उद्योगी चन्द्र ढकालकाे यात्रा

बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म

काठमाडौँ– बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उनले घडी हेरे र भने, ‘सरी है, मैले तपाईँहरुलाई धेरै समय त कुराइनँ ?’

तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट बाँकी नै थियो। उनले नै हामीलाई बिहान साढे आठ बजेको समय दिएका थिए। हामी त्यसको दुई मिनेटमात्र अघि त्यहाँ पुगेका थियौँ।

उनी नजिकका भन्छन्, ‘समय उहाँलाई चिन्ने मापनजस्तै हो। समयसँग उहाँको कुनै सम्झौता हुँदैन।’ उनको टिमका कर्मचारीले अहिलेसम्म उनीसँग समय छल्न सकेका छैनन्। बैठक होस् या काम, उनको उपस्थिति सके अगावै नत्र समयमै हुने गर्दछ।

त्यसैले नेपालका उदीयमान व्यावसायी चन्द्रप्रसाद ढकालले अहिले हरेक गोष्ठी, बैठक हुन् या मिडियासँगको कुराकानीमा भन्ने गर्छन्, नेपाल राष्ट्र बैंकले नेपालका वित्तीय संस्थाका लागि जारी गर्ने या निर्माण गर्ने नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने हामी नै हौँ।

उनको यो दावीको पछिल्लो उदाहरण लिँदा सत्य सावित के हुन्छ भने नेपाल राष्ट्र बैंकले अघि सारेको ‘बिग मर्जर’को नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने ग्लोबल आइएमई बैंक नै हो। जनता बैँकसँग मर्ज भएपछि यो बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ।

बागलुङको अमलाचौरमा विसं २०२२ मा जन्मिएका चन्द्रप्रसाद ढकालको अहिलेको पहिचान एउटा सफल व्यवसायी हो। तर उनको उद्यमशीलताको यात्रा धेरै पुरानो भने छैन। करीब साढे दुई दशकको मात्र हो।

यति छोटो समयमै यतिका सफलताको रहस्य के हो ? उनको विगत जान्नेहरु यो प्रश्नको वरिपरि अहिले पनि घोत्लिन्छन्। उत्तर स्वाभाविकै आउँछ– लगाव, इमान्दारी र परिश्रम। ढकाल पनि यही स्वीकार गर्छन्। ‘हो मेरो सफलताको सबैभन्दा दरिलो टेको चाहिँ लगाव र परिश्रम नै हो’, उनको अनुभव छ।

अहिले उनी आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्ष छन्।

उनी अध्यक्ष रहेका अरु सामाजिक सङ्घसंस्था कैयौँ छन्। नेपालमा बैंक तथा वित्तीय सेवालगायत जलविद्युत्का क्षेत्रमा पनि उनको ओझपूर्ण उपस्थिति भइसकेको छ। नेपालको व्यवसायमा बहुआयामिक क्षेत्र समेट्दै अघि बढेका उनी सबैलाई परिश्रम नै गर्न सिकाउँछन्। भन्छन्, ‘संसारका अरु भूगोलका तुलनामा हाम्रो माटो धेरै मलिलो छ। यहाँ जे रोपे पनि सुन फल्छ, तर यसले मेहनतको अपेक्षा गर्छ। म त भन्छु, हामी माटो रोपेर सुन फलाउन सक्छौँ, उद्यम गर्न अन्त कतै भौँतारिनु पर्दैन।’

अनौपचारिक कुराकानीकै क्रममा हामीले जिज्ञासा राख्यौँ– नेपालका सबै उद्यमी, व्यवसायी तपाईँजस्तै सफल छन् र ?

उनले लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर कविताबाट दुई लाइन सुनाए, ‘के हो ठूलो जगतमा पसिना विवेक, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ यो कविता त तपाईँले पढ्नु भएकै होला। तर धेरैले अर्ति उपदेश दिँदा यो तल्लो हरफ मात्र भन्छन्। सबैले चन्द्रमा नै छुने उद्देश्य लिनु भन्छन्। तर पनि त्यसको माथिल्लो हरफ प्रायःले उच्चारण नै गर्दैनन्। चन्द्रमा छुन सिकाउने अथवा सम्भव बनाउने चाहिँ माथिल्लो लाइन पसिना र विवेक हो। पसिना, परिश्रम या मेहनत हो, विवेक बुद्धि या ज्ञान हो। पसिना र विवेकबिना नै चन्द्रमा छुन खोजेर सम्भव छैन, सकिँदैन। हाम्रो पसिना र मेहेनतको मूल्याङ्कन गर्नुभयो भने तपाईँको प्रश्नको उत्तर आफैँ पाउनुहुन्छ।’ अनि ढकालले भने, ‘हो, मानिसलाई कतिपय अवस्थामा नसोचिएको सफलता पनि हात लाग्छ अथवा केही नसोचिएका कुराहरु पनि हुन सक्छन्। तर पनि ती सबै नराम्रा पनि त हुँदैनन् ! जे हुन्छ राम्रै हुन्छ।’

तर उनको अहिलेको यो सफलताभन्दा वास्तविक पारिवारिक जीवन निकै पर थियो। उनले एउटा बालकका रूपमा आफ्नो बुबाको माया र सुखद् भविष्यको सपनाचाहिँ देख्न सकेनन्। किनभने उनको बुबाले सानैमा छाडेर गए।

सोह्र वर्षको एक किशोरको काँधमा अब आमा र साना भाइबहिनीको भविष्यसमेत थपियो। भन्छन्, ‘त्यसबेला मेरा आँखा अगाडि एउटै मात्र सपना आएको हो, जस्तोसुकै मूल्यमा पनि अब आमा र भाइबहिनीलाई दुःखबाट टाढा राख्नुपर्छ।’ तर उपाय के होला ? त्यो बाल मष्तिष्कले सोच्न सक्ने कुरा पनि भएन। तर अहिले उनको आत्मबल र परिश्रमले यहाँसम्म ल्याइपुर्‍याएको छ।

यसरी १६ वर्षे उमेरमै खुशीमा ग्रहण लागेको महसुस गरेको व्यक्तिलाई जिन्दगीको पूर्णमास पाउन कसरी सहज भयो होला ? हाम्रो यो प्रश्नमा उनको जवाफ थियो, ‘जीवन त सबैको हुन्छ, मेरो मनभित्र पनि झिनो आशाको दियो धिपधिपाएको मेरो हृदयले देखेको थियो। मेरो आत्मबलले त्यो दियो चम्काउने प्रण गर्‍यो।’

आज त्यो दियोले उनको व्यक्तिगत जीवनमा मात्र होइन, दशौँ हजार मानिसको सपनामा उज्यालो भरेको छ। अहिले उनको नेतृत्व र संलग्नताका व्यवसायमा दशौँ हजार व्यक्ति प्रत्यक्ष/अप्रत्यक्ष रोजगार छन्।

त्यसैले उनी सधैँ भन्ने गर्छन्, ‘औँसीको रातमा आइपर्ने अप्ठ्यारोसँग भिड्ने साहस राख्नेहरुले मात्रै पूर्णिमाको रातको मज्जा लिन पाउँछन्।’ हाल नेपालको उद्यमशीलताका क्षेत्रमा ‘सफल व्यवसायी’ उपमा लिन सफल ढकालको जीवनका यी कठिन कथाका पानाहरु पल्टाउने जोसुकैले निकाल्ने अन्तिम निष्कर्ष पनि यही नै हो।

जागिर छाडेर व्यावसायिक यात्रा


उनको जागिरे जीवन करीब चार वर्ष जति रह्यो राष्ट्रिय वाणिज्य बैंकमा। त्यही समयमा व्यवसायको सोच र आँट पलायो र विसं २०४८ तिर सानो कोल्डस्टोर राखे। त्यसपछिको उनको व्यवसाय हो– कार्गो।

त्यतिबेलासम्म भाइ रामु (हेमराज ढकाल, हाल आइएमई ग्रुुपका प्रबन्ध निर्देशक) पनि उनलाई साथदिन आइसकेका थिए। भाइ रामु उनको हरेक व्यावसायिक जीवनको साथमा रहँदै आएका छन्।

व्यवसायका लागि उनीहरुलाई १२/१३ लाख रुपैयाँ चाहियो। आफूले काम गर्ने बैंकमै ऋण मागे तर कर्मचारीले ऋण नपाउने भनियो। उनले त्यसै दिन राजीनामा दिएर भने, ‘अब त दिन मिल्छ नि ?’ यसरी बैंकको जागिर छाडेर व्यवसायमा होमिएका ढकाल अहिले देशकै सबैभन्दा ठूलो बैंकको अध्यक्ष छन्।

त्यस दिनलाई उनी कसरी लिन्छन्? भन्छन्,‘त्यो दिन सही निर्णय गरेछु भन्ने लाग्छ। तर त्यही दिन, त्यसै पलमा त्यो निर्णय कसरी गरेँ भन्ने बारेमा अहिले पनि म बेला–बेलामा सोच्ने गर्छु। त्यस समय बैंकको जागिर सबैलाई प्यारो थियो। तर, मेरो ब्रह्मज्ञानले जागिरे जीवनभन्दा व्यावसायिक जीवन कसरी रोज्यो होला ? कहिलेकाहीँ आफैँ पनि छक्क पर्छु।’ त्यसयता पनि उनको जिन्दगीले भोगाइका धेरै मोडहरु बनाएको छ।

व्यवसाय थालेका उनले भने कार्गो व्यवसायलाई राम्रो सफलताका साथ विदेशमा फैलाउन चाहन्थे। त्यतिबेला नेपाली तयारी पोशाक (गार्मेन्ट) उत्पादनको अमेरिकामा राम्रो बजार थियो। कार्गो व्यवसाय विस्तारका लागि उनले अमेरिका जाने तयारी गरे।

भिसा पनि लाग्यो। तर, जापान भएर अमेरिका जाने योजना बनाएका ढकाल एक गाउँले दाइको आग्रहमा १० महिना जापानमै बसे र काम गरे। ‘त्यस समय जापानको रोजगारीलाई राम्रो मानिन्थ्यो, ती दाजुको आग्रह भयो र म १० महिनाजति त्यहीँ काम गरेर बसेँ। पछि अमेरिका गइनँ।’

त्यहीँ बस्दा नै विदेशमा बस्ने नेपालीले कमाएको पैसा नेपाल पठाउँदा भोग्नुपर्ने सास्ती र जोखिम थाहा पाउने अवसर मिल्यो उनलाई। उनीपछि भाइ हेमराज पनि सानो काम र व्यवसाय गरेर जापानमै केही समय बसे। ढकाल दाजुभाइको त्यही अनुभवको उपजले जन्माएको हो आइएमई।

आइएमईको शुरुआत


कुनै व्यवसाय गरेर एक व्यक्ति सफल हुने भन्दा पनि उसले राष्ट्रलाई के दियो भनेर हेर्नुपर्छ। उनीहरुको सोच र अभियानबाट देशको अर्थतन्त्रको प्रमुख स्रोत बनेको रेमिटेन्स (विप्रेषण) लाई पारदर्शी र व्यवस्थितरूपमा स्वदेश भित्र्याउन आजसम्म नै सम्भव भएको छ।

अहिले प्रायः हरेक नेपाली घरपरिवारसँग जोडिएको रेमिट्यान्ससँग उनीहरुको कडा परिश्रमको टेको लागेको छ। ‘आइएमई’ सँग सायदै कोही नेपाली अपरिचित होलान्। यो एउटा कम्पनीमात्र नभएर नेपालीको जीवनशैलीसँग नै जोडिन पुगेको छ।

नेपालीले विदेशमा गरेको कमाइ औपचारिक बाटोबाट ल्याउने कामको थालनी यही कम्पनीले गरेको हो। नेपालको अगुवा रेमिट्यान्स कम्पनीका रूपमा यसले रकम नेपाल भित्र्याएपछि सरकारलाई राजश्व नबढ्ने त कुरै भएन, जुन अहिले पनि आइएमई होस् या अरु कम्पनीबाट जारी नै छ।

तर पनि त्यस समय हुण्डीमार्फत मात्र रकम नेपाल भित्रिने गरेको विकल्पमा नेपालमा पहिलोपटक यो नीतिगत व्यवस्थाको विकल्प उनीहरुले नै दिएका हुन्। यसले नेपालको सामाजिक अपराध या वैदेशिक रोजगारीमा पुगेका नेपालीहरु लुटिनबाट पनि जोगाएको छ। किनभने हुण्डीको रकम हिनामिनाका घटनाले हुने गरेका आपराधिक घटनाका समाचार त हामीले विगतका वर्षहरुमा सुन्ने गरेकै हौँ।

सरकारले सन् २००१ मा रोजगारीका लागि मलेशिया खुला गर्‍यो। धेरै नेपाली गए। त्यसबेला नेपालमा पैसा भित्रिने कुनै कानूनी प्रावधान थिएन। नेपाल राष्ट्र बैंक पनि अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै चिन्तामा थियो।

‘यही समस्याको हलका लागि हामीले हाम्रो अनुभवलाई टेकेर ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आइएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकसँग गर्‍यौँ, जुन सफल पनि भयो। त्यही आइएमई अहिले नेपालको ‘मनी ट्रान्सफर’ को पर्यायवाची हो भन्दा फरक पर्दैन। अहिले मानिस पैसा पठाउन कुनै बैंकमा या अन्य मनी ट्रान्सफर कम्पनीमा पुगेका भए पनि ‘आइएमई गरिदिनुस्’ भन्ने गरेको सुनिन्छ। यो हाम्रा लागि ठूलो खुशी हो।’

‘आइएमई स्थापना गर्दा हामी यो अवस्थामा पुग्छौँ भन्ने चाहिँ लागेको थिएन’, उनको अनुभव छ, ‘हामीले एक खालको जोखिम नै मोलेका थियौँ भन्ने लागेको हो। तर जहाँ जति जोखिम त्यति नै सफलता पनि हात लाग्दोरहेछ। शुरुवाती दिनहरुमा हामीले आइएमई खोलेका छौँ, तपाईँहरुको रकम सुरक्षितरूपमा घर परिवारसम्म पुर्‍याइदिन्छौँ भन्दा मानिसहरु पत्याउन पनि तयार भएनन्। तर हाम्रो इमान्दारीले विस्तारै हामीलाई यहाँसम्म ल्यायो।’

हाल आइएमई नेपालको विप्रेषण क्षेत्रको पर्याय मात्र होइन, नेपालको व्यावसायिक क्षेत्रको एक उदीयमान ‘ग्रुप’ पनि हो। यसले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, अटोमोबाइल, ऊर्जा, पर्यटन, विद्युतीय भुक्तानी, ट्राभल, सूचना–प्रविधि, केबलकार र हस्पिट्यालिटीलगायत विभिन्न व्यावसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ। यी सबैको जगको ढुङ्गा आइएमई नै हो भन्दा फरक पर्दैन।

व्यावसायिक फड्को र केबलकार


आइएमई ग्रुपका संस्थापक रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घमा उपाध्यक्ष तथा अरु कैयौँ सामाजिक क्षेत्रमा संलग्न छन्। उनी आफ्नो निजी व्यापार मात्र गर्दैनन्, उद्योग, वाणिज्य क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत व्यवस्थाका लागि पनि समय खर्चिन्छन्। रोजगारदाता परिषद्को सभापति उनले रोजगारदाताहरुको हकहितको स्थापनामा पनि कार्यरत छन्।

ढकालले आफ्नो व्यक्तित्व निर्माणमा गरेका सङ्घर्षका कथाहरु धेरैको प्रेरणाका स्रोत बन्न योग्य छन्। उनको सफलताको ओझिलो यात्रामा बटुलेका अनुभव भावी पिँढीका लागि पथप्रदर्शक मात्र होइन कि प्रयोगशाला नै बन्न सक्छन्।

ढकाल दाजुभाइको सिर्जनामा स्थापित चन्द्रागिरि केवलकार छोटो समयमै राष्ट्रिय सम्पत्ति बनेको छ। विसं २०७३ बाट सञ्चालनमा आएको चन्द्रागिरि केबलकार नेपाल भ्रमणमा आएका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई ‘रिट्रिट’ गराउनेदेखि लिएर महत्वपूर्ण कार्यक्रम नै सञ्चालन गर्ने एउटा उत्तम विकल्प बनेको छ।

ढकालले भने, ‘चन्द्रागिरि आयोजना नेपालमा नाकाबन्दी र भूकम्पले जर्जर पारेको अवस्थामा पनि समयमै सम्पन्न भएको हो र यसले मलाई लाग्छ नेपालको त्यस समयको अर्थतन्त्रको मनोबल उकास्ने काम गरेको छ।’

हुन पनि हो, भूकम्प र नाकाबन्दीका कारण नेपाली अर्थतन्त्र थरथर काँपेको अवस्था थियो। तर राजधानीमै यो केबलकारका खम्बाहरु चन्द्रागिरिको चुचुरोमा ठडिएसँगै यहाँको उद्योग क्षेत्रले पनि आफू तङ्ग्रिएको महसुस गरेको थियो। यसले नेपालको आर्थिक क्षेत्रको मनोबल बढाएको थियो। हाल त्यहाँ रिसोर्टदेखि विभिन्न एकीकृत पर्यटकीय संरचनाहरु बनेका छन्।

हालै चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौँको औपचारिक कार्यक्रम सकेपछि चन्द्रागिरि पुगे। उनले त्यहाँबाट केही घण्टाको हाइकिङ पनि गरे र निकै रमाए। उनको भ्रमणपछि अहिले त्यहाँ चिनियाँ पर्यटक बढेका छन्। उनी भन्छन्, ‘यहाँ आएका केही चिनियाँ पर्यटकसँग कहिलेकाहीँ कुराकानी गर्छु उनीहरुले चीनमा त यसको नाम ‘मुन माउण्टेन’ दिएका छन् रे।’

हाल ढकाल व्यावसायिकरूपमा नेपालमा केबलकार विस्तारको योजनामा देखिन्छन्। नेपालका सातै प्रदेशमा केबलकार पुर्‍याउने योजना छ उनको। भन्छन्,‘केही स्थानमा सम्भाव्यता अध्ययन गरेका छौँ र कतिपयमा काम धेरै अघि बढेको पनि छ।’

व्यवसायमा इमान्दारीको ठूलो महत्व छ। इमानबिना व्यावसाय टिक्दैन, सफल हुँदैन। अनि मेहेनत र धैर्य चाहिन्छ। ढकाल दाजुभाइमा यही गुण भेटिन्छ। उनीहरुलाई सफलता दिलाएको यसैले हो भन्न सकिन्छ। नेपालको बैंकिङ क्षेत्रमा सरकारको योजना कार्यान्वयन गर्ने प्रमुख निकायको रूपमा ग्लोबल आइएई बैंक नै शीर्षस्थानमा छ। चालू आर्थिक वर्षको बजेटमा ‘क’ वर्गका बैंक तथा वित्तीय संस्था गाभ्ने नीति समेटियो । सोही नीतिलाई कार्यान्वयन गर्न ढकालले नै जोखिम उठाएर साहसिक निर्णय गर्छन्।

सरकारको सोही नीतिका कारण ग्लोबल आइएमई र जनता बैंक मर्ज भएर गत मङ्सिर २० बाट एकीकृत कारोबार नै शुरु भयो। मर्जरपछि ग्लोबल आइएमई बैंक पूँजी, व्यवसाय, शाखा सञ्जालसमेतका हिसाबले नेपालकै ठूलो बैंक बनेको छ। बैंकको चुक्ता पूँजी करीब रु १९ अर्ब, कूल निक्षेप रु दुई खर्ब १३ अर्बभन्दा बढी र कूल कर्जा रु एक खर्ब ९४ अर्ब छ। त्यस्तै देशका सातै प्रदेश तथा ७७ वटै जिल्लामा ३०० भन्दा बढी शाखा र तीन हजार २५० भन्दा बढी कर्मचारी छन्।

राष्ट्रिय बाणिज्य बैंकका सहायक तहका कर्मचारी रहेका ढकाल त्यसको करीब साढे दुई दशकपछि देशकै सबैभन्दा ठूलो बैँकको अध्यक्ष बन्न सफल भए। मङ्सिर २० गते संयुक्त कारोवार शुभारम्भका लागि ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सो कारोवार शुभारम्भको उद्घाटन गरेका थिए।

त्यस कार्यक्रममा उनलाई मन्त्री एवं उपस्थित सबैले सबैभन्दा ठूलो बैंकको अध्यक्ष भएकामा बधाई दिँदै देशकै ठूलो बैंक भएकाले सबैको आँखा लाग्ने भन्दै चुनौती थपिएको पनि सुझाएका थिए।

नेपालमा लगानीको वातावरण छ ? यो प्रश्नमा ढकाल भन्छन्, ‘बलियो सरकार छ, लगानीकर्ताहरुले अरु केही वातावरणका अतिरिक्त स्थायी सरकार हेर्छन् नै। अहिले लगानीको वातावरण छैन भन्न मिल्दैन। तीन तहको सरकार बनेपछि लगानी भित्र्याउन एक किसिमले प्रतिस्पर्धा नै भएको छ भन्दा हुन्छ।’

ढकाललाई प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले व्यक्तिगतरूपमा भेटेर या फोन गरेर आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आग्रह गर्ने गरेको सुनाए। ‘तपाईँ आउनुहोस् वातावरण हामी बनाइदिन्छौँ भन्ने गर्नुभएको छ’, ढकालले भने।

जन्मस्थलको माया


जन्मिएको माटोको औधी माया छ ढकाललाई। आफ्नो जिल्लातिर सम्मेलन, मेला महोत्सवको आयोजना गर्ने हुन् या स्वास्थ्यचौकी, स्कूल या सामाजिक सेवाका कार्यक्रमका लागि सहयोग माग्न आउनेहरु खाली हात फर्किँदैनन्। ‘यो जन्मभूमिप्रतिको माया नै हो”, उनी भन्छन्। उनी समय पाएसम्म आफ्नो जन्मघर पुग्ने गर्छन्, भन्छन्,‘सानोमा खेलेको माटोको छिँडी, आँगन र करेसाबारीले हृदय छुन्छ। कहिलेकाहीँ पुग्छु, बडो आनन्द लाग्छ।’

कहिलेकाँही आफ्नो मेहनतले सजिएको सुन्दर चन्द्रागिरि चुचुरोको उचाइबाट आफ्नै जिन्दगीतर्फ फर्केर हेर्दा कस्तो लाग्छ ? हाम्रो जिज्ञासामा निकै भावुक बनेका ढकाल गम्भीर हुँदै भन्छन्, ‘जिन्दगीले धेरै आयाम बदल्यो, धेरै तलमाथि पनि पार्‍यो। तर मलाई भने सधैँ बलेवाको सुन्दरताले तान्छ अनि अमलाचौरकै माटो बसाउँछ। अनि सम्झिन्छु, ‘म त्यही धरातलमै छु र जीवनका हरेक पलहरु त्यहीँ पाउँछु।’

सायद यही मायाले होला ढकाल परिवारले अमलाचौरको पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा ६ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेर भौतिक विकास गरेको छ। सो भवनको गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। उनका स्व पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा उक्त विद्यालयको नामाकरण गरिएको छ र उक्त भवनको नाम हिरण्य स्मृति भवन राखिएको छ।

‘विभिन्न कार्यक्रममा होस् या मिडियाले समाचार लेख्दा आफूलाई ‘सफल व्यवसायी’ भन्ने गरेकामा मलाई अचम्म लाग्छ। यो देशका सबै नेपाली सफल छन्। कोही कुनै काममा केही समयका लागि असफल भए पनि ती असफलताको अनुभवबाट आगामी दिन झन् सफल बनाउन सकिन्छ’, उनको भनाइ छ।

पुस ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू