होला। गैर आख्यानमा चाहिँ हाम्रो मनोविज्ञानले मेल खायो जस्तो लाग्छ। त्यो अलग कुरा हो। तर कथाहरुमा कहीँ न कहीँ आफूलाई नदेखे पढिँदैन। त्यसमा इन्ट्रेस कहाँबाट आउँछ ? त्यसको कुनाकानी कुनै न कुनै पात्रमा, कुनै घटनामा कुनै सन्दर्भमा त्यहाँ ‘म’ हुन्छु र म पढ्छु। मेरो पाठक पनि त्यही भएर बने होलान्।

समय–समयमा फरक–फरक छन्। सुरुमा बोधविक्रम अधिकारीको दन्त्यकथा पढियो। त्यसमा केही उट्पट्याङ कथाहरु थिए। त्यसैमा एउटा ‘लाटो बुङ्गोको कथा’ भन्ने थियो। कथामा उसलाई कसैले माथिबाट फुरौला भादिन्छन्, जब जब उसले भोक लाग्यो भन्यो तबत ब उसले हात थाप्थ्यो र उसको हातमा फुरौला पर्थ्यो। उसका बा, आमा वा साथीले । र उ के सोच्छ भने, आकाशमा कुनै एउटा रहस्यमय चिज छ, भगवानले फरौला भार्दिन्छ।

हरेक मान्छेको केही केह इच्छा आकांक्षा हुन्छ, त्यो कसैले न कसैले पूरा गरेकै हुन्छ। मलाई पनि म ‘लाटोबुङ्गो’ जस्तो हुन मन लाग्थ्यो। कोशिस नगरीकन फुलौरा खान पाइन्थ्यो। म त्यसरी जोडिए। मलाई लाटो हुन मन थिएन तर उ म भन्दा भाग्यमानी थियो।

यस्ता थुप्रै छन् नि, जस्तो मान्छे किशोर भएपछि मान्छेलाई प्रेम गर्न मन लाग्छ। कोशिस गरिन्छ तर भनिँदैन। प्रेम कथा पढ्दाखेरी प्रेम गर्ने पात्र आफूलाई बनाइन्छ। मलाई म्याक्सिम गोर्खीको उपन्यास ‘मदर’ मा पनि आफूलाई पाउँछु। त्यसको पात्रले मलाई छोएको छ।

७) मन परेको किताब कुन हो ?

धेरै छन्। म ७२ वर्षको भए, ९–१० कक्षादेखि किताब पढ्न थालियो। धेरै थरिका धेरै किताब पढियो। समय समयमा फरक–फरक चिजहरु पढियो। जुनबेला बोध विक्रम अधिकारीको दन्त्यकथा पढियो, त्यो बेला त्यही ठीक लाग्यो। त्यसपछि देवकोटाको मुनामदन पढियो त्यही मन पर्‍यो। रमेश विकलका कथाहरु मनपर्‍यो ।

पारिजातको उपन्यास, शंकर लामिछानेको निबन्ध, श्यामप्रसादको निबन्ध। त्यो सबै मन पर्‍यो। तर पढेको मध्ये जीवनभरमा सधैँ मन परिरहेको भनेको म्याक्सिम गोर्केको ‘मदर’ हो। मदरको पावेल भन्ने एउटा पात्र छ, त्यो क्रान्तिकारी पात्र हो। उसको बोल्डनेस, एडभन्चरालिज्म छ, अलि अलि स्याक्रिफाइजको भावना छ।

बिस्तारै त्यो तलबाट उठ्दै जान्छ, समाजको आकर्षणको केन्द्र बन्छ। हिरो बन्छ। इतिहासको हिरो बन्छ। मेरो जीवनमा सबैभन्दा प्रभाव पार्ने पात्र त्यही हो। पुस्तकमा ‘मदर’ पात्रमा ‘पावेल’ हो।

८) पुस्तक दोहोर्‍याएर पढ्ने बानी छ ?

मेरो धेरै बलहरुमध्ये एउटा भाषा हो। मेरो भाषा फरक छ। विषय त्यही हो, भन्नेकुरा कति प्रभावशाली हुन्छ भन्ने कुरा तपाईँको भाषामा भर पर्छ। मैले भाषा बनाउन धेरै प्रयत्न गरे। लक्ष्मीप्रसाद देवकोटा, तारानाथ शर्मा, शंकर लामिछाने श्यामप्रसाद । यिनीहरुको निबन्ध त मैले कयौँ पटक पढेको छु।

देवकोटाको पागल भन्ने कविता अनेक पटक पढेको छु। शंकर लामिछानेको ‘एबस्ट्रयाक चिन्तन व्याज पनि अनेक पटक पढेको छु। शिरिषको फूल तीन पल्ट पढेको छु। आजकाल त दोहोर्‍याउन मन लाग्दैन। एसो हेर्छु, पढ्दै गर्दा पढि सक्या हो भनेर थन्काउँछु।

यदी तपाईँ लेखक बन्ने हो भने धेरै पल्ट पढ्न पर्छ। नक्कल गर्नुपर्छ, भाषा भन्ने तरिका नक्कल गर्नुपर्छ। नक्कल गरिरहे त सुगा हुन्छ, तर नक्कल गर्दै गएपछि तपाइँकाे ओरिजिनालिटी पनि आउँछ।

९) पढ्नै पर्ने पुस्तकहरु ?

म जुन समयमा हुर्के, त्यो नैतिकताको समय थियो। मान्छेलाई सरसल्लाह दिने, यो नगर त्यो नगर भन्ने गरिन्थ्यो । आज समय फेरिएको छ, मान्छेलाई अर्ति उपदेश दिएको मन पर्दैन। आजको मान्छे कसैलाई पनि आफू भन्दा ठूलो देख्न चाँहदैन। साथी भन्न रुचाउँछ। त्यसो भनिरहँदा पनि व्यक्ति व्यक्तिका विचार फरक हुन सक्छन्।

जीवनको जटिलतालाई बुझ्न दर्शन नै पढ्नुपर्छ के। कार्लमाक्सको जर्मन आइडियोलोजी भन्ने एउटा किताब छ, अरु अरु पनि छन्। गान्धि भए, हरारीको पुस्तकहरु यीनी आवश्यक छन्। कथा कविता पढ्नुभयो भने कल्पनालाई समृद्ध बनाउला। तर दर्शक जीवन बुझ्न आवश्यक छ।

१०) पढ्ने वातावरण कस्तो हुनुपर्छ ?

टेक्नोलोजिकल रिभोलुसनले अहिले केही कुराहरु सहज त केहीलाई जटिल बनाइदिएको छ। प्रविधिले मान्छेलाई नजिक त बनाएको छ, तर एक्लाइरहेको छ। उनीहरुको साथी मात्र स्मार्ट फोन भएको छ। चाहेको कुरा हेर्न पाउँछन्। अलमलाइरहेको छ। समस्या के हो भने, त्यसरी अलमलिएको मान्छेलाई पुस्तकमा कसरी फर्काउने होला।

इन्टरनेटमा पढ्दाखेरी प्रिन्टमा पढेको जस्तो स्वाद हुँदैन। म त प्रिन्ट गरेर पढ्छु। पुस्तकमा एउटा स्पर्श आनन्द हुन्छ। तपाइको हातले त्यसलाई छुन्छ, हेर्छ, कागजको छुट्टै बास्ना हुन्छ त्यसको छुट्टै आनन्द हुन्छ। इन्टरनेट हतार हो, जे पनि हतारमा हुन्छ। पुस्तकमा हतार हुन्न। पुस्कत पढ्दा शान्त भएर पढिन्छ, एकाग्र भएर पढिन्छ बिस्तारै पढिन्छ।

पढेको कुराको दिमागमा छाप पनि बस्छ। नयाँ पुस्ताको कुरा म सँग नमिल्ला म बुझ्छु। तर पढेको कुराको दिमागमा छाप बनाउने हो भने राम्रो र गहिरोसँग बुझ्ने हो भने पुस्तक नै पढ्नुपर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?