सिड्नीका डढेलो पीडितलाई ‘साउथ वेष्ट नेप्लिज कम्युनिटी’को सहयोग

सिड्नी– ‘साउथ वेष्ट नेप्लिज कम्युनिटी सिड्नी’ले साउदर्न हाइल्याण्ड्स क्षेत्रका डढेलो पीडित, अग्नि नियन्त्रक तथा स्वयम्सेवीलाई खाना सहयोग गरेको छ। शनिबार अर्थात २० डिसेम्बरका दिन बेलुकीको खाना सहयोगस्वरूप उपलब्ध गराएको हो।

साउथ वेष्ट नेप्लिज कम्युनिटी सिड्नीले न्यू साउथ वेल्स राज्यको दक्षिणी हाइल्याण्ड्स क्षेत्रमा भएको भिषण आगलागीबाट धेरै घरहरू जलेको, मानिसहरू हताहत भएको तथा २ जना अग्नि नियन्त्रककाे समेतको ज्यान गएकोमा दुःख व्यक्त गर्दैै सो क्षेत्रमा खटिएका १ सय ८० जना अग्निनियन्त्रक तथा स्वयम्सेवीहरूलाई खाना उपलब्ध गराएको जनाएको छ।

कर्मभूमिमा आइपरेको यस त्रासदीपूर्ण घटनामा आफूहरूले धेरै सहयोग गर्न नसके पनि पीडित समुदाय तथा डढेलो नियन्त्रण गर्न अहोरात्र खटिइरहेका अग्नि नियन्त्रकहरूप्रति ऐक्यवद्दता जनाउने उद्देश्यले यो सहयोग गरिएको संस्थाका महासचिव प्रेम शाहले बताए।

संस्थाले सो राहत उपलब्ध गराउनका लागि साउदर्न हाइल्याण्ड्स क्षेत्रका लोकल एमपी लुइस अमाटा, नेथानियल स्मिथ तथा अन्य टास्क फोर्स ग्रुपसँग समन्वय गर्दै राहत वितरण गरेको थियो।

साथै, संस्थाले डढेलोपीडितका लागि ‘गोफण्डमी’ मार्फत् आर्थिक संकलनको काम पनि सुरु गरेको छ। ५ हजार अस्ट्रेलियन डलर जम्मा गर्ने उद्देश्यसहित स्थापना गरिएको उक्त राहत संकलन अभियानमा हालसम्म ६ सय डलरभन्दा बढी रकम संकलन भइसकेको संस्थाले जनाएको छ।

पुस ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्