रुँदै मैदानमा दौडिएका बालकलाई एमबाप्पेले अंगालो हाले र अटोग्राफ दिए

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले एमिएन्सलाई ४–१ ले पराजित गरेको हो ।

पिएसजीको जितमा केलियन एमबाप्पेले १० र ६५ औँ मिनेटमा गरी दुई गोल गरे । यसतै नेइमारले ४६ तथा माउरो आइकार्डीले ८४ औँ मिनेटमा गोल गरेका हुन् ।

एमिएन्सका लागि मेन्डोजाले ७० औँ मिनेटमा एक गोल फर्काए । जितपछि शीर्ष स्थानको पिएसजीको १८ खेलबाट ४५ अंक भएको छ । निमेसलार्य ३–१ ले पराजित गरेको दोस्रो स्थानको मार्सेइलीको १९ खेलबाट ३८ अंक भएको छ र उ दोस्रो स्थानमा छ ।

शनिबार राति पिएसजीको खेल भइरहेका बेला एमबाप्पेका फ्यान एक बालक मैदानमा दौडिएका थिए । ती बालकलाई एमबाप्पेले अंगालो हाले र अटोग्राफ दिए । खेलको इन्जुरी समयमा ती बालक मैदानमा दौडिएका हुन् ।

मैदान सुरक्षाका लागि खटिएकाहरुले ती बालकलाई बाहिर ल्याए । एमबाप्पे भने मैदान बाहिर आएर उनलाई अंगालो हाले र रोइरहेका बालकले ज्याकेटबाट निकालेको किताबमा हस्ताक्षर गरिदिए ।

एमबाप्पे शुक्रबार २१ औँ वर्षमा प्रवेश गरेका थिए । उनले यो वर्ष (२०१९) लिग वानमा २९ खेलमा ३१ गोल गरेका छन् ।

पुस ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्