लेस्टर सिटीलाई स्तब्ध पार्‍यो म्यानचेस्टर सिटीले

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई पछ्याइरहेको लेस्टर सिटी पराजित भएको छ। लेस्टरलाई शनिबार राति भएको खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले ३–१ ले पराजित गरेको हो ।

तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको मैदानमा भएको खेलमा लेस्टर सिटीले सुरुवाति अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । २२ औँ मिनेटमा जेमी भर्डीको गोलबाट लेस्टरले सुरुवाति अग्रता लिएको थियो ।

तर ३० औँ मिनेटमा रियाद महरेजले म्यानचेस्टर सिटीका लागि बराबरी गोल फर्काए । ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा इल्काई गुण्डोगानले गोल गरेर म्यानचेस्टर सिटीलाई अग्रता दिलाए । ६९ औँ मिनेटमा गाब्रिएल जिससले गोल गरेपछि म्यानचेस्टर सिटी ३–१ ले विजयी भयो ।

जितपछि म्यानचेस्टर सिटीले दोस्रो स्थानको लेस्टर सिटीसँगको अंक दूरी एक बनाएको छ । यस्तै उ शीर्ष स्थानको लिभरपुल भन्दा ११ अंकले पछि रहेको छ र लिभरपुलले एक खेल कम खेलेको छ ।

पुस ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्