सरकार तिम्रो आँखा खोल

गरिबका लागि भनेर गरिने कम्युनिष्ट राजनीति अब समाप्त हुँदै गएको छ । पहिला गरिबहरु कम्युनिष्ट नेतालाई भगवान सरह मान्थे। उनीहरुलाई विश्वास गरी आफ्नो समर्थन जाहेर गर्थे। अब कम्युनिष्ट सत्तामा पुगेपछि दलाल पुँजीपतिको घेरामा बस्न रमाउन थालेपछि उनीहरुले गरिबको रोदन बिर्सिसकेका छन्।

कम्युनिष्ट नेतामा चित्रबहादुुर केसी र नारायणमान बिजुुक्छेसम्मलाई त कम्युनिष्ट मान्न सकिएला जसले आफ्नो सादा जीवन बिताउँदै राजनीति गरिरहेका छन्। कोही कोही मान्छे राजा महेन्द्रलाई पनि कम्युनिष्ट भन्ने गर्दछन् । उनले नेपालमा बिर्ता उन्मूलन गर्दै भूमिसुधार लागू गरेर धेरै जमिनमा मोहियानी हक कायम गरेर गरिब जनताको हित गरेका थिए।

परिवार नियोजनको कार्यक्रम ल्याएर महिलाको हक कायम गर्दै इच्छाअनुसार बच्चा जन्माउने अधिकार कायम गरेका थिए उनले। उनले देशमा रोजगारी बढाउन, राष्ट्रियता जोगाउन धेरै राम्रा काम गरेका थिए।

प्रमुुख रुपमा कोदारी राजमार्ग खोलेर चीनसँग प्रत्यक्ष व्यापार र आवतजावत गर्न सजिलो पारेका थिए उनले। कतिपय मानिसहरु अमेरिकामा कम्युुनिष्ट नीति छ भन्छन् किनभने त्यहाँ धनी मानिससँग पर्याप्त कर लिइन्छ तर गरिबहरुलाई निशुल्क शिक्षा स्वास्थ र आवासको साथै भत्ता पनि दिइन्छ। तर नेपालमा ठूला करदाताहरुको कर मिनाहा गरिन्छ तर गरिबहरुले कर नतिरे कारबाही गरिन्छ।

अर्कोतर्फ नेपालका कम्युुनिष्ट जबसम्म सत्ता बाहिर रहन्छन् उनीहरु गरिबको मसिहा बन्ने गर्छन्। जब जनतालाई गुमराहमा पारी चुनावमा भोट लिन्छन्, त्यसपछि सत्तामा पुगेपछि जनताहरुका आवश्यकता बिर्सन्छन् र आफ्ना निजी आवश्यकता प्राप्त गर्न तल्लीन हुन्छन्। २०४६ साल अघिसम्म जनताको एउटा तप्काले कम्युनिष्ट नेतालाई सम्मानको दृष्टिले हेर्थे।

पञ्चहरु केही बदनाम हुुँदै गएका थिए। जनतामा परिवर्तनको केही चाहना थियो। खासगरी कम्युनिष्ट-कांग्रेसले जनतालाई ठूला आश्वासन दिन थालेका थिए। समयक्रममा व्यवस्था परिवर्तन भएपनि छोटो समयमा तात्कालीन नेपाली कांग्रेसको सरकार नातावाद र भ्रष्टाचारले बदनाम भइसकेको थियो।

नेपाली कांग्रेसका नेताले खुलारुपमा भन्न थालेका थिए- पञ्चले पैसा कमाउँदा हामीले कमाउनु हुँदैन? कमिसनरुपी भ्रष्टाचारलाई अंगिकार गरिसकेका थिए। जनकल्याणकारी काम गर्नुभन्दा व्यापारी र दलालका हितमा निर्णयहरु हुन थालेका थिए।

त्यसपछि आएको एमाले सरकार शुरुमा राम्रै जनहितका काम गरेपनि पार्टीको नाममा व्यापारीसँग मिलेर चन्दा र कमिसन जम्मा गर्न थालिसकेको थियो। हामीमात्र जोगी हुन आएका होइनौँ भनेर नेताहरु कुर्लन थालिसकेका थिए। सबै भ्रष्ट हुुन थालेपछि देशमा बिद्रोह जन्मने र फैलने अवसर पायो।

तात्कालीन माओवादीले बिद्रोह शुुरु गर्दा केही राष्ट्रियता र जनजिविकाको कुरा उठाउँदा जनता आशावादी पनि भएका थिए। तर केही समयपछि नै उनीहरुले आफ्नो सक्कली रङ देखाउन थाले। अत्यधिक चन्दा माग्ने, नदिनेलाई तर्साउने र सहयोग नगर्नेलाई सफाया गर्न थाले। त्यतिले नपुगेर बैंक पनि लुटे। जन्मदेखि नै लुटने पिट्ने र मार्ने काम सिकेर आएकाबाट झन जनताले राम्रो कुुरा पाउने सम्भावना थिएन। राष्ट्रियताको ठूलो कुरा र भारतसँग सुरुङ युद्धको नाटक गर्नेको बेश क्याम्प त भारत नै रहेको खुलासा भएपछि जनताले वास्तविकता बुझे।

अहिले दुई ठूला कम्युनिष्ट दल एक भएर नेकपा बनेपछि झन जनताको नजरमा गिर्दै गएको भान हुँदैछ। यसरी नेपालका ठूला दलहरुमा आफ्ना जति नै राम्रा सिद्धान्त भएपनि व्यवहारमा ठीक उल्टा कार्यहरु मात्र गर्न थाले। नेताहरु सुख सुबिधामा रमाउन थाले। त्यस्का लागि व्यापारी दलाल तश्करसँग मिल्न सक्ता नै निजी स्वार्थ पूरा हुनेभए। त्यही भएर कम्युनिष्ट भनिएका दलले पनि ठूला व्यपारी घरानियाँका सिद्धान्तहीन व्यापारी परिवारलाई करोडौँ चन्दा लिएर सभासद् र मन्त्री बनाउन थाले।

अझै पनि भारतीयहरुको सहयोगमा सरकारमा टिक्ने र हट्ने डर लिएर सरकार बसेको छ भने त्यो महाभूल हुुनेछ।

देशमा रोजगारका अवसर बढाएर युवा जनशक्तिलाई स्वदेशमा राख्न नितात्त आवश्यक छ। उद्योग, कृषि, शिक्षा तथा स्वास्थ्यमा सुुधार गरी जनताको जिवनस्तर उठाउनुको सट्टा युवाहरुलाई धमाधम विदेश रोजगारमा पठाउने कार्यमा सहयोग पुर्‍याउन थाले। जस्को कारण आज नेपालका गाउँगाउँमा युवाहरुको अभाव खट्किएको छ जुन विकासका लागि अपरिहार्य हुन्।

पूर्वमन्त्री गोकर्ण बिष्टले युवाहरुको विदेश रोजगार सस्तो र सुुलभ बनाउने प्रयास गरे। त्यस्तै गरेर विदेशिएका युुवाहरुलाई स्वदेशमा फर्काउने कार्यक्रम खोइ ल्याएको ? युवाहरुलाई विभिन्न सीप सिकाएर गाउँ गाउँमा विभिन्न उद्योगहरु लगायत व्यवसायिक कृषि लगायतका उद्योगहरु चलाउन किन सरकारले प्रत्यक्ष मद्दत गर्दैन् ? सरकार आफै रनभुल्लमा परेको भान हुँदैन?

खुुला सिमाना मिचेर दक्षिण छिमेकीले हाम्रो जग्गा हड्पिरहेको छ। सरकार बलियो रुपमा बोल्न सक्दैन। आज कालापानीलगायतका सीमा क्षेत्रहरु भारतीयहरुले कब्जा गर्दापनि समयमा वार्ता र नयाँ सम्झौता गर्न सरकार अन्कनाइरहेको छ।

अझै पनि भारतीयहरुको सहयोगमा सरकारमा टिक्ने र हट्ने डर लिएर सरकार बसेको छ भने त्यो महाभूल हुुनेछ। जनताको प्रत्यक्ष मत पाएर सरकारमा गएको सरकारले जनताको आवाजको कदर गर्नुपर्छ। विदेशीको इशारामा होइन जनहित र राष्ट्रहितमा कडा कदमहरु चालियोस्। जसबाट राष्ट्रको स्वाभिमान बढोस्। राष्ट्र सधैँभरिको लागि सुरक्षित रहोस्।

त्यसका लागि सबैभन्दा पहिला जनताको आर्थिक स्थिति सुदृढ होस् र देश सम्पन्न होस्। साथसाथै कृषिमा देश आत्मनिर्भर होस्। हाम्रो देश प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। कला, संस्कृति र मठमन्दिरले सम्पन्न भएको हिमाली देशमा पर्यटकको संख्या दिनप्रतिदिन बढ्ने क्रममा छ। पर्यटनबाट हुुने आम्दानी र रोजगारले देशलाई सम्पन्न बनाउने छ। सरकार चारैतिर आँखा खोल।

अहिलेको दुईतिहाइको बलियो सरकारले चाहने हो भने देशले फड्को मार्न सक्छ। यो सुनौलो अवसरको सदुपयोग गर। नत्र कुनैदिन गरिब जनताको मसिहा र राष्ट्रवादको वकालत गर्ने कम्युनिष्ट किन आज रङ फेर्दैछन्? जनता आज छक्कमात्र परेका छैनन्, यी सत्ताका भोका नेताहरुबाट वाक्कदिक्क हुनथाले। सरकार अझै पनि सच्चिने समय छ।

पुस ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्